छेडागाडमा मध्यरातको पहिरोले ठूलो क्षति, दर्जनौँ घर जोखिममा


जाजरकोट । छेडागाड नगरपालिकामा शुक्रबार मध्यराति परेको अबिरल वर्षासँगै आएको पहिरोले दर्जनौँ घर तथा भौतिक संरचनामा गम्भीर क्षति पु¥याएको छ ।

राति करिब २ बजे छेडागाड–१ खारा र वडा नं. ४ जेवातरामा माथिबाट आएको भीषण पहिरोले ४ वटा पक्की घर, ५ वटा अस्थायी आवास र २ वटा मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । यसबाहेक १४ वटा घर र १ अस्थायी आवास उच्च जोखिममा रहेको छ ।

छेडागाड–१ ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारस्थित सव–डिभिजन वन कार्यालय भवन पूर्णरूपमा ध्वस्त बनाएको छ ।नगर उप–प्रमुख चन्द्र बहादुर थापा ‘अपिल’ का अनुसार, करे बस्नेतको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। जनता आवास कार्यक्रम अन्तर्गत बनेका कर्ण बहादुर बादी र दीपा बादीका घरहरू पुरिएका छन् ।

राम बहादुर, दिपक, भरत बस्नेत, बीर बहादुर बुढा र अमर बहादुर बुढाका अस्थायी आवासहरू पूर्ण रूपमा ध्वस्त छन् ।
यसैगरी, खारा–ढुङ्गिल सडक स्तरोन्नति कार्यमा खटिएको आशिष निर्माण सेवाका कर्मचारीहरूले प्रयोग गर्दै आएका २ वटा मोटरसाइकल पनि पहिरोमा पुरिएको नगर उप–प्रमुख थापाले जानकारी दिए । त्यस्तै, शोस्तिक रोजिन एण्ड टर्पेन्टाइन प्रा.लि. को खारा स्थित भान्साघर र गोदाम समेत पुरिएको छ ।

भूकम्पले चिरा परेको संरचना अझै जोखिममा
गत वर्षको भूकम्पको पराकम्पनले चिरा परेको धेरै घर तथा गोदाम अझै जोखिममा रहेका छन् । जसमा मोतिलाल, नविन, दिपक, धन बहादुर, चन्द्र, ऐवान, लोक बहादुर, टेक बहादुर, मेघराज, बाली, पृथ्वी बहादुर, मान बहादुर बस्नेतहरू, नर बहादुर थापा र जयवान बस्नेतका घर तथा गोदाम पहिरोको उच्च जोखिममा रहेका छन् ।

नगर उप–प्रमुख थापाले भने, “मनसुन सुरु नहुँदै यति ठूलो पहिरो आउनु अत्यन्त दुःखद पक्ष हो । यस घटनाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको पूर्व तयारीमा कमजोरी देखाएको छ ।” उनले जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समिति र सरोकारवाला निकायहरूलाई जानकारी दिएको बताए ।

तपाईको प्रतिक्रिया