भारतको खोलामा बगेको बिन्दाको भिडिओ भाईरल भयो तर अझै भेटिएन शव, परिवारद्दारा खोजीकार्यमा सहयोगको अपिल

जाजरकोट । भारतको उत्तरकाशी स्थित एक खोलामा परेर जाजरकोटकी एक महिला सात दिन देखि बेपत्ता छन् । गत वैशाख १ गते अर्थात् नयाँ बर्षको दिने कुशे गाउँपालिका – २, टालेगाउँ लाम्पाटकी ३५ वर्षीया बिन्दा शाही भारतको उत्तरकाशीस्थित एक खोलामा भिडियो बनाउने क्रममा परेर बेपत्ता भएकी हुन् ।

उनको खोजी कार्यका लागि घटना घटेको केही दिनपछि परिवारका सदस्यहरुसहित केही आफन्त उक्त स्थानमा गएको र खोजीकार्य गरिरहेको भएपनि हालसम्म कुनै अत्तोपत्तो हुन् सकेको छैन । पीडित परिवारले बिन्दाको खोजीमा सहयोग गरिदिन नेपाल सरकार, स्थानीय तह (कुशे गाउँपालिका) सहित देश तथा बिदेशमा रहेका सबैलाई आग्रह गरेका छन् ।

बेपत्ता बिन्दाका श्रीमान पूर्ण बहादुर शाहीका अनुसार आफूहरुले उनको खोजीको लागि सक्ने जति गरिरहेको बताए । घटना घटेको यति लामो दिन भईसके पनि प्रभावकारी ढंगले खोजी हुन् नसकेको उनले बताए । उनले भने ‘यस्तो अवस्थामा सरकार र सरोकारवाला निकायहरूसँग आर्थिक र मानवीय सहयोगको अपिल गर्दछौ ।’

काठमाडौंमा बस्दै आएकी उनी नयाँ वर्ष मनाउन आफ्नी छोरीसहित भारतको उत्तरकाशी गएकी थिइन् । जहाँ उनीहरूका केही आफन्तहरू र अन्य नेपालीहरू पनि बसोबास गर्छन् । नयाँ बर्षका दिन त्यो खोलामा भिडियो खिच्ने क्रममा चिप्लिएर बगेर बेपत्ता भएकी हुन् । सार्वजनिक भिडियोमा उनकी छोरीको हातमा रहेको मोबाईलबाट भिडियो खिच्न लगाएर आफू खोलामा गएको देख्न सकिन्छ र त्यसपछि एक्कासी चिप्लिएर पछाडी तिरबाट खोलाले बगाएको छ ।

खोलाले बगाउने क्रममा मोबाईलमा भिडियो खिच्दै गरेकी उनकी छोरीले ‘मम्मी’ भनेको आवाज दुई पटक सुन्न सकिन्छ । र भिडियो सकिन्छ । घटना घटेको केही समयमा त्यहाँ रहेका नेपालीहरुले त्यहाँको स्थानीय प्रशासनलाई खबर गरेको र उद्दारका लागि सहयोग गर्न आग्रह गरेपनि खास्सै चासो नदिएको पीडित परिवार बताउँछन् ।

 

सोही भिडियो त्यसको एक दिनपछि नेपालमा अर्को कुनै महिलाको नाम र पर्वत ठेगाना राखेर अत्यन्तै भाईरल भएको थियो । पछि केही नेपाली संचारमाध्यमले ‘फ्याक्ट चेक’ गरेर उक्त भिडियोको सत्यता बाहिर ल्याएका थिए ।

यस बिषयमा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतसंग बुझ्दा उनको खोजीको लागि पालिकाले पररास्ट्र मन्त्रालयलाई खोजीको लागि सहयोग गरिदिन अनुरोध सहितको चिठी पठाएको छ । बिन्दाको खोजीको लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए । उनले भने – ‘खोजीको लागि परिवारका केही सदस्य सहित आफन्तहरु जानु भएको छ, हामी सम्पर्कमै रहन्छौ भनेको आज (शनिवार) दिउँसो फोन गरेको रिसिभ भाको छैन ।’

तपाईको प्रतिक्रिया