जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गरेका छन् ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूलाई व्यवस्थित गर्न सरकारले स्थापना गरेको उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री लेखकले भूकम्प प्रभावित क्षेत्रमा सीघ्र पुनर्निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिएको बताए ।
मन्त्री लेखकले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्युनिकरण पुनस्र्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह एकैसाथ सक्रिय हुनुपर्ने बताए ।
मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेका योजनाका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्बाट जनताका गुनासा सम्बोधन गरिने बताए ।
सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट, जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीयबासीले पनि नयाँ कार्यालय स्थापना भएसँगै पुनर्निर्माण कार्य अझ सहज हुने अपेक्षा गरेका छन् ।
यस्तै, गृहमन्त्री रमेश लेखकले विपत् जुनसुकै बेला पनि आउने भएकाले त्यसको प्रभावलाई न्यूनीकरण गर्न तथा प्रभावकारी व्यवस्थापन गर्न स्थानीय तहलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।
भेरी नगरपालिका–१, रिम्नामा स्थापना गरिएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले विपत् व्यवस्थापन मानव जीवनसँग प्रत्यक्ष जोडिने विषय भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
“सडकको विकास, बाँध निर्माण, तथा घर–घरमा बिजुली पु¥याउने काम विकासका महत्वपूर्ण पाटो हुन्। तर, विपत् व्यवस्थापन झनै ठूलो मानवीय विषय हो, स्थानीय तहहरूले यसका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ,” गृहमन्त्री लेखकले भने ।
उनले सरकारले विपत् व्यवस्थापन र पुनर्निर्माणका लागि गम्भीर रूपमा लागिरहेको उल्लेख गर्दै भने, “सीमित स्रोतसाधनका कारण केही कमजोरी भए पनि भूकम्पबाट क्षति भएका आवास पुनर्निर्माण गर्न तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको छ ।’
हाम्रो पहुँच संवाददाता । २६ फाल्गुन २०८१, सोमबार