स्वास्थ्य समीक्षा : ‘भूकम्पपछि स्वास्थ्य क्षेत्रको भूमिका सराहनीय’


जाजरकोट । मंगलबार देखि खलंगामा स्वास्थ्य क्षेत्रको अर्धबार्षिक समीक्षा सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा सुरु भएको अर्धबार्षिक समीक्षामा जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको छ । स्वास्थ्यकर्मी मात्रै होइन् जनप्रतिनिधी र अन्य सरोकारवाला निकायहरुको समेत सहभागिता रहेको छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले भूकम्पछि स्वास्थ्य क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै प्रशंसा व्यक्त गरे ।

‘यस्तो विपद्को वेला स्वास्थ्य क्षेत्रको भूमिका निकै सराहनीय रह्यो, ‘हामीलाई लाग्थ्यो कयौं भूकम्प पीडितलाई बचाउन सकिदैन् उनले भने, ‘तर पर्याप्त जनशक्ति नहुँदा पनि धैरै भूकम्पका घाइतेलाई बचाउन सफल भईयो, स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका खेल्यो ।’

अझै स्थानीय तहहरुले प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रलाई हेर्नुपर्ने प्रमुख खत्रीले बताए । ‘अव गर्मी मौसम सुरु हुन लागेको छ, उनले थपे, ‘महामारी फैलने सम्भावना अलि बढी र औषधी, जनशक्ति सबैलाई व्यवस्थापन गर्न जुरुरी छ ।’ बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले मानिसको सबैभन्दा महत्वपूर्ण पुजीँ भनेकै स्वास्थ्य भएको बताए । ‘हामी जे गर्छाैं, जहाँ जान्छौं, स्वास्थ्य ठीक भएन भने केही गर्न सक्दैनौं, उनले भने, ‘स्वस्थ हुनका लागि स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनुपर्छ, अप्ठेरो परिस्थितिमा पनि यहाँका स्वास्थ्य संस्थाहरुको भूमिका उल्लेखनीय छ ।’ गाउँपालिकाले सधैं स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको समेत दावी गरे ।

छेडागाड नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले भूकम्प जस्तो विपत्तिका वेला स्वास्थ्यकर्मीहरुले खलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । कतिपय स्वास्थ्यकर्मीहरुले व्यक्तिगत व्यवहार सुधार गरी स्वास्थ्य संस्थामा आएका सेवाग्राहीहरु सँग नम्र बोलीको प्रयोग गरी सेवा प्रवाह गर्न आग्रह गरे । समग्र नगरभित्रको स्वास्थ्य क्षेत्रको अवस्थाको बारेको आफु जानकार रहेको भन्दै आगामी बजेट मार्फत अझ स्वास्थ्य क्षेत्रलाई फराकिलो बनाउने उद्धोष गरे । भेरी नगरपालिका उपप्रमुख सीता जैसीले सात वटै स्थानीय तहको स्वास्थ्य क्षेत्रको समीक्षाले सकरात्कम सिकाई हुन जुरुरी रहेको बताईन् । उनले भनिन्, ‘यो समीक्षा भनेको के गरियो, के गर्न सकिएन्, अव के गर्ने भन्नेको समिश्रण हो, एक स्थानीय तहले अर्काे पालिकाको सकरात्कम पक्षको अनुुसरण गर्न जरुरी छ ।’

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख डा. प्रतिक्षा भारतीले आफ्नो पालिकाको स्वास्थ्य क्षेत्रमा वेलावेला अनुगमन गरिदिन आग्रह गरिन् । ‘जनप्रतिनिधी ज्यू, तपाईहरुले वेलावेला आफ्नो पालिका भित्रका स्वास्थ्य संस्थाहरुमा गई, उनले भनिन्, ‘के छ अभाव, के गर्नुपर्छ मात्रै भनिदिनुहोस्, स्वास्थ्यकर्मीहरुको मनोवल बढ्छ ।’ अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले स्थानीय तहले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने अवस्था रहेको बताए ।

‘कतिपय स्वास्थ्यकर्मीहरुले प्रोत्साहन वापतको भत्ता पाउन सकेका छैनन्, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन पनि कमै हुन्छ, बजेटको मात्र बढाएर स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई काम गरेवापत ज्यालामा हेरफेर गर्न जुरुरी छ ।’ अतिरिक्त सेवा सुविधाले स्वास्थ्यकर्मीमा थप काम गर्ने उर्जा प्राप्त हुने अध्यक्ष सिंहले बताए । दुई दिन सम्म चल्ले समीक्षामा स्वास्थ्य क्षेत्रका चुनौती, सम्भावना र आगामी योजना तर्जुमा सम्बन्धी छलफल हुने छ ।

नलगाडका स्वास्थ्यकर्मीले छ महिना देखि तलव पाएनन्
नलगाड नगरपालिका भित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले बताईन् । सोमबार भएको अर्धवार्षिक समीक्षामा तलबको विषयमा प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र नगरप्रमुख डम्बर रावतले सम्बोधन नगरेको उनको गुनासो छ । नलगाडको विकास बजेट २० प्रतिशत पनि खर्च नभएको पाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराई र अन्य कर्मचारीबीच तालमेल नमिल्दा बजेट खर्चदेखि सेवा प्रवाहमा असर परेको छ । नगरप्रमुख रावत र प्रमुख प्रशासकीय अधिकृत भट्टराईको बीचमा काम गर्ने विषयमा तालमेल नमिल्दा सबै काम ठप्प भएको नगरप्रमुखको सचिवालले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृतले भनेको केही नगरी आफ्नै तरिकाले चल्न खोज्दा समस्या भएको सचिवालयले जनाएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिकाबाट दुई महिनामै फिर्ता पठाएका भट्टराई नलगाडमा सोही व्यवहार दोहोर्याउन थालेको सचिवालयको भनाइ छ । पत्र काटेर फिर्ता पठाइदिन अधिकृत भट्टराईले नगरप्रमुख रावतलाई धम्की दिने गरेका छन् । अधिकृत भट्टराईको दबाबका कारण प्राविधिक शाखाका इञ्जिनियर उमेश खड्काले जागिरबाट राजीनामा दिई काठमाडौँ गएका थिए । नगरप्रमुखले सम्झाईबुझाई गरेर प्रमुख प्रशासकीय अधिकृतलाई काममा लगाएको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया