जाजरकोट । जाजरकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजुप्रसाद पौडेलले जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफु निरन्तर सक्रिय रहने बताएका छन् ।
सोमबार जिल्ला स्थित क्रियाशील पत्रकारहरूसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले शान्ति, सुव्यवस्था र जनताको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाका विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए । उनीहरूले जाजरकोटमा विकास निर्माणका ठूला आयोजना अलपत्र रहेको, सुशासन कार्यान्वयनमा चुनौती, विद्युतीकरणको समस्या, सडक अवरुद्ध, खाद्यान्न संकट लगायत विषय उठाएका थिए ।
पत्रकार दिपबहादुर घर्ती, रेशमबहादुर खड्का, सरोज वली लगायतले आफ्ना भनाइ राख्दै जिल्लाका समस्या समाधानतर्फ प्रशासन गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।
पत्रकारहरूले औंल्याएका समस्याहरूका विषयमा प्रतिक्रिया दिँदै प्रजिअ पौडेलले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै समाधानतर्फ लाग्ने प्रतिबद्धता जनाएका छन् । शान्ति सुरक्षा, अव्यवस्थित प्रशासन र थिलथिलो बनेका विकास योजनासँग जुध्न आफु अघि सर्ने प्रजिअ पौडेलले बताए ।
पत्रकारहरूले जिल्लाका विकराल समस्याहरू प्रजिअ समक्ष खुलेर राखेका थिए । उनीहरूले लामो समयदेखि ठूला विकास आयोजना अलपत्र परेको, सुशासन कार्यान्वयनमा लापरबाही, विद्युतीकरण कहिले हुने टुङ्गो नलागेको, सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको र खाद्यान्न संकट, कालोबजारी, चाडपर्व लक्षित बजार अनुगमन गर्नुपर्ने माग राखेका थिए ।
पत्रकारहरूले औंल्याएका ती समस्याहरूको जवाफ दिँदै प्रजिअ पौडेलले चुनौती कडा भएपनि राज्यको प्रतिष्ठा र जनताको भरोसा बचाउन कठोर कदम चाल्ने चेतावनी दिए । उनले भने, “यो जिल्लामा बेथिति चल्ने अवस्था अब रहँदैन, शान्ति सुरक्षा र विकास दुबैलाई गतिशील बनाउनेछु ।”
















































हाम्रो पहुँच संवाददाता । २९ भाद्र २०८२, आईतवार