
जाजरकोट । नलगाड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा जिल्लामै प्रथम भएको छ । स्वमूल्यांकनमा जाजरकोटका सात स्थानीय तहमध्ये नलगाड ९८.७५ प्रतिशत अंक ल्याएर प्रथम भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को लिजा नतिजाअनुसार नलगाड प्रथम भएको हो । जाजरकोटमा चार वटा गाउँपालिका र ३ वटा नगरपालिका छन् ।

यस्तै, शिवालय गाउँपालिकाले ९१.५ अंक प्राप्त गरी दोस्रो स्थान प्राप्त गरेको छ । छेडागाड नगरपालिकाले ९३ अंक प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ । भेरी नगरपालिकाले ८०.२५ प्रतिशत अंक प्राप्त गरी चौथौ स्थानमा परेको छ ।

स्थानीय तहले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने गर्छ ।
















































हाम्रो पहुँच संवाददाता । ४ फाल्गुन २०८१, आईतवार