जाजरकोट । जिल्लाको भेरी नगरपालिका‒१ रावतगाउँका एक बाबुछोराको तीस बर्षपछि भेट भएको छ । रावतका ८५ बर्षिय नदे कामी र उनका ५५ बर्षका छोरा हर्कबहादुर कामी वीच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस बर्ष पहिले वेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए ।
भारतको कोलकताको एउटा अस्पतालमा उपचाररक्त रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्ज गणेश महरले बताए । ‘मामा कोलकतामा उपचार गराईरहनुभएको रहेछ, २०१५ देखि मामा अस्पपालमा भर्ना हुनुभएको रहेछ, उनले भने, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भयो ।’
गणेश हर्कलाई लिन भारतको कोलकता समेत गएका थिए । भारतदेखि गणेश सहयोगी बनी घर सम्म पुर्याए । आइतबार हर्कबहादुर घर फर्कने भन्ने सूचना पाएपछि गाउँभरीका आफन्तहरु हातमा माला र टिका लिएर बसिरहेका थिए ।
तीस बर्षपछि छोरा सँग भेट्न पाएपछि बाबु नदे कामीले आँखा बाट आसु खसालिरहेका थिए । ‘मलाई लागेकै थिएन छोरा सँग भेटघाट हुन्छ भन्ने, उनले भने, ‘हामी कहिल्यै भेट्न सक्दैनौ होला जस्ता लागेको थियो, आज भगवानको कृपाले छोरा सँग भेटभयो ।’ उमेरले आठ दशक भन्दा बढी काटिसकेका नदे कामीले छोरा घर फर्केपछि खुशीयालीको आँसु रोक्न सकेनन् । नदेका पाँच छोरीहरुमा एउटा मात्रै छोरा थिए हर्कबहादुर । नदे कामी धर्मकर्ममा निकै विश्वास राखेका कारण लामो समय देखि शिवालय मन्दिरमा बस्छन् । दिदीबहिनी एउटा मात्रै भाई घरमा आउँदा खुशीका आँसु रोक्न सकेनन् दिदीबहिनीहरुले ।
उमेरले ६० काटिसकेकी महिमा चनारा आफ्नो भाई हर्कबहादुर घर आएपछि खुशीको आँसु रोक्न नसकी भाईलाई अंकमाल गरिन् । ‘आज हामी सँग खुशीको सीमा नै छैन्, मेरो भाई यसरी घर आउला भन्ने सोचेकै थिईन् उनले भनिन्, ‘हामीले माया मारिसकेका थियौं, भाई आउँदा रित्तो घर भरिएको छ ।’
उनका पाँच दिदीबहिनी मध्ये एक बहिनी भाईलाई भेट्ने सपना पुरा नहुँदै संसार छोडिन् । हर्कबहादुर आउँदा घर परिवार मात्रै होइन् खुशी छैनन्, गाउँका आफन्त इष्टमित्र समेत खुशीले गदगद छन् । २०५०÷०६० को दशकमा उनी घर बाट वेपत्ता भएका थिए । परिवारको सम्पर्कमा नभएका हर्कबहादुर मानसिक रुपमा कमजोर छन् ।
भारतको कोलकतामा मानसिक रोगको उपचार गराईरहेका थिए । उमेर ५५ नाघेका हर्कबहादुरलाई मानसिक रोगको उपचारका लागि काठमाण्डौ सम्म लिनुपर्ने भान्ज गणेश महरले बताए । ‘केही औषधी लिएर आएका छौं, उनले भने, ‘औषधी सकिएपछि मामालाई काठमाण्डौ लिएर जानुपर्ने देखिन्छ ।’ आर्थिक सहयोगका लागि समेत उनले अपिल गरे ।
‘हाम्रो एउटा मामालाई भेटन पाउँदा हामी निकै खुशी छौं, उनले थपे, ‘हामी परिवारको एक मात्र मामालाई भेटाएपछि हामी निकै खुशी छौं ।’ हर्कबहादुरले आफ्नो जीवनको महत्वपूर्ण समय भारततिरै विताए । ‘छोराले केही गर्न नसकेपनि मरेका दिन कात्रो सम्म किनेर लास त जलाउला उनका बुवा नदे कामीले भने, ‘छोराको यादमा धेरै रातहरु रोएर विताएको छु ।’
हाम्रो पहुँच संवाददाता । १२ चैत्र २०८०, सोमबार