
जाजरकाेट । भेरी नगरपालिकामा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानलाई टेवा पुर्याउने उद्देश्यले ‘नमुना युवा नगरसभा’ को अभ्यास गरिएको छ। १६ देखि २४ वर्ष उमेर समूहका ३८ जना युवायुवतीहरूको सहभागितामा नगरपालिकाको सभाहलमा तीन दिनसम्म प्रशिक्षणपछि नगरसभा अभ्यास सम्पन्न भएको हो।
सभाअध्यक्ष प्रमिता खत्रीको अध्यक्षतामा संचालन गरिएको नमुना नगरसभामा उनले भेरी नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। प्रस्तुत कार्यक्रममा कृषि, पशुपन्छी, पर्यटन, साना तथा मझौला उद्योग, शिक्षा, खेलकुद, स्वास्थ्य, लैंगिक समानता, खानेपानी, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनदेखि सुशासनसम्मका विषय समेटिएका थिए।
सभा सदस्य अमिसा सिं सुनार, अम्बिका वली, कल्पना पुन, एलिना पुन, जमुना केएम, जयबहादुर चन्द, टविन कार्की, सुभाष पुनलगायतले विभिन्न धारणा राख्दै खानेपानी, युवा रोजगारी, बालविवाह, आत्महत्या, र वातावरण प्रदूषणजस्ता मुद्दाहरू उठाएका थिए। सभाअध्यक्ष खत्रीले ती जिज्ञासाको जवाफ दिँदै कार्यक्रमलाई थप स्पष्ट बनाइन्।
नगर उपप्रमुख यमुना कार्कीले आर्थिक विधेयक–२०८१ र विनियोजन विधेयक–२०८१ प्रस्तुत गर्दै दफावार छलफल र ध्वनि मतदानमार्फत ती विधेयकहरू पारित गराएकी थिइन्। सभामा सदस्य शर्मिला रोकायले बाढी, पहिरो र प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव, टविन कार्कीले ‘स्थानीय युवा ऐन’ निर्माण तथा ‘स्थानीय युवा परिषद’ गठन गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। साथै, भेरी नगरपालिकालाई सन् २०२८ (२०८५ साल) सम्म लागुऔषध दुव्र्यसनमुक्त घोषणा गर्नुपर्ने संकल्प प्रस्ताव समेत प्रस्तुत गरिएको थियो।
सार्वजनिक महत्वका प्रस्ताव र संकल्प प्रस्तावमा सदस्यहरू चाँदनी बोहोरा, आशिष विक, रचना वली, दिक्षा शाही, एलिना पुनमगरलगायतले पक्ष–विपक्षमा धारणा राखेका थिए।

कार्यक्रममा भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले अभ्यास नगरसभाले युवालाई जिम्मेवार नागरिक बन्न प्रेरित गरेको बताइन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले कार्यक्रमले युवाहरूमा समस्या पहिचान र समाधान क्षमताको विकास गरेको बताए। नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले यो अभ्यासले युवामा नयाँ सोच र चेतना जागृत गराएको उल्लेख गर्दै, यस्ता कार्यक्रमले लागुऔषध नियन्त्रण अभियानमा सघाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको प्रशिक्षण सहजीकरण सहिद स्मृति युवा क्लब जाजरकोटमार्फत गरिएको थियो। क्लबका अध्यक्ष प्रेम विश्वकर्माका अनुसार प्रशिक्षणमा १५ जना युवक र २३ जना युवती गरी ३८ जना सहभागी थिए। सहजीकर्ता प्रकाश उपाध्यायले २४ वर्षसम्मको उमेर समूहले राष्ट्र तथा समाज निर्माणका अभियानमा सक्रिय सहभागिता जनाउनुपर्ने बताए ।
नगरसभा अभ्यासलाई ‘शिक्षाको पाठशाला’ को संज्ञा दिँदै सहभागीहरूले यसको निरन्तरताको अपेक्षा गरेका छन्।
















































कालीबहादुर नेपाली । १६ जेष्ठ २०८१, बुधबार