
जाजरकोट । भेरी नगरपालिकाका भूकम्प पीडितहरूले निजी आवास निर्माणमा सरकारले दिएको सहयोगको प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र पेस गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जाजरकाेटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती मार्फत बुझाइएको ज्ञापनपत्रमा सरकारले पुनर्निर्माणका नाममा समय घिसारिरहेको भन्दै आक्रोश व्यक्त गरिएको छ।
२०८० को भूकम्पबाट प्रभावित भएकाहरू अझै पनि अस्थायी टहरामा असुरक्षित जीवन बिताइरहेका छन्। पीडितहरूले विस्तृत क्षति मूल्याङ्कन कार्यमा ढिलाइ, प्रक्रिया लामो हुनु, र आवश्यक राहतमा ढिलाइ भएकोप्रति आपत्ति जनाएका छन्।
ज्ञापनपत्रमार्फत उनीहरूले तीन मुख्य माग अघि सारेका छन्:
१. विस्तृत क्षति मूल्याङ्कन भइसकेका घरहरूको रिपोर्ट तत्काल सार्वजनिक गर्न।
२. मूल्याङ्कन बाँकी रहेका घरहरूको कार्य छिटो सम्पन्न गर्न।
३. स्थायी बसोबास गर्ने कुनै पनि भूकम्प पीडितलाई प्रक्रियागत कारणले राहतबाट वञ्चित नगर्न।
पीडितहरूमध्ये पदमबहादुर शाह, तारा खनाल, राजेन्द्र विक्रम शाह, विजयजंग शाह, गीता चन्द, भरतबहादुर शाह, मोहनबहादुर खत्री, नारद कार्की, किशोरजंग शाह र समीरजंग शाह लगायतले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
ज्ञापनमा सरकारको प्रतिवद्धता कार्यान्वयन नभएमा कडा आन्दोलनमा जानुपर्ने बाध्यता हुने चेतावनी समेत दिइएको छ।
जाजरकोटका भूकम्पपीडितहरूले वर्षौंको पीडा सहँदै आश्वासनको भरमा बसिरहँदा अझै न्याय र राहत नपाएको पीडा व्यक्त गरेका छन्।

















































हाम्रो पहुँच संवाददाता । ५ श्रावण २०८२, आईतवार