कार्यसम्पादनमा बारेकोट गाउँपालिका जिल्लाकै उत्कृष्ट

बारेकोट  गाउँपालिकाको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात
जाजरकोट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटको बारेकोट गाउँपालिका अन्य स्थानीय तह भन्दा उत्कृष्ट भएको छ । १७ वटा सूचकका आधारमा स्थानीय तहहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै बारेकोट जिल्लामै उत्कृष्ट भएको हो ।

वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार ७ स्थानीय तहमध्ये बारेकोट गाउँपालिकाले ५७.८ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको छ । भेरी नगरपालिकाले ५५.५ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने तेस्रो जुनीचाँदे गाउँपालिका ५०.६ अंक प्राप्त गरेको छ ।
शिवालय गाउँपालिकाले ५०.३, छेडागाड नगरपालिकाले ५०.२, कुशे गाउँपालिकाले ४६.५ अंक प्राप्त गरेको छ । नलगाड नगरपालिकाले ४८.७ अंक प्राप्त गरेको छ ।

आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान, समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगाएतका १७ वटा सूचाङ्कमा यो मूल्याङ्न हुने गर्दछ । यसमा सुशासन, समन्वय, पूर्वाधार, न्यायिक कुराहरु पनि सुचकमा राखिएका हुन्छन् ।

नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ख) बमोजिम संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानिकरण अनुदान, आर्थिक वर्ष ०८०÷०८१ मा प्राप्त गर्न प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा बारेकोट जिल्लामै प्रथम भएको छ ।

कर्णाली प्रदेशका ७९ वटा पालिका मध्य कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका ७७ अंकका साथ प्रथम, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ७२.२ अंकका साथ दोश्रो र हुम्लाकै खार्पुनाथ गाउँपालिका ७१.१ अंकका साथ तेस्रो भएको छ । यो मूल्याङ्कनमा जिल्लामा उत्कृष्ट भए बापत आयोगबाट थप रकम अनुदान पाइन्छ ।

May be an image of text

तपाईको प्रतिक्रिया