
हाम्रो भान्सामा खाने कुरा नै कुहिएको रहेछ भने खाना नमिठो हुनु स्वाभाविक हो तर पकाउने मान्छेको सीप नपुगेर खानेकुरा अथवा खाना कहिलेकाहीँ नमिठो हुन्छ । यो वाक्य नेपालको वर्तमान राजनीति सँग मेल खाना जान्छ खासमा हामी जनता सचेत नभएर राजनीति बिग्रेको हो कि सचेत हुदाहुदै राजनीति नेतृत्व खराब भएको हो ?
उत्तर खास सजिलो छैन । मेरो बुझाईमा नेता अनुसार जनता कि जनता अनुसार नेता । प्रस्ट हुनुपर्छ । देशमा चुनाव आयो कि जनताले विगतका पीडाहरु भुलेको पाइन्छ । हामी जनता नेताको झुट र लहलैमा भुल्छौ हामी जनतामा पनि विगत भुल्ने रोग छ । हामी नेपाली जनता लाई मुर्ख बनाउन पाएको भएर पार्टीका नेताहरु सधै यसरी चल्छ र चलाउनु पर्छ भन्ने सोचमा हुन्छन् ।
नेपालको सन्दर्भमा सबैभन्दा ठुलो नीति राजनीति हो । राजनीति गतिशील सीमा भन्दा बाहिर गयो भने राज्यका सम्पूर्ण नीति र संरचना नै खलल हुन पुग्छन् । राजनीतिले सीमित गतिशील र संरचनात्मक लय न समात्दा कर्मचारीतन्त्रमा होस् या लोकतान्त्रिक पद्धतिमा हलचल र खराब बाटोमा देश डुलिरहेको छ । अराजकता देश व्यापी छ । न्यायालयहरु अन्धा छन् । भ्रष्ट हरु मोजमस्तीमा छन् । तर राजनीतिज्ञ हरुलाई पोलेकै छैन ।
पोलियोस् पनि कसरी ? चुनाब जिताउनेहरु पनि ती नै हुन । मुल समस्या राजनीति मै छ । विगतको लामो कुरा छोडौं । २०४६ पछि विकास र सुशासनले फड्को मार्नुपथ्र्यो त्यो भएन । २०६३ पछि पनि भद्रगोल भयो ।
विधिको उल्लंघन झन् बढ्यो । माओवादीले गणतन्त्र ल्यायो तर संस्थागत गर्न सकेन । पुराना काङ्ग्रेस एमालेभन्दा फरक भएन । तिनैको भीडमा हरायो ऊ पनि । पटक–पटक मुलुक अस्थिर भयो । भइरहेको छ । दुई ठूला पार्टीको गठबन्धनले पनि कुनै आशा जगाउन सकेन । समस्या नेतृत्व, प्रणाली, प्रवृत्ति र जनता के मा हो ?
जनता पनि मत परिवर्तन गर्न मान्दैनन् । एक हिसाबले पुराना पार्टीप्रति बफादार छन् । आजसम्म अरु चिन्हमा भोट हालेको छैन भनेर गर्व गर्छन् । त्यो गौरव गर्न लायक विषय होइन । राम्रालाई छान्न नसक्नु जनताको कमजोरी हो । पार्टी प्रणालीमा व्यक्तिभन्दा पार्टीको महत्व बढी हुन्छ । राम्रो पार्टी छान्नुपर्छ । चुनावमा बेहोसी हुने पछि पछुताउने र गाली गर्ने प्रवृत्तिले निकास दिंदैन । पूर्वाधार विकास नभएको होइन तर त्यसले पुग्दै पुगेन ।
जनतामा आशा धेरै छ । ग्याप त्यसैमा भयो । विभिन्न कालखण्डमा देशले अनेक राजनीतिक उतारचढाव बेहो¥यो । वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्रलाई सनक चढ्यो । सक्रिय राजतन्त्र फर्काउन खोजे । देशलाई सक्रिय राजतन्त्र भन्दा पनि शान्ति चाहिएको थियो । समृद्धि चाहिएको थियो । आफ्नै बुद्धिले ज्ञानेन्द्रले सत्ता छोड्नुप¥यो । राजतन्त्र सदाका लागि बिदा भयो । लोकतन्त्रका अनेक रूप हुन्छन् । राजतन्त्र लोकतन्त्रको विकल्प होइन ।
हुने भनेको उन्नत लोकतन्त्र नै हो । त्यसैले सत्तामा फर्किने वा पुनः आफ्नो वंशको शासन फर्काउने कुरा सायदै सम्भव छ अब । जनमानसमा देखिएको राजनीतिप्रतिको निराशा राजतन्त्रले पूरा गर्न सक्दैन । कुरा रह्यो पुराना पार्टीको । खासमा ब्रान्ड मात्र फरक हो । उद्देश्य र गन्तव्य एउटै छ यिनीहरूको । निमुखा वर्गको प्रतिनिधित्व गर्छु भन्थ्यो माओवादी । त्यो पनि भ्रम रहेछ । अरु पुरानाका चर्चा गर्नु बेकार छ । तिनले मुलुकमा समृद्धि र जनतामा देखिएको निराशा चिर्न सक्दैनन् । थप्ने भनेको निराशा मात्र हो ।
अब जनताको विकल्प के त ?
मुलुकले थप अर्को परीक्षण गर्न सक्दैन । गर्नु हुँदैन पनि । लोकतान्त्रिक तवरबाटै विकल्प निकाल्नुपर्छ । २०७९ को निर्वाचनमा जनताले परिवर्तन खोजेको देखिन्छ । त्यसबेला भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २०÷२१ सीट जिताएर संसदको चौथो ठूलो शक्ति बनाउनु परिवर्तनको संकेत थियो ।
सभापति रवि लामिछाने विभिन्न काण्डमा मुछिएको बेला उनलाई काँधमा राखेर रास्वपा अगाडि बढ्न सक्दैन भन्ने बुझ्न ढिला नहोला भन्न सकिन्न । अब रास्वपाको पनि पुनर्संरचना एउटा उज्यालो पक्ष हुनसक्छ । नयाँ पनि खत्तम भन्ने मानक बन्न दिनुहुँदैन । परिवर्तन चाहनेहरुको नयाँ ध्रुवीकरण चाहिन्छ । परिवर्तनका लागि आन्दोलन, धर्ना, जुलस, तोडफोड र बन्दुक होइन, ब्यालेट नै काफी हुन्छ । परिवर्तन गर्ने भनेको जनमत हो । त्यो जनताले गर्नुपर्छ ।
जनताले गर्नुपर्ने के हो त ?
गर्नुपर्ने काम धेरै छन् । तर मूलत् अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुपले काम गर्दैन । यो देश सुहाउँदो भएन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्था गर्नुपर्छ । यो निर्वाचन प्रणालीले स्थायित्व दिंदैन ।
भ्रष्टाचारको कारक निर्वाचन प्रणाली हो । मिश्रित निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक चाहिन्छ । संसद छरितो र प्रभावकारी हुनुपर्छ । नेता उत्पादन गर्ने अहिलेको कारखाना बन्द हुनुपर्छ । नीति बनाउने काम मात्र संसदको हुनुपर्छ । माननीयहरुले मन्त्रीको कुर्सीतिर नजर लगाउनै नपाउने नीति बनाउनुपर्छ । परिवर्तनका कुरा धेरै गरियो ।
खासमा व्यवस्था र प्रणाली कहिल्यै खराब हुँदैनन् । खराब त त्यसलाई प्रयोग गर्नेहरु हुन्छन् । वास्तवमा समस्या नियतमा छ । नियतसुधार गर्न प्रणाली बलियो बनाउनुपर्छ । मुख्यरूपमा प्रणालीका समस्या सुधार गरेर व्यवस्थापन गर्न सकिन्छ । यी काम पुरानाबाट हुँदैन । त्यसैले सार्वजनिक फिगर भएका व्यक्तिहरुले २०८४ लाई लक्ष्य गरेर नयाँ दृष्टिकोण ल्याउनुपर्छ ।
अझ प्रष्ट भन्ने हो भने महावीर पुन, सन्दुक रुइत, महजोडी, कुलमान घिसिङ, सुमना श्रेष्ठ, बालेन शाह जस्ता व्यक्तिले एकपटक राज्यका लागि सोच्नुपर्छ ।
यो मुलुक बन्नलाई लामो समय लाग्दैन । कुशासनले थलिएको मुलुक एक दशकमै फड्को मार्छ । वाद र सिद्धान्तभन्दा विधिको शासन चाहिएको छ । पटक(पटक परीक्षण भएका नेतृत्वबाट केही हुँदैन)। पाँचपटक प्रधानमन्त्री हुँदा केही नहुने, छैटौं पटक हुँदा परिवर्तन होला भन्ने सोच्न सकिन्छ र ? यति कुरा जनताले बुझ्नुपर्छ ।
















































प्रेम वली ( लेखक सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउछन् ।) । ५ भाद्र २०८२, बिहीबार