जाजरकोटमा ठूलो परिणाममा अफिमसहित एक व्यक्ति पक्राउ

जाजरकोट । जाजरकोटमा प्रहरीले ठूलो परिणाममा लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति कुशे गाउँपालिका–३ घर भई हाल जुनिचाँदे गाउँपालिका–७, निपानेमा बसोबास गर्दै आएका ३७ वर्षीय नीरज कुमार पुन रहेका छन्।

इलाका प्रहरी कार्यालय पंचालादहबाट खटिएको प्रहरी टोलीले पुनलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, पुनको साथबाट प्लास्टिकको झोलाभित्र तेलको पोका भित्र लुकाइ राखिएको अवस्थाबाट छुट्टाछुट्टै पाँच वटा पोका गरी जम्मा १ किलो १ सय ५० ग्राम अफिम बरामद गरिएको हो ।

प्रहरीले पुनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। यस सम्बन्धमा जिल्ला अदालत जाजरकोटबाट ७ दिनको म्याद थप अनुमतिपछि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।

प्रहरीले लागुऔषध नियन्त्रण तथा तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा निगरानी र कारबाही अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया