ऋण काढेर अस्थायी आवास बनाएका भूकम्प पीडित साहुको पेलामा

No description available.
जाजरकोट । बारेकोट गाउँपालिका —०२ रोकायगाउँकी सुनिता विकको घर गत कार्तिक १७ गतेको शक्तिशाली भूकम्पले चिराचिरा पारिदियो । भूकम्पले घर बस्न नमिल्ने बनाएपछि तत्काल त्रिपालमा उनको परिवार सर्याे । हिउँदे कठ्यारिदो जाडोमा उनको परिवारले आधा हिउँद काटे ।

त्यसपछि गत माघ पहिलो साता लाभग्राही कायम गरी स्थानीय सरकारले अस्थायी आवास वापतको पहिलो किस्ता २५ हजार रुपैयाँ उनको खातामा हालिदियो । त्यही २५ हजारको साहारामा उनले जस्तापाता खरिद गरिन् । ‘मैले ३० वटा जस्तापाता खरिद गरेकी थिए, त्यसको मुल्य ३७ हजार बढी भयो, उनले भनिन्, ‘खरिद वापतको भाडा र जस्ताको मुल्य त्यति प¥र्याे, स्थानीय साहुलाई दोस्रो किस्ता आएपछि बाँकी दिउँला भने अहिले पैसा आउने सुरसार छैन् ।’

‘साहुले अहिले पैसा दिनुहोस् भनेर हैरान पारेका छन्, चामल खाने पैसा छैन्, कहाँ बाट दिने ? उनले थपिन्, ‘हिजो मात्रै साहु आएर पैसा दिनुहोस्, चेक काट्नुहोस् भन्दै थर्काएर गए ।’ सोही गाउँका दानबहादुर कामीको घर पनि भुकम्पले भत्कायो । लामो समय त्रिपालमा बसेको उनको परिवारलाई माघमा सरकारले पहिलो किस्ता हालिदियो ।

पहिलो किस्तामा बाँकी साहु सँग उधारो राखेर अस्थायी आवास निर्माण गरे । पुरै जस्ताले अस्थायी आवास बनाएका उनले ६० हजार बराबरको आवास निर्माण गरेका छन् । उनले भने, ‘हामी सँग एउटा पैसा पनि थिएन्, सरकारले पठाएको २५ हजारमा ३५ हजार ऋण काढेर आवास बनायौं, साहुलाई दोस्रो किस्ता आएपछि पैसा दिउँला भनेर चेक समेत काटिदिएको छु । तर खातामा पैसा आएको छैन् साहुले पैसा माग्दै फोन गरिरहेका छन् ।’

गाउँमा फैलिएको अनिवार्य जस्ता खरिद गर्ने अफवाहले जस्ता खरिद गरे । गोजीमा सुक्को पैसा नभएका उनले ऋण काढेर समेत अस्थायी आवास बनाए । अहिले उनी साहुको चपेटामा छन् । पैसा कहिले दिनुहुन्छ भन्दै साहुले फोन गरिरहने गरेको उनले बताए । उनीहरु त उदाहरण पात्र मात्रै हुन् ।

जाजरकोटका अधिकांश भूकम्प पीडितहरुमा यो समस्या थपिएको छ । ऋण काढेर अस्थायी आवास निर्माण गरेका पीडितहरुलाई साहुले पैसा मागेपछि समस्या भएको हो । छिट्टै दोस्रो किस्ता पाईहाल्ने आशामा उनीहरुले जस्तापाताहरु पसलहरु उधारो खरिद गरे । साहुहरुले पनि दिए । तर अहिले भूकम्पको पाँच महिना पुग्दा समेत दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ता नआउँदा साहुको धम्की समेत सहनुपरेको कुशे गाउँपालिका —०४ का कालीबहादुर शाहीले बताए । दोस्रो किस्ताका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० बमोजिम विपद् पोर्टलमा इन्ट्री गर्नुपर्छ । अहिले यहाँका स्थानीय तहहरु विपद् पोर्टलमा भूकम्प पीडितको नाम सवमिट गर्न व्यस्त छन् । त्यो काम सकिएपछि सबै भूकम्प पीडितको खातामा दोस्रो किस्ता प्राप्त गर्ने भेरी नगरपालिका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको चैत्र १६ गते सम्मको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि १७ हजार ९४२ जनाको नाम विपद् पोर्टलमा समावेश गरिएको छ । कुल ४२ हजार ५२४ लाभग्राहीमध्ये आधा भन्दा कमको विपद् पोर्टलमा नाम समावेश गरिएको छ । भेरी नगरपालिकामा पाँच हजार २५४, नलगाड नगरपालिकामा ९७१, छेडागाड नगरपालिकामा चार हजार १३८, बारेकोट गाउँपालिकामा ८८०, कुशे गाउँपालिकामा १८०, जुनीचाँदे गाउँपालिकामा चार हजार १७४ र शिवालय गाउँपालिकामा दुई हजार ३२७ जनाको नाम विपद् पोर्टलमा इन्ट्री गरिएको छ । हाल सम्म ३१ हजार २९० वटा अस्थायी आवास निर्माण गरिएको छ ।

संस्थाहरुले एक हजार २७४ र स्थानीय सरकारहरुले ३० हजार १६ वटा अस्थायी आवास निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार अस्थायी आवासको पहिलो किस्ताका लागि ३९ हजार ५९५ जना भूकम्प पीडितले पालिका सँग सम्झौता गरेका छन् भने दुई हजार ९२९ जनाले पहिलो किस्ताका लागि अझै सम्झौता गर्न सकेका छैनन् ।

स्थानीय तहको ढिलासुस्तीका लागि भूकम्प पीडित दोस्रो किस्ताको विषयमा अन्यौलमा छन् । यहाँका स्थानीय तहले कामको गति बढाउनुपर्नेमा सरोकारवालाहरुको जोड छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० मा दोस्रो किस्ता निकासा दिनुभन्दा पहिले स्थानीय तहलाई विपत् पोर्टलमा लाभग्राहीको भत्काएको घर र अस्थायी आवासको फोटोसहितको विवरण अपलोड गरी ‘सबमिट’ गर्नुपर्ने प्रावधान राखेको छ ।

तपाईको प्रतिक्रिया