
जाजरकोट । २०७७ साल जेठ १० गते भएको सोती हत्याकाण्डमा निर्मम रूपमा मारिएका नवराज विकसहित उनका पाँच साथीहरूको स्मृतिमा जाजरकोटको खलंगामा दीप प्रज्वलन गरिएको छ । शनिबार साँझ नागरिक समाजका विभिन्न संघसंस्थाहरूको संयुक्त पहलमा खलंगाको गैरीखाली चोकमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले नवराज विक, गणेश बुढा, सन्दीप विक, टिकाराम नेपाली, गोविन्द्र शाही र लोकेन्द्र सुनारको सम्झनामा दीप प्रज्वलन गर्दै न्यायका लागि आवाज उठाए । उक्त हत्याकाण्डले त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत व्यापक ध्यान खिचेको थियो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा प्रेम सम्बन्धका आधारमा विवाह गर्न गएका नवराज विक र उनका साथीहरूलाई स्थानीयहरूले सामूहिक रूपमा कुटपिट गरी भेरी नदीमा फालेका थिए ।
दीप प्रज्वलन कार्यक्रममा स्थानीय बासिन्दा, अधिकारकर्मी, पत्रकार, विद्यार्थी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । वक्ताहरूले घटनालाई जातीय हिंसासँग जोड्दै समावेशी समाज निर्माणका लागि सचेत नागरिकले निरन्तर आवाज उठाउनु पर्नेमा जोड दिए ।
“नवराज र उनका साथीहरूको सपना न्याय र समानताको थियो,” यूवा अधिकारकर्मी प्रेम बहादुर विकले भने, “उनीहरूको बलिदानलाई निष्फल हुन दिनुहुँदैन ।”
















































हाम्रो पहुँच संवाददाता । ११ जेष्ठ २०८२, शनिबार