
कुशे (थर्पु,भार्मा) । कुशे गाउँपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालयहरूमा साक्षरताको महत्व बारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटकहरू प्रस्तुत भईरहेका छन् ।
गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा मधुरिमा कला केन्द्र, जाजरकोटको आयोजनामा उक्त सडक नाटक सञ्चालन भइरहेको हो । कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १३ वटा माध्यमिक विद्यालयमा नाटक प्रस्तुत गरिनेछ ।
सडक नाटकको मुख्य उद्देश्य बालबालिकाहरूको शिक्षाप्रति ध्यान केन्द्रित गराउनु रहेको आयोजक संस्था मधुरिमा कला केन्द्रले जनाएको छ । नाटकमा अभिभावकहरूले आफ्ना छोराछोरीप्रति पर्याप्त ध्यान नदिने, विद्यार्थीहरू सामाजिक सञ्जालमा अत्याधिक व्यस्त रहने, कुलतमा फस्ने तथा अन्ततः वैदेशिक रोजगारीको लहरमा लागेर परिवार टुट्ने जस्ता सामाजिक समस्याहरूलाई उजागर गरिएको छ ।

दुर्गादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमन्त बहादुर सिंहले मधुरिमा कला केन्द्रको प्रस्तुतिले अत्यन्त प्रभावशाली रूपमा जनचेतनामूलक सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।
मधुरिमा कला केन्द्रका अध्यक्ष रेशम बहादुर शाहीका अनुसार हालसम्म आधा विद्यालयमा मात्र नाटक सम्पन्न भइसकेको छ र बाँकी विद्यालयहरूमा छिट्टै नाटक प्रस्तुत गरिनेछ ।
















































सरू बस्नेत । २२ जेष्ठ २०८२, बुधबार