जाजरकोट । जनक्रान्तिका महान शहीद परिवार समाज, जाजरकोटले जिल्लाका सबै स्थानीय तहहरूमा ज्ञापन पत्र बुझाउँदै शहीद तथा बेपत्ता योद्धा परिवारको हक अधिकारको सुनिश्चितताको माग गरेको छ। भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा तदर्थ समितिको तर्फबाट उक्त ज्ञापन पत्र बुझाइएको हो।
ज्ञापन पत्रमार्फत समाजले मानव जातिको मुक्ति र व्यवस्था परिवर्तनका लागि गरिएको १० वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन र प्रदेश स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको कदर गर्न राज्य र स्थानीय सरकारलाई आग्रह गरेको छ।
समाजले राखेका प्रमुख मागहरू यसप्रकार छन्:
१. अभिभावकत्वको सुनिश्चितता: शहीद तथा बेपत्ता योद्धा परिवारलाई स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरी उनीहरूलाई रोजगारी, सन्तानलाई निःशुल्क शिक्षा, र सबै परिवार सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने व्यवस्था गर्न।
२.शहीद विवरण प्रमाणिकरण र सम्मान: शहीदहरूको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत यकिन गरी राहत प्राप्तिको प्रमाणसहित कर्णाली प्रदेश सरकारबाट दिइँदै आएको शहीद स्मृति भत्ताको कार्यान्वयन सुनिश्चित गर्न र शहीद परिवारलाई परिचयपत्र उपलब्ध गराउन।
३.शहीद स्मारक निर्माण: शहीदको इतिहास जिवन्त राख्नका लागि स्थानीय तहले शहीद स्मारक, स्तम्भ, शालिक तथा पार्क निर्माणका लागि बजेट विनियोजन गरी कार्यान्वयन गर्न।
४.शहीद परिवार समाजका अनुसार, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान अर्पण गर्ने योद्धाहरू राष्ट्रका स्थिर पूँजी हुन् भन्ने मान्यता स्थापित गर्न राज्य गम्भीर हुनुपर्ने आवश्यकता छ।
उनीहरूले भेरी नगरपालिका लगायत सबै पालिकालाई ज्ञापन पत्र बुझाएर आफूहरूको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन्। स्थानीय सरकारहरूको पहल र सहकार्य बिना शहीदका सपना पूरा हुन नसक्ने भन्दै ज्ञापन पत्रमा तत्काल ध्यान दिन अपिल गरिएको छ।
हाम्रो पहुँच संवाददाता । २६ जेष्ठ २०८२, आईतवार