सपना बोकेका आँखाहरू र भासिएको शिक्षा प्रणाली


म जनयुद्ध लड्दाखेरि भर्खर जन्मिएको मान्छे हुँ। तर म त्यही माटोको सन्तान हुँ, जहाँ जनयुद्धले उठाएका सपना आज पनि हावामा झुण्डिएर बसेका छन्। हामी त्यो पुस्ता हौं, जसले बन्दुकको आवाज त सुनेनौं, तर त्यो आवाजले ल्याएको आशाको चिसो छायाँमा हुर्कियौं।

म अहिले नलगाडभित्र विद्यालयहरूमा जान्छु, पढ्ने विद्यार्थीसँग बस्छु, शिक्षकहरूसँग कुराकानी गर्छु, अनि थाहा हुन्छ । शिक्षा चलिरहेको छ, तर सिकाइ चलिरहेको छैन। स्कुल खुलेका छन्, पढाइ भइरहेको देखिन्छ, तर त्यो सिकाइ कति गहिरो छ ? त्यो सिकाइले विद्यार्थीको जिन्दगीमा कति असर पारेको छ ? ती आँखाहरू अझै भौतारिरहेका छन्।

यहाँका शिक्षकहरू हाम्रा आफन्तझैँ भइसके। वर्षौं देखिएका अनुहारहरू हुन्। केही चाहिँ साच्चै मनदेखि काम गर्न खोज्छन्, तर धेरै शिक्षकहरू पढाइभन्दा पनि जागिरलाई टिकाउने मानसिकतामा छन्। समयमै विद्यालय आउने, पढाउने, विद्यार्थीको स्तर बुझ्ने प्रयास केही व्यक्तिमा मात्र देखिन्छ। धेरैजसोमा बसोबास स्थायीत्व भए पनि शिक्षणमा स्थायीत्व छैन।

विद्यार्थीहरू बिहानै हिँडेर स्कुल पुग्छन्। कतिले एक घण्टा उकालो चढ्नुपर्छ, कतिले भोकभोकै किताब बोकेर आउनुपर्छ। तर त्यहाँ पुगेपछि उनलाई कक्षा कोठामा के दिइन्छ ? धेरै जसो शिक्षक हाजिरी गरेर गफ गर्न थाल्छन्, कोही मोबाइलमा व्यस्त, कोही केवल पाठ्यक्रमको टाउको मात्र पढाएर टार्ने प्रयास। विद्यार्थी ताज्जुब मान्दै बस्छ पढाइ यस्तै हो त?

कक्षाकोठा भित्र भित्तामा झुण्ड्याइएको चार्टमा अक्षर लेखिएका छन्, तर ती अक्षरहरू विद्यार्थीको दिमागमा नभई केवल भित्तामा सीमित छन्। कोही आठौं कक्षामा पढिरहेको छ, तर भाग गरेर नम्बर निकाल्न सक्दैन। कोही पाँच कक्षामा छ तर पूरा अक्षर चिन्न सक्दैन। अनि हामी भनिरहेका छौँ शिक्षा गुणस्तरीय हुँदैछ। राम्रो पढ्ने विद्यार्थी पनि छन्। उनीहरूले बाहिर प्रतिस्पर्धा गर्दा राम्रै गर्छन्। तर ती गिन्तीका हुन्। बाँकीलाई शिक्षा केवल नाम मात्रै भएको छ। परीक्षाको बेला ‘नकल’ चल्छ। शिक्षकको आँखै अगाडि किताब खोलेर लेखिन्छ। किनभने हामीले अंकमा ध्यान दिएका छौं, ज्ञानमा होइन।

यहाँका अभिभावकहरूले पनि सपना देखेका छन्। आफ्ना छोराछोरी डाक्टर बनून्, शिक्षक बनून्, इन्जिनियर बनून् ,सबैको आशा एउटै छ। तर त्यस्तो सपना देख्दा उनीहरूको आँखाभित्र पीडा पनि देखिन्छ। किनभने उनीहरूले जानेका छन् ‘यो शिक्षा प्रणालीबाट साच्चिकै भविष्य बनाउँछ त ? हामी सधैं शिक्षक दोषी छन् भन्छौं। तर सवाल केवल शिक्षकको मात्रै होइन। राज्यको नीति, जनप्रतिनिधिको प्राथमिकता, र अनुगमनको इमानदारिता पनि ठूला कारण हुन्। नगरस्तरीय, प्रदेशस्तरीय योजनाहरू कागजमा राम्रो देखिन्छन्, तर व्यवहारमा ती योजना प्राय नामकै लागि सीमित छन्। यहाँ कतिपय शिक्षकले एकैपटक दुई ठाउँमा काम गर्ने देखिन्छ । स्कुलमा पनि, NGO मा पनि। अनि विद्यार्थीको ध्यान के तिर जाने ?

कहिले काहीँ त यस्तो लाग्छ नलगाडको भूगोल मात्रै दुर्गम छैन, यहाँको शिक्षा प्रणाली पनि गहिरो अँध्यारोमा छ। विद्यालयहरूमा पुस्तकालय छन् तर किताब पुराना छन्। विज्ञान पढ्ने ठाउँमा प्रयोगशाला छैन। ICT भनिएको छ, तर कम्प्युटर चलाउने सिकाउने कोही छैन। साना बालबालिकालाई बालमैत्री वातावरण भनिएको छ, तर कक्षाकोठा चिसो र भित्ताहरू धमिलो छन्।

हाम्रो शिक्षा प्रणाली कता जान खोजेको हो ? शिक्षक नियमित छन्, विद्यार्थी उपस्थित छन्, तर सिकाइको परिणाम किन खस्कँदो छ ? हामी विद्यार्थी राजनीति गर्ने भनेर अघि बढेका हौं, तर त्यो राजनीति केवल संगठनका झण्डा बोकेर भाषण गर्ने नभई जनताको छोराछोरीले राम्रो पढ्न पाऊन् भन्ने सपना बोकेर अघि बढ्नुपर्छ।

अब हामीले भन्नुपर्छ हामी पढ्दैछौं, तर बुझ्न सकिरहेका छैनौं। यो बुझाइ फर्कनु पर्छ। शिक्षक विद्यार्थी सम्बन्ध केवल उपस्थितिका आधारमा होइन, सिकाइ र परिवर्तनको आधारमा जोडिनुपर्छ।

यदि राज्य सुन्दैन भने, हामी विद्यार्थीहरूले आफ्नै चेतनाबाट आवाज उठाउनुपर्छ। यदि प्रणालीले सुधार गर्दैन भने, हामी नै प्रणाली बन्नुपर्छ। म अखिल (क्रान्तिकारी)को कार्यकर्ता भएर होइन, यस भुइँको सन्तान भएर, नलगाडकै एउटा साधारण युवाले देखेको, बुझेको, अनुभूति गरेको पीडालाई शब्दमा उतार्दैछु। हामीले पढ्न पाएका थियौं अब बुझ्न पनि पाउनु पर्छ। अनि त्यही दिन, नलगाडका ती चिसा कक्षाकोठामा सिकाइले बोल्न थाल्नेछ। अनि सायद, शिक्षा केवल अंकको खेल होइन, भविष्य निर्माणको आधार पनि हो भन्ने कुरा सबैले बुझ्नेछन्।

रविन्द्र खड्का अखिल (क्रान्तिकारी) प्रदेश कमिटी सदस्य, नलगाड नगर इन्चार्ज हुन् ।

तपाईको प्रतिक्रिया