जाजरकोट । बारेकोटको रामीडाँडा केन्द्र विन्दु भएर गत कार्तिक १७ गते गएको भुकम्पले मुहान सुकेपछि जिल्लाको भेरी नगरपालिका १ रिम्ना गाउँमा खानेपानीको हाहाकार भएको छ । गाँउ देखि माथि रहेको बुदबुदी खानेपानी मुहानको पानी भुकम्पका कारण भाँसिएपछि धारामा पानी आउन छोडेको हो ।
उक्त मुहानको खानेपानी बन्द भएपछि स्थानीयहरु एक घण्टा टाढा रहेको भेरी नदीको पानीले गुजरा चलाउन बाध्य छन् । उकालो बाटोमा पैदलै बोकेर धेरै पानी ल्याउन सकिदैन गाग्रीमा बोकेको पानीले आफु प्रयोग गर्ने कि पशुचौपायालाई खुवाउने ? बढो समस्या भयो । भुकम्पले घर र चर्पी दुवै भत्किएपछि त्रिपालमा बसाई सरेको छ । अस्थायी चर्पी भएपनि पानी नहुँदा प्रयोग विहिन छन् ।
धेरैजसो स्थानीयहरु खुल्ला जंगलमा गएर दिसापिसाव गर्न थालेका छन् स्थानीय दिलिप रानाले भने, ‘भुकम्प पछि त्रिपालको बसाई, हिउँदको चिसो त्यही माथि खानेपानीको निकै समस्या छ ।’
भेरी नगरपालिका १ रिम्नाकी पुर्णकला रानालाई यतिवेला खानेपानीको जोहो कसरी गर्ने भन्ने पिरालोले सताईरहेको छ । रिम्नाको डाँडागाँउमा धारामा पानी नआउँदा पिउने, शौचालय लिने, सरसफाई गर्ने र पशुचौपायालाई खुवाउने पानीको हाहाकार भएको हो । पानी जुटाउन निकै समस्या भैरहेको उनले गुनासो गरिन् । विहान बेलुका खानेपानी जुटाउँदैमा समय वित्छ उनले भनिन्, ‘चर्पीमा लिने पानी नहुँदा जंगलमा खुल्ला शौच गर्न बाध्य छौ ।’ खानेपानी समस्याकै कारण सरसफाईको अभावले पखाला, रुघाखोकी, टाइफाइड लगायतका समस्या समेत देखिन थालेका छन् ।
रिम्ना गाँउमा डेढ सय घरपरिवार छन् । तल्लो भेग जहाँ बजार क्षेत्र पर्छ त्यहाँ नदी नजिकै पर्ने भएकोले पनि त्यति समस्या नभएपनि अलि माथी डाँडाटोलमा करीब ३० घर परिवारका लागि पानीको निकै समस्या रहेको वडा सदस्य प्रजित रानाले बताए । रिम्ना बजारमा रहेको भेरी त्रिवेणी माद्यामिक विद्यालयमा पनि खानेपानीको निकै समस्या रहेको प्रधानाध्यापक प्रेमबहादुर पुनले बताए ।
चार सय ५० विद्यार्थी रहेको उक्त विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीलाई निकै समस्या भएको छ । खानेपानी नहुँदा सवैभन्दा शौचालय प्रयोगमा समस्या देखिएको छ । भुकम्पले विद्यालय, शौचालय र खानीपानीका ट्याँकी सवै भत्किएपछि अहिले केही संघसंस्थाको सहयोगमा बनाईएका अस्थायी सिकाई केन्द्रमा पढाई भैरहेको भएपनि खानेपानी र शौचालयमा कसैले ध्यान नदिदा समस्या भएको प्रधानाध्यापक पुनले बताए । विद्यालयमा आउने पानीको मुहान नै भासिएपछि खानेपानीको समस्या भएको उनले बताए ।
त्यस्तै सोही वडाको कोलचौर गाँउमा पनि भुकम्प पछि खानेपानीको निकै समस्या देखिएको छ । करीब अढाई सय घरधुरी रहेको कोलचौरमा आपुर्ती हुँदै आएको खक्सेनी खोलाको पानीको मुहान भुकम्प पछि सुकेको छ । पानी भासिएपछि धारामा पानी आउँदैन निकै समस्या भयो स्थानीय देवी चनाराले भनिन खानेपानी नहुँदा निकै समस्या छ । एक गाग्री पानी लिन घण्टौं समय लाग्छ ।
चिसोले त सताईरहेको थियो । पानी नहुँदा सरसफाई गर्न, शौचालय लिन र बस्तुभाउ(गाईभैसी)लाई खुवाउन पनि निकै समस्या भयो उनले भनिन ‘सवैले अस्थायी आवास मात्र भन्छन् । अस्थायी आवास पनि अहिले सम्म बन्न सकेका छैनन् । बन्दैछन् तर शौचालय र खानेपानीको समस्या समाधानमा कसैले चासो दिदैनन् तर समस्या ठुलो छ ।’ सोही वडाको रिठापानी गाँउमा पनि खानेपानीको निकै समस्या देखिएको स्थानियको भनाई छ । रिठापानी गाँउमा २० घरधुरी छन् । त्यस गाँउका मानिसले प्रयोग गदै आएको जस्यापानी मुहान पनि सुक्न थालेको छ । ट्याकी चर्किएपछि धारामा पानी आउन छोडेको छ ।
जसका कारण खानेपानीको निकै समस्या रहेको स्थानिय लोककुमारी विकले बताईन । गाँउमा खानेपानी नहँदा निकै समस्या परिरहेको उनले बताईन । भुकम्प पछि भेरी नगरपालिका वडा नम्बर १, २ र ३ का धेरै मुहानहरु सुकेका छन् । नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा भने धेरै ठाँउमा मुल फुटेको वडाध्यक्ष वद्री पन्तले बताए । उनले नलगाड नगरपालिकामा केही ठाँउमा मुल फुटेको र केही ठाँउमा पानीका मुल सुकेपछि खानेपानीको अभाव देखिएको बताए । जिल्लाका धेरै ठाँउका मुहानमा क्षति पुगेको भएपनि कति ठाँउमा खानेपानीका मुहानमा क्षति पुगेको भन्ने बारे हाल सम्म सम्बन्धित निकायले तथ्यांक राखेको छैन् । बारेकोट–गाउँपालिका–९ स्थित काप्के खानेपानी योजनाको मुहान सुक्यो । मुहान झन्डै एक फिट दबेपछि काप्केका १ सय २० परिवारमा झन्डै साढे ७ महिनादेखि खानेपानी हाहाकार छ ।
स्थानीय आधा घण्टा हिँडेर सिधेरीखोला मुहानमा गई पानी ल्याउन बाध्य छन् । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ स्थानीय गजेन्द्र विकले भने, ‘एक गाग्री पानीका लागि आधा रातमै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता भयो, महिला र बालबालिकाको बिहानभरिको कामै पानी ल्याउने नै हुन्छ ।’ भूकम्पले बारेकोट–६ घर्तीगाउँस्थित तासे खानेपानी र वडा १ बयाला खानेपानी योजनाको ट्यांकी र मुहानमा क्षति पुगेको छ, जसका कारण २ गाउँका झन्डै २ सय परिवार पनि झन्डै आधा घण्टा हिँडेर पानीखोला, लहरेखोला, जामुनलगायत खोलाको पानी ल्याउन बाध्य छन् ।
‘बिहान ल्याएको एक गाग्री पानीले खाना पकाउन नै पुग्दैन, भोक प्यास नभनी दिनभर एक जनाको काम पानी बोक्ने नै हुन्छ,’ स्थानीय विमला घर्तीले भनिन्, ‘उकालो–ओरालो बाटो भएकाले लड्ने डर उत्तिकै, बिहानै पानी भर्न जाँदा वन्यजन्तुले आक्रमण गर्ने जोखिम उत्तिकै, नुहाउन र लुगा धुन खोलामै झर्नुपर्ने बाध्यता छ ।’ भूकम्पका कारण जिल्ला भरिका १ सय ४३ खानेपानी योजनाको मुहान सुकेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार १ सय ६ खानेपानी योजनाको टंकी, पाइपलाइनलगायत संरचना भत्किएका कारण खानेपानीको आपूर्ति बन्द भएको छ । सबैभन्दा बढी नलगाड नगरपालिकामा २३ योजना पूर्ण रूपमा र २६ योजनामा आशिंक क्षति पुगेपछि खानेपानी हाहाकार भएको छ । नलगाडमा हलचौर, काइखोला, तिउरी, ठूलोखोलालगायत खानेपानी योजनामा क्षति पुगेपछि झन्डै ३ हजार परिवार खोला, भेरी नदी र विभिन्न मुहान चहारेर खानी खोज्न बाध्य भएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए ।
‘भेरी नदी किनारका बस्तीका बासिन्दा नदीकै दूषित पानी उपभोग गर्न बाध्य छन्,’ उनले भने, ‘दूषित पानीका कारण झाडापखाला, आउलगायत स्वास्थ्य समस्या पनि देखिन थालेका छन् ।’ बढ्दो गर्मीसँगै दूषित पानीका कारण ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला लगायतका बिरामी बढेको नलगाड नगर अस्पतालका प्रमुख विशाल उप्रेतीले बताए ।
अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । ‘भूकम्पपछि टहरामा बसेकाहरुले खुला शौच गर्दा पनि स्वास्थ्य समस्या बढेको छ,’ उनले भने, ‘समयमै नियन्त्रण गर्न नसके झाडापखालाको महामारीको जोखिम पनि बढेको छ ।’ पालिकामा झन्डै ८ हजार अस्थायी टहरा बने पनि शौचालय निर्माण नभएको नगरप्रमुख रावतले बताए । कतिपयले पुरानै शौचालय प्रयोग गरे पनि धेरैजसो बासिन्दा टहरा आसपासमै खुला शौच गरिरहेका छन् ।
सदरमुकामस्थित भेरी नगरपालिकामा पनि खानेपानीको अभाव चुलिएको छ । ‘एक त हिउँद र गर्मीमा यहाँ बर्सेनि खानेपानी समस्या थियो,’ भेरी नगरपालिका–४ का वडाध्यक्ष वसन्तप्रसाद शर्माले भने, ‘बजारमा पानीको आपूर्ति भएका मुहानहरु पनि भूकम्पले सुके, ३÷४ दिनमा एकपल्ट पानी आउँछ, त्यसैले पु¥याउनुपर्ने बाध्यता भयो ।’
भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारको विशाल फाँट कुदुका बासिन्दा पनि वर्षौंदेखि खानेपानी अभावमा छन् । झन्डै ३ सय परिवारका लागि डिप बोरिङमार्फत पानी निकालेर एउटा धारा जडान गरिएको छ । ‘बिहान ३ बजे नै उठेर पानी भर्न धारामा पुग्नुपर्छ,’ कुदुस्थित रोकायटोलकी सरिता रोकायले भनिन्, ‘नत्र पानी पाउनै मुस्किल हुन्छ, ३ बजे उठेर पुग्दा पनि कम्तीमा ३०÷४० जना सय महिला जम्मा भइसकेका हुन्छन् ।’ धाराको पानी नपाइएपछि झन्डै आधा घण्टा हिँडेर ३ किलोमिटर टाढाको भेरी नदीमा पुग्न बाध्य हुनुपरेको उनको गुनासो छ ।
भूकम्पपछि कुदुका झन्डै ८० प्रतिशत स्थानीय अस्थायी टहरामा बसाइँ सरेका छन् । ‘टहरामा झन् सरसफाइका काम गरिरहनुपर्छ, बढ्दो गर्मीले तिर्खा मेटाउनै समस्या भयो,’ स्थानीय कल्पना रोकायले भनिन्, ‘अड्कलेर पानी पिउन बाध्य छौं ।’ सिँचाइ र खानेपानी अभावका कारण स्थानीय बर्खेबाली मात्र खेती गर्छन् । कुदुको खानेपानी समस्या हल गर्न एकीकृत कर्णाली सिँचाइ विकास आयोजनाले गत वर्ष ५ करोड ६३ लाखको लागतमा सौर्य प्रणालीमार्फत डिप बोरिङ योजना सञ्चालन गरेको थियो । तर भूकम्पपछि पर्याप्त पानी नआउँदा स्थानीय काकाकुल बनेको स्थानीय शिक्षक हर्कबहादुर रोकायले बताए ।
खोला, नदी र मुहान नजिकै भएर पनि स्थानीयले गर्मीयाममा खानेपानी अभाव भोग्दै आएका थिए । भूकम्पपछि झन् खानेपानी अभाव चुलिएको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले जनाए । ‘भूकम्पपछिको लामो खडेरी गत वर्ष आउने मुहान पनि यसपालि सुकेका छन्,’ उनले भने, ‘पानी सुकेपछि भेरी किनारामा बस्ती भएका स्थानीयलाई नदीको पानी उपभोग गर्नुको विकल्प छैन ।’ खानेपानी अभावका कारण पशुपालनमा पनि ठूलो असर परेको उनको भनाइ छ ।
खानेपानी अभावको समस्या समाधान गर्न योजनाहरुको प्राथमिकीकरण गर्न लागिएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । ‘भूकम्पले अरु सार्वजनिक संरचनासँगै सबै वडामा खानेपानी योजनाहरु पनि क्षतविच्छेद बनाएको छ,’ उनले भने, ‘आर्थिक वर्षको मसान्तसम्म बढी क्षति भएका १० योजनाको काम सक्ने गरी काम थालिएको छ ।’ खानेपानी अभावको समस्या चुलिएपछि ठूला योजनाका लागि संघीय प्रदेश सरकारलाई अनुरोध गरिएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
हाम्रो पहुँच संवाददाता । १३ जेष्ठ २०८१, आईतवार