
सहर उज्यालिँदा पनि,
हाम्रो जाजरकोटमा आज पनि
बत्ती आउँछ भन्ने आशामा बच्चाहरू
झ्यालबाट टोलाउँछन्…
स्कूल छ,
तर खाट छैन —
किताब छ,
तर भविष्य छैन…
हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा
एक जोर चप्पल बाँडिँदा पनि
गाउँभरी खुसी मनाइन्छ —
किनभने यत्रो वर्षमा यत्रो हो त!
काठमाडौँसम्म पुग्नको लागि
पहिले खोला तर्ने,
त्यसपछि पहाड चढ्ने,
र फेरि हिम्मत गरेर केही नपाएको फर्कने यात्रा…
यो हो हाम्रो जाजरकोटको कथा,
जहाँ सरकारका नारा चर्किन्छन्,
तर सेवा कहिल्यै पुग्दैन…
बर्षौंदेखि खोप आउँछ भन्ने हल्ला छ,
बर्षौंदेखि अस्पताल बन्ने योजना छ,
तर आज पनि प्रसूती गराउन महिला
काँधमा बोकिन्छिन् — त्यो पनि जिन्दगी र मृत्युको बीचमा…
यहाँका आमा–बाबु अझै सोच्छन् —
“हाम्रो छोराले पढेर केही गर्छ कि?”
तर त्यही छोरो
पढ्न जानुअघि नै बोरा बोकेर भारत पस्छ…
हाम्रो जाजरकोट पछि परेको हैन,
पछ्याइएको हो —
हाम्रो आवाज सुनिएन,
हाम्रो आक्रोश बुझेको छैन कसैले…
हामी देशको बारम्बार प्रयोग गरिएको
“पिछडिएको जिल्ला” हो —
तर यहाँ
सबैभन्दा अग्लो साहस पलाउँछ,
सबैभन्दा असल मान्छे जन्मिन्छन्…
हामीसँग केही छैन भन्नु झूठ हो —
हामीसँग माटो छ, जनशक्ति छ,
तर कसैले देख्दैन, कसैले चिन्दैन।
आज पनि कति छोरीहरू
घरमै बिहे गरेर सपना गाड्छन्,
कति युवाहरू
कामको खोजीमा हराउँछन्,
र कति बुढाबुढीहरू
चाहिँदैन भनेर चुपचाप मर्छन्…
जाजरकोटको पीडा समाचार बन्दैन,
किनभने यहाँ फोटो खिच्न पाइँदैन,
विज्ञापन आउँदैन,
न त ‘भाइरल’ हुन सक्ने नाटक बनाइन्छ…
तर हामी चिच्याएर भन्न चाहन्छौं —
“हामी पनि यही देशका नागरिक हौं!”
हामीलाई दया होइन,
अधिकार चाहिएको हो।
अब बोल्नुपर्ने समय आएको छ।
जाजरकोट कुनै सधैं पछाडि बस्ने नाम होइन
यो उठ्न खोजेको आवाज हो।
✍️– लोकेश विक्रम शाही
(जाजरकोटको छायाँबाट शब्दहरू)
















































लोकेश विक्रम शाही । ५ श्रावण २०८२, आईतवार