‘तल्लु’को तगडा प्रस्तुति, जाजरकोट विज्ञान प्रदर्शनीमा विरेन्द्र हिमालय मावि प्रथम


जाजरकोट । विद्यालय स्तरमा छात्रछात्राको वैज्ञानिक सोच र सिर्जनशीलता उजागर गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय, जाजरकोटको आयोजनामा सम्पन्न भएको विज्ञान सामग्री प्रदर्शनी प्रतियोगितामा नलगाड नगरपालिका–१२, तल्लुस्थित विरेन्द्र हिमालय माध्यमिक विद्यालय प्रथम भएको छ।

प्रतियोगिता भेरी नगरपालिका–३ खलंगास्थित त्रिभुवन माविको सभाहलमा सम्पन्न भएको हो। प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय, खलंगा दोस्रो र जनप्रिय मावि, दशेरा तेस्रो स्थानमा परेका छन्।

कार्यक्रममा प्रथम हुने विद्यालयलाई नगद रु. २०,०००, द्वितीयलाई रु. १५,०००, र तृतीयलाई रु. १०,००० सहित प्रमाणपत्र प्रदान गरिएको सामाजिक विकास कार्यालयका प्राविधिक सहायक जगदीस न्यौपानेले जानकारी दिए। प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्राहरूले विज्ञानका विविध आयाम झल्काउने प्रस्तुतीहरू दिएका थिए।

निर्णायक मण्डल र विशेष उपस्थिति
प्रतियोगिताको निर्णायक मण्डलमा भेरी नगरपालिकाका स्रोत व्यक्ति प्रेम केसी, सामाजिक विकास कार्यालयका इन्जिनियर प्रेमबहादुर विक, र मालिका कम्प्युटर इन्स्टिच्युटका हेमन्त कुमार खत्री रहेका थिए।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालयका अधिकृत दशरथ लामिछानेले गरेका थिए भने जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंह, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लक्ष्मी भण्डारी, तथा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी लगायतले विद्यार्थीको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमको महत्वबारे मन्तव्य दिएका थिए।

सुर्खेतकाे बाटाे खुला
जिल्ला विजेता बनेको विरेन्द्र हिमालय मावि, तल्लुलाई आगामी जेठ २४ गते सुर्खेतमा हुने कर्णाली प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा सहभागी गराउने निर्णय गरिएको छ।

सामाजिक विकास कार्यालय, जाजरकोटको सक्रियता र सहजीकरणमा सम्पन्न भएको यो कार्यक्रमले जिल्लाका छात्रछात्राको वैज्ञानिक प्रतिभा उजागर गर्न महत्त्वपूर्ण योगदान दिएको सहभागिहरूको धारणा रहेको छ।

तपाईको प्रतिक्रिया