
एक पुरानो भनाइ छ, “जहाँ ज्ञान विरोधी नेतृत्व सत्तामा छ त्यहाँ अन्धकार हुन्छ, र त्यस्तो नेतृत्वका नेताहरुले ज्ञानविरोधी अभिव्यक्ति दिन्छन् । जहाँ शक्तिमा बौद्धिक नेतृत्व छ त्यहाँ समस्या समाधानका उपायहरु पहिल्याउन सजिलो हुन्छ ।”
उदाहरणका लागि नेपाल र चीनले सागरमाथाको सीमा निर्धारण गर्दा अन्तर्राष्ट्रिय कानून, राजनीति र कूटनीतिको बौद्धिक रूपमा प्रयोग गरेका थिए । नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेता माओलाई राजनीति र कूटनीतिका उपयोगी उदाहरण मान्न सकिन्छ । नेपालको उदारवादी नेता कोइरालाले चीनको तत्कालीन कम्यूनिस्ट पार्टीको सबैभन्दा शक्तिशाली नेतासँग वार्ता गरेर सीमा सम्झौता गर्नु कुनै सजिलो काम थिएन ।
त्यसकारण त्यो एक ऐतिहासिक उदाहरणको रुपमा लिन सकिन्छ । कानूनविद्, राजनीतिज्ञ र कूटनीतिज्ञहरुले विभिन्न मुद्दाहरुका बारेमा फरक–फरक भाषा वा शब्दहरु प्रयोग गर्नुका साथै फरक–फरक विषयमा जोड दिन्छन् । कानूनविद्हरुले कानूनी सिद्धान्त, नियम र मान्यतामा आधारित आफ्ना तर्कहरु बनाउँछन् भने राजनीतिज्ञहरूले आफ्नो मुलुकको आन्तरिक र विदेशनीति बारेमा योजना बनाउँछन् र नेतृत्व दिन्छन् । कूटनीतिज्ञहरुले राजनीतिक नेतृत्वको लागि सारथीको भूमिका खेल्छन् ।
यस सन्दर्भमा ऋषिकेश शाह र यदुनाथ खनाललाई उदाहरणको रुपमा लिन सकिन्छ । राजनीतिक नेताहरुलाई सक्षम सारथी चाहिन्छ किनभने अन्तर्राष्ट्रिय राजनीति एक शक्तिको खेल हो र सबै मुलुकहरु बराबरी मित्र हुन सक्दैनन् । राजनीतिक नेतृत्वले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ भने कानूनविद्हरुले अन्तर्राष्ट्रिय नियम र कानूनहरु बुझाउन मद्दत गर्छन् ।
अहिलेको नेपालको सबैभन्दा ठूलो समस्या भनेको बौद्धिक इमान्दारिता र दृष्टिकोण साधारणतया नेपालको राजनीतिक, कूटनीतिक र कानूनी क्षेत्रमा दुई किसिमका बौद्धिक वर्ग देखिन्छन्, एक किसिमका बौद्धिकले नेपालको सुरक्षाको सट्टा चीनको सुरक्षाको बारेमा बढी चासो राख्ने र अर्कोले भारतसँगको सुरक्षाप्रति ।
नेपालको आन्तरिक राजनीतिमा विदेशी तत्वहरुले भूमिका खेल्छन् भन्नेमा कुनै शंका छैन तर यहाँ यस्ता बुद्धिजीवीहरु पनि छन् जो षडयन्त्रका सिद्धान्तहरूमा निर्भर छन् र हरेक राजनीतिक घटनाहरु विदेशी उत्पादन हुन् भन्नेमा विश्वास गर्छन् । हुन त यस्तो षडयन्त्रकारी विचारको रोग विदेशमा र अरु ठुला देशमा पनि छ, जसले ठुला देशहरुलाई दोष दिइरहन्छन् अनि रुस र चीनमा पनि छ, उनीहरु अमेरिका र यूरोपलाई दोष दिइरहन्छन् । नेपालमा षडयन्त्रका विचारहरु प्रायजसो टेलिभिजन अन्तरवार्ता र लेखहरुमा व्यक्त गरिएको देखिन्छ । नेपालमा उदारवादी र बामपन्थी विचारधाराका बौद्धिकहरु आत्मालोचनामा चासो देखाउँदैनन् ।
केही छन् बामपन्थी बौद्धिकहरु आवश्यकताअनुसार कहिले धार्मिक त कहिले धर्म निरपेक्ष हुने गर्छन् र समाजवादको नाउँमा पुँजीवादी अर्थव्यवस्था सञ्चालन गर्न सहयोग गर्छन् । अझै अर्को बौद्धिक समूह छ, जसले जातिवाद र मानवशास्त्रबीचमा स्पष्ट भिन्नता देख्दैन, उदाहरणको लागि डोरबहादुर बिष्टको पुस्तक ‘द पीपुल अफ नेपाल ।
उनीहरुमध्ये धेरैले धर्म र संस्कृतिमा फरक छुट्याउन सक्दैनन् र पहिचान र प्रतिनिधित्वको बारेमा असफल छलफल गर्छन् । नेपालको राजनीतिक वर्ग भारतसँगको सीमा सवालमा एकजुट भएको थियो तर भारतको सैनिक नियन्त्रणबाट आफ्नो क्षेत्र फिर्ता लिनको लागि कुनै रणनीति फेला पारेको छैन । दुई छिमेकी चीन र भारतलाई सन्तुलनमा राख्न पनि नेपालसँग स्पष्ट रणनीति र अनुभवी कूटनीतिज्ञको अभाव छ ।
भारतीय नाकाबन्दी र नेपालको भू‒भागमा भारतीय सैन्य नियन्त्रणको बारेमा नेपालका प्रख्यात कानूनविद्हरूले कानूनी सल्लाहको सट्टा लोकप्रिय राजनीतिक सल्लाह दिए । उनीहरुले समुद्री कानूनको लागि अन्तर्राष्ट्रिय न्यायाधिकरण एक अवसर हुनसक्छ भनेर सल्लाह दिनुको सट्टा अन्तर्राष्ट्रिय अदालत जाने सल्लाह दिए ।
नेपालको भू ‒भाग भारतीय सैन्य नियन्त्रणको विरुद्ध राष्ट्र संघीय कानूनी मामिला कार्यालयलाई सोध्नुको सट्टा अन्तर्राष्ट्रिय अदालतको प्रचार गरे । नेपालका शासकहरुले भारतले गरेको अन्यायविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्ने साहस नै गर्दैनन् । नेपालका वर्तमान शासकहरुसँग अन्तर्राष्ट्रिय कानून वा कूटनीति प्रयोग गर्दै मुलुकलाई संकटबाट निकाश दिने कुनै क्षमता छैन । त्यसैले लगभग दुईतिहाई बहुमत भएको सत्ताधारी दल मुलुक त के आफ्नै दल समेत सञ्चालन गर्न सकिरहेको छैन ।
















































प्रेम वली ( लेखक सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउछन् ।) । २४ जेष्ठ २०८२, शुक्रबार