जाजरकोट । डोल्पा —जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ । नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन् । दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो ।
वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती लगाए पनि हिउँदयाममा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझै रहने गरेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढ्ने भएकाले सिँचाइ गरी बाली लगाउने कृषक हिउँदयाममा खोलामा पानी सुक्दा पानी अभावमा जमिन बाँझो राख्न बाध्य छन् ।
नलगाड नगरपालिकाको तल्लुवगर, रुकुम पश्चिमको छर्रेबर्गी, अनाह, मन्मै, भेरी नगरपालिकाको रिम्ना, कुदु, आली र भुरचौरलगायत ठाउँमा भेरी नदीबाट सजिलै पानी तान्न सकिने भए पनि कृषकसँग आवश्यक बजेट नहुँदा समस्या भएको मन्मैका कृषक प्रेमबहादुर खत्रीले बताए । लिफ्टिङ प्रणालीबाट पानी तानेर सिँचाइ गर्न सकिने भए पनि आर्थिक हैसियत नभएको जनाउँदै जमिन बाँझो राख्न बाध्य भएको उनले सुनाए ।
त्यस्तै डोल्पा, रुकुम पश्चिम र सुर्खेतका राकमलगायत ठाउँमा समेत भेरी नदीको पानी तान्न सकिने सम्भावना रहँदै आएको छ । स्थानीय सरकारले ठूला लगानीका योजना सञ्चालन गर्न नसक्ने र केन्द्र सरकारले खासै ध्यान नदिँदा वर्षेनी उत्पादनशील जमिन सिँचाइ अभावमा बाँझै राख्नुपरेको कृषकले पीडा सुनाएका छन् ।
‘घरको आँगनबाटै भेरी नदी उर्लिएर बगेको देखिन्छ, तर हाम्रा जमिन पानी अभावमा बाँझै रहँदा मन दुखेर आउँछ, तर के गर्नु हामीसँग पैसो छैन पानी तान्न’, भेरी नगरपालिका–११ का आकाश बटालाले भने । जिल्लाका अधिकांश खेतहरु बाँझै रहेका छन । सिंचाईको अभाव छ, उत्पादन नभएपछि धेरै मानिसहरु भारत तिर गईरहेका छन् । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिँचाइ सुविधा नभएका कारण यहाँका अधिकांश किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हन् ।
जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदे याममा आफ्नो खेतबारी बाँझै रहने गरेको बारेकोट गाउँपालिका —०३ का मुस्कान पहाडीले बताए ।
केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरेपनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहेको भेरी नगरपालिका–१ श्यामलाल रानाले बताए । आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेको रानाको भनाइ छ ।
सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबाली समेत लगाउने गरेको कुशे गाउँपालिका–५ का विनोद मल्लले बताए । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ । आकाशे पानीको भरमा बाली लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेका स्थानीय किसानको भनाई छ । जिल्लाका अझै कति जमीन बाँझो छ भन्ने तथ्यांक समेत कुनै सरकारी कार्यालय सँग छैन् । जिल्लाका सात वटै स्थानीय तहका अधिकांश जमीन बाँझो छ ।
भारत लगायतका खाडीमुलुकहरुमा काम गर्ने जानेको संख्या बढिरहेको छ । ‘उत्पादन हुने जमीन बाँझै छ यूवाहरु सबै विदेश तिरको तयारीमा छन् कसरी हाम्रो जिल्लामा रोजगारी हुन सक्छ, भेरी नगरपालिका १० का दिपेन्द्र विश्वकर्माले भने, ‘हामी पनि बाहिर जाने तयारीमा छौं, यहाँ गरी खाने वातावरण छैन ।’ प्रत्येक बर्ष सिंचाईका लागि धेरै बजेट छुट्याएपनि सही रुपमा सदुपयोग हुन नसकेको किसानको गुनासो छ । नामका मात्रै सिंचाई आयोजनाले सिंचाईमा प्रगति हुन नसकेको कृषकको भनाई छ ।
हाम्रो पहुँच संवाददाता । १० चैत्र २०८०, शनिबार