जाजरकोट । २०७७ साल जेठ १० जाजरकोटका नवराज विक सहित ६ जनाको हत्या भएको चार बर्ष वित्यो । अन्तरजातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न रुकुम पश्चिमको सोतीमा पुगेका नवराज विक सहित उनका पाँच जना साथीहरु गाउँलेको कुटाई बाट सदाका लागि अस्ताए । जातकै कारणले मारिएको भन्दै रुकुम अदालतले २४ जनालाई जन्मकैदको फैसला गरिसकेको छ । दिनरात छोराको यादले छटपटीले हुने उनका बुवा मुनलाल दुखेसो पोख्छन् । उनले भने, ‘त्यो कहालीलाग्दो दिन सम्झेर मुटु काप्छ । यो संसारमा छोरो छैन भनेर मनलाई सम्झाउँदा–सम्झाउँदा मानसिक रुपमा निकै कमजोर भएको छु । उमेरले म जम्मा ४७ वर्षको भएँ तर निकै वृद्ध भएको महसुस हुन्छ । उसकी आमाको अवस्था निकै नाजुक छ ।’ उनी थप्छन्, ‘आफ्नै दैनिकीमा फर्किनैप¥यो । तर जब समय सुनसान हुन्छ । बुढाबुढी भक्कानिन्छौं ।’
नवराज खेलाडीसमेत भएको सम्झँदै पिता मुनलाल भन्छन्, ‘कमाएर घर धान्ने छोरो मारिदिए । एथलेटिक्स निकै राम्रो खेल्थ्यो । बाँच्न दिएका भए परिवारसँगै देशको नाम राख्ने थियो ।’ मुनलालले भने, ‘मेरो छोरोले प्रेम गरेको थियो , उसको गल्ती यत्ति हो । अल्लारे केटाकेटी थियो, गाउँका पाका मान्छेले सम्झाएर बुझाएर पठाइदिएको भए हुन्थ्यो तर कथित ठुला जातकाले मारेरै फाल्दिए ।’ जिल्ला अदालतले न्याय दिएको महसुस भएता पनि मुनलालको मनमा डर हटेको छैन । उनी भन्छन्,’अपराधीहरुलाई सजाय दिएर अदालतले न्याय दियो । छोरोसहित उसका साथीहरुको आत्माले शान्ति पाएको छ । तर तिनीहरु पुनरावेदन लिएर उच्च अदालतमा जाँदैछन् भन्ने सुनेको छु ।’ उनी अदालतले फेरि पनि न्याय दिने विश्वासमा छन् । भन्छन्,’जातीय विभेद विरुद्ध तथा ज्यान मुद्दाको केसमा अदातलले फेरि पनि अन्याय गर्ने छैन भन्ने विश्वासमा छु ।’
यसरी भएको थियो सामूहिक हत्या
भेरी नगरपालिका–४, राना गाउँका नवराज विक सहित १८ जना युवा ०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८स्थित सोती गाउँमा पुगे । उनीहरु मल्ल थरकी नवराजकी प्रेमिकासँग बिहेको कुरा गर्न त्यहाँ गएका थिए । नवराज र मल्ल थरकी एक युवतीबीच ०७५ सालमा जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो भेट भएको थियो । त्यस यता उनीहरूबीच नियमित सम्पर्क थियो । उनी त्यस दिन प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न त्यहाँ पुगेका थिए । साँझ साढे पाँच बजेतिर नवराज र उनका साथीहरु करीब पौने ३ घण्टा हिंडेर सोती गाउँ पुगेका थिए । युवतीकी आमाले नवराजलाई चिनेपछि गाली गर्न थालिन् ।
त्यसपछि नवराज र उनका साथीहरु फर्किए । उनीहरूले बाटोमा पर्ने बालकुमारी विश्वकर्माको घरको धारामा पानी खाए । सोही क्रममा सोती गाउँका एक अपरिचित स्थानीयले ‘कहाँबाट आयौ बाबु हो, काफल खाएर जाओ’ भनी केहीबेर अल्मल्याए । काफल खाने अनुरोध अस्वीकार गरेर उनीहरु बन्चरे भन्ने ठाउँमा पुगे । मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा बसिरहेका बेला ५०÷६० जनाको समूहमा घरेलु हतियारसहित आएका स्थानीयले नवराज र उनका साथीहरूलाई घेरा हालेर आक्रमण गर्न थाले ।
उनीहरु ज्यान जोगाउन भेरी नदीको बगरतिर भागे । वडाध्यक्ष डम्बरबहादुर मल्लसहितको ठूलो समूहले लखेट्दै उनीहरुलाई भेरी नदीको किनारमा पु¥यायो । त्यहाँ कुटपिट गरेर नवराजसहित ६ जनाको हत्या गरी सबैलाई भेरी नदीमा फालियो । स्थानीयको आक्रमणबाट नवराज विक, टीकाराम सुनाम, सञ्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाहीको ज्यान गयो । उनीहरूको शव भेरी नदीमा भेटिएको थियो । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेको अदालतको ठहर छ । करिब आधा घन्टापछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, चौरजहारीको टोलीले १२ जना युवालाई घाइते अवस्थामा उद्धार गरेको थियो । उनीहरूमध्ये सुदीप खड्काको टाउको र छातीमा तथा अन्य सबैको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक थियो । पीडित पक्षले २०७७ जेठ १३ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी दियो । जाहेरीपछि ३४ जना पक्राउ परे । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटे । कसुरमा कारागारमा रहेका २३ जनालाई जिल्ला अदालत जाजरकोटले जन्मकैदको फैसला सुनायो ।
नवराजकी प्रेमिकासहित उनको परिवारका तीनजनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना तोकियो । घटनाका आरोपित ८ जनाले भने सफाइ पाए । नेपाल अधिराज्यको संविधान २०४७ ले विभेद विरुद्धको अधिकारका साथै सकारात्मक विभेदको नीति अपनाउन सक्ने व्यवस्था गरेको थियो । त्यसलाई नेपालको अन्तरिम संविधान, २०६३ ले पनि निरन्तरता दियो । जन्मकैदको सजाय पाउनेहरुमा डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, तिलक चन्द, इन्द्र बहादुर ठकुरी, लिपेन्दकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल र परिवर्तित नामहरु रुकुम पश्चिम ९३६०१, रुकुम पश्चिम ९३६०३ र रुकुम पश्चिम ९३० छन् । एक्काइसौं शताब्दीमा कल्पना पनि गर्न नसकिने यस्तो घटनाले सिंगै नेपाली समाजलाई गिज्याइरहेको छ । नवराजका पिता मुनलाल भन्छन्, ‘मेरो छोराले झैं जातकै कारणले अरुले ज्यान गुमाउन नपरोस् ।’
अन्तरजातीय सम्बन्ध अझै समाजको शत्रु
अन्तरजातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका भेरी नगरपालिका —०४ रानागाउँका नवराज विक गाँउलेको कुटाईबाट मारिए । उनी मात्र होइन उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए ।
नवराज सहित ६ जनाको ज्यान जाने गरी रुकुमको सोतीमा भएको घटना जातीय विभेदकै कारण घटेको पुष्टि भईसकेको छ । नवराजको मल्ल थरकी किशोरी सँग दुई बर्ष देखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवार वीच सम्बन्ध राम्रो थिएन । तल्लो जातको केटा सँगको छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाका लागि छुटाउन चाहान्थ्ये । तर प्रेमि प्रेमिकाले त्यो सम्बन्धलाई विहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे ।
केटा तल्लो जातको र गरिब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा छ जनाको सामुहिक नरसंहार हत्या गरिएको थियो । अन्तजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाँउकी ज्योती शाह पाँच बर्ष देखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन विताईरहेका छन् । उनीहरुले प्रेम त सफल पारे तर विहे गरेपछि पनि उनीहरु आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकाम स्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाईरहेका छन् । कथित माथिल्लो जातका भनिने माईती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन विताउन बाध्य भएका हुन् ।
भेरी नगरपालिका २ पोखराका पदम बुढा र जानुका विक विच अन्तरजातीय विहे भयो । तर उक्त सम्बन्ध परिवार र समाजको दवावले टिक्न सकेन । अन्तरजातीय विहे गरेर भारत भागेका उनीहरु तीन सन्तान सहित १३ बर्ष पछि घर फर्किए । त्यतिवेला सम्म सम्बन्ध राम्रै थियो तर घर पुग्दा पदमको परिवारले जानुकालाई दलित भएकै कारण स्वीकार गरेन् । पदमको घरपरिवारले जातीय (कथित माथिल्लो जात) विहे गराईदिएपछि जानुका सँग सम्बन्ध विच्छेद गरिदिए । भेरी नगरपालिका—०१ रावतगाउँका अर्जुन वादीले २०७९ सालमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका — ०३ स्यालखोलाकी नविना कार्की सँग विहे गरे । विहे भएको २ बर्ष पुरा भईसकेको छ । तर पनि माइती पक्षले स्वीकार नगर्दा नविनाले माइत जान पाएकी छैनन् । न नविना माइत जान्छिन् न उनको माइती आउँछन् । दलित भएकै कारण अतरजातीय प्रेम सम्बन्ध राख्दा कोही मारिनुपर्ने, कोही विस्थापित हुनुपर्ने र कोही सम्बन्ध विच्छेद गर्न बाध्य हुनुपर्ने अवस्था अझै कायमै छ ।
कानुन छ कार्यान्वयन छैन
जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को पहिलो संशोधन, २०७५ मा जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कसुरको अवस्था अनुसार एक महिनादेखि तीन वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवानाका साथै दुई लाख रुपैयाँ सम्म क्षतिपूर्तिको व्यवस्था ग¥यो । ०६३ सालपछि भने दलित समुदायले राजनीतिक देखि प्रशासनिक क्षेत्रमा समेत विशेषाधिकार पाए ।
नेपालको संविधान २०७२ को धारा २४ मा जातीय छुवाछूत तथा भेदभावविरुद्धको हक तथा धारा ४० मा दलितको हक व्यवस्था गर्दै कुनै पनि सार्वजनिक सेवालगायत रोजगार तथा अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुनमा विशेष व्यवस्था गर्ने उल्लेख छ । तर, संविधानले अधिकारप्रदत्त गरे पनि कार्यान्वयन पक्ष भने निकै फितलो देखिन्छ । नेपालको संविधान २०७२ ले विभेद अन्त्यको घोषणा गरेको छ । संविधानको भाग ३ ,धारा २४ को उपधारा १ मा कुनै पनि व्यक्तिलाई निजको उत्पति,जात,जाति, समुदाय,पेशा ,व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनी लेखिएको छ । संविधानमा लेखिएको कुरा कागजमा मात्र सीमित भएको दलित अधिकारकर्मीले बताएका छन् ।
हाम्रो पहुँच संवाददाता । १३ जेष्ठ २०८१, आईतवार