जाजरकोट । नलगाड नगरपालिका भित्रका केही वडाले अस्थायी आवासको दोस्रो किस्ता वापतको रकम पाउन वडा कार्यालयमा अनिवार्य जम्मा रकम गर्नुपर्ने निर्णय गरेको पाईएको छ । नगरपालिकाको वडा नं. ३ र वडा नं.७ ले दोस्रो किस्ताको रकम पाउन अनिवार्य रसिद काट्नुपर्ने निर्णय गरेका हुन् ।
वडा नं. ३ ले एक हजार सहयोगको रसिद अनिर्वाय काट्नुपर्ने निर्णय गरेको छ भने वडा नं. ७ ले पाँच सय रुपैयाँको रसिद काट्ने निर्णय गरेको भेटिएको छ । नेपाल सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि दुई किस्ता गरी रु.५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले अस्थायी आवास निर्माण गरे वापत कसैलाई पनि रकम तिर्नुपर्ने नियम बनाएको छैन् ।
तर नलगाड नगरपालिका भित्रका वडाहरुले मनपरी ढंगले वडाबासीहरु बाट पैसा उठाईरहेको वडा नं. ३ का स्थानीय हरीबहादुर थापाले बताए । ‘वडाको सर्वदलीय वैठकमा रकम नउठाउने भन्दै विरोध भएपनि, उनले भने, ‘वडाध्यक्षको मनपरी तन्त्रले नागरिकहरु पैसा बुझाउन बाध्य भएका छौं ।’ वडामा एक हजारको रसिद नकाटे दोस्रो किस्ताको रकम नदिने भनेपछि हामी रसिद काट्न तयार भएको अर्का स्थानीय प्रेम राज थापाले बताए ।
‘वडाले अनिवार्य एक हजार रकम जम्मा गर्नुपर्ने निर्णय गरेपछि हिजो मैले एक हजारको रसिद काटे, उनले भने, रसिद नकाटेपछि दोस्रो किस्ता नपाईने भनेपछि हामीले वडामा रसिद काट्यौं ।’ वडा नं. ३ मा धनबहादुर र प्रेम राज जस्ता ३८ जनाले एक हजारको रसिद काटिसकेका छन् । अर्थात वडा कार्यालयमा पैसा बुझाईसकेका छन् ।
गत फागुन २३ गते वडामा बसेको सर्वदलीय बैठकको प्रस्ताव नं ३ निर्णय नम्बर ३ मा लेखिएको छ, ‘प्रस्ताव नं. ३ मा व्यापक छलफल गर्दा यस नलगाड नगरपालिका वडा नं. ३ मा रहेका घरधुरी सर्वेक्षण लाभग्राहीहरु ६७४ मध्ये बाट विद्यालय, स्वास्थ्य लगायत सार्वजनिक भवन निर्माण जग्गा खरिद गर्नका लागि प्रति घरधुरी बाट न्यूनतम १००० ( अक्षरुपी एक हजार) र सो भन्दा माथि स्वच्छिक दरमा अनिर्वाय रकम संकलन गर्ने निर्णय सर्वसहमतिले निर्णय गरियो ।’
नेपाली काँग्रेस र एमाले वडा कमिटीको विरोध
नेपाली काँग्रेस र नेकपा एमालेको वडा कमिटीले विरोध जनाएका छन् । गत फागुन २३ गते बसेको सर्वदलीय वैठकमा उक्त पार्टीका प्रतिनिधीहरुले सहमति नजनाएको बताएका छन् । ‘हामीले एक हजार उठाउने कुरामा सहमति जनाएका थिएनौं, वडा कमिटीले मनपरीतन्त्रले लागु गरेको रहेछ, हामीले सर्वदलीय बैठकको निर्णयमा हस्ताक्षर नगरी फर्किएका थियौैं, नेकपा एमाले वडा कार्य समितिका अध्यक्ष धनबहादुर थापाले भने, वडा समितिले सर्वदलीय निर्णय नभई आफ्नो निर्णय लादेको छ ।’ नेपाली काँग्रेस र नेकपा एमालले वडा नं. ३ ले गरेको निर्णयको विरोध गरेका छन् । उनीहरुले संयूक्त विज्ञप्ती प्रकाशन गरी वडा समितिको निर्णय फिर्ता लिन माग समेत गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘यस नलगाड नगरपालिका वडा नं. ३ को वडा समितिले मिति २०८० कार्तिक १७ गते राती करिब ११ः ४७ बजे गएको विनाशकारी भूकम्पले गरेको क्षतिले नलगाड नगरपालिकाको वडा नं.३ वडा समितिले वडा स्तरको सर्वदलीय संयन्त्रको सहमति नभई आफ्नो निर्णयका साथ दोस्रो किस्ताको भुक्तानी बाट रु १००० (अक्षरुपी रु एक हजार ) कटौती गर्ने निर्णय गरी प्रत्येक घरधुरी बाट एक हजारको दरले नगद रसिद काटिरहेकोले उक्त निर्णय प्रति नेपाली काँग्रेस र नेकपा एमाले घोर भत्सर्ना विरोध र निन्दा गर्दै सामुहिक रुपमा विज्ञप्ती सार्वजनिक गर्दछौं ।’
स्वास्थ्यको भवन निर्माणका लागि सहयोग मागिएको हो : वडाध्यक्ष विष्ट
वडा भित्रको स्वास्थ्य चौकी निर्माणका लागि सहयोग मागिएको वडा नं. ३ का वडाध्यक्ष कौशिबहादुर विष्टले बताए । पहिले भएको स्वास्थ्य चौकीको जमीन धेरै नभएको र केही जमीन खरिद गरी नयाँ भवन निर्माणका लागि सहयोग मागिएको बताएका छन् ।
उनले भने, ‘अहिलेको स्वास्थ्य चौकीको भवन सानो छ, त्यसको सेवा विस्तारका लागि एउटा संस्थाले जग्गा खरिद गर्नुहोस् भवन बनाईदिन्छौं भनेपछि एक हजार रुपैयाँ उठाउने निर्णय भएको हो ।’ यसमा नागरिकलाई कुनै असर नपर्ने नगरी सहयोग मागिएको समेत अध्यक्ष विष्टले दावी गरे ।
अहिले स्वास्थ्य र शिक्षाको भवनको अभाव छ, सहयोग जुट्याएर भवन बनाउने निर्णय गरेको उनको भनाई छ । यता, नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले यो विषयमा कुनै जानकारी नभएको बताए । ‘म अहिले काठमाण्डौमा छु, उनले भने, वडाको सर्वदलीय वैठकलाई त्यसको जिम्मेवारी दिएको छु, मलाई ठ्याक्कै जानकारी भएन, यसको विषयमा वडाध्यक्षलाई सोध्नुहोस् ।’
वडा कार्यालयले भूकम्प पीडितका लागि दोस्रो किस्ता बाट रकम उठाउनु निकै गलत काम भएको अधिकारकर्मी दिनेश श्रेष्ठले बताए । यति वेला भूकम्प पीडितलाई मलम चाहिएको भन्दै श्रेष्ठले जथाभावी पैसा उठाउनु निकै गलत र संघीय सरकारले गरेको निर्णयको धज्जी उडाएको उनको भनाई छ ।
‘वडा कार्यालयले विभिन्न बहानामा पैसा उठाउनु निकै गलत हो, उनले भने, ‘स्वास्थ्य र शिक्षाको भवन निर्माणका लागि अनेत्र बाट पैसा संकलन गर्ने पाइन्छ तर भूकम्प पीडितको रकम कटौती गर्नु धेरै गलत कार्य हो ।’ नगरपालिकाको वडा नं. ७ ले पनि पैसा उठाएको स्थानीयले गुनासो गरेका छन् । वडाबासीहरु बाट ५ सय रुपैयाँ लिईरहेको स्थानीयले बताएका छन् । यस विषयमा वडामा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
हाम्रो पहुँच संवाददाता । ११ चैत्र २०८०, आईतवार