भेरी नगरपालिका सातका एक जनामा कालाजार संक्रमण पुष्टी, सचेत रहन आग्रह

May be an image of measuring stick and text
जाजरकोट । भेरी नगरपालिका सातका एक जना ३५ बर्षे पुरुषमा कालाजार संक्रमण भएको पुष्टी भएको छ । लामो समयदेखि विरामी भएका उनलाई कालाजार परीक्षण गर्दा उक्त सरुवा रोग पुष्टी भएको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक वलीले जानकारी दिए ।

उनका अनुसार, उनी केही समय अघि भारत बाट आएका थिए । अत्याधिक ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, रक्तअल्पता र कलेजो सुनिने जस्ता लक्षण देखिएपछि कालाजार परीक्षण गरिएको वलीले बताए । अहिले उनलाई सन्चो भईसकेको छ । अझै एन्टीवडी पोजिटिभी रहेको छ । कालाजार रोग जंगली झिंगा प्रजातीको सेन्ड फ्लाई भुसुनाको टोकाई बाट सर्ने सुरुवा रोग भएको वलीले बताए ।

शनिवार डब्लुएचओ, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य सेवा निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय र नगर स्वास्थ्य शाखा बाट विरामी भएको १०० मिटर वरपरका घरमा विषादी छर्कने र सम्भावित ५० जनाको आर.डिटी. परीक्षण गरिएको समेत प्रमुख वलीको भनाई छ । यो सरुवा रोग भएकोले सचेत रहन आग्रह गरिएको छ ।

May be an image of 2 people, people studying and text

कालाजार केहाे ?

कालाजारलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ। प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो।
स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ।

विश्वभर प्रत्येक वर्ष यो रोगका दुईदेखि चारलाख संक्रमण हुने गरेको पाइन्छ। संक्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो। यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ।

कालाजारको संक्रमण भएपछि उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ। यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल एचआइभी तथा कालाजारको संयुक्त संक्रमण चासोको विषयको रूपमा देखापर्न थालेको छ।

बचाउ तथा सुरक्षा
हालसम्म कालाजार लाग्नबाट बचाउने कुनै खोप वा औषधि छैन। स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो। यो भुसुनाको टोकाइबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ।
घरबाहिर हुंदा
१.प्रायजसो साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने।
२. बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसम अनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने। लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्टलाई पाइन्टभित्र घुसार्ने।
३. शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुल्ला भागमुनि कीरा भगाउने मलहमहरू लगाउने । यसरी मलहम लगाउँदा यसको बट्टामा लेखिएको विधिहरू अपनाउनु पर्छ।
घरभित्र हुंदा
१. खुल्ला झ्यालढोकामा जाली लगाइएको वा वातानुकुलित (एयरकन्डिसन भएको) स्थानमा बस्ने।
२. स्यान्ड फ्लाई नामका भुसुनाहरू लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्छन् भन्ने कुरा याद गर्ने।
३. सुत्ने वा विश्राम गर्ने स्थानहरूमा कीरा मार्ने विषादी छर्कने।
४. झ्यालढोकामा जाली नलगाइएको वा वातानुकुलित (एयरकन्डिसन) नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीराहरू छिर्न नसक्ने बनाउने । सम्भव भएसम्म कीरा मार्ने औषधिमा (कीटनाशक भएको पाइरिथ्रोइड) डुबाइएको वा त्यस्तो औषधि छर्किएको झुलको प्रयोग गर्ने। यस्तो औषधि झ्याल÷ढोकाका खापा, भित्ता, पर्दा, तन्ना, सिरक तथा अन्य कपडाहरूमा पनि प्रयोग गर्न सकिन्छ । धुने कपडाहरूमा पाँच पटक धोएपछि कीरा मार्ने औषधिको असर समाप्त हुने हुनाले पुन उपचार गर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया