रोकिएन् अवैध चोरी शिकारी, लोपउन्मुख वन्यजन्तु सिकारीको निशानामा.

स्थानीय सरकार र डिभिजन वन कार्यालयले चोरी शिकारी रोक्नका लागि कुनै पनि पहल गरेका छैनन् । बरु सरोकारवाला निकायहरुको समेत मिलेमतो हुने गरेको स्थानीयको आरोप छ ।

जाजरकोट । बारेकोट गाउँपालिका भित्रका सामुदायिक जंगलहरुमा अवैध बन्दुकहरुको आवाज ठूलो स्वरले सुनिन्छ । त्यो आवाज अरु केही प्रयोजनका लागि नभई जंगली वन्यजन्तुहरु माथि प्रहार गरेको हो । बन्दुक नत लाइसेन्स प्राप्त हुन् । न उनीहरुलाई शिकार गर्ने अधिकार दिईएको छ ।

अवैध रुपमा केही स्थानीय सिकारीहरुले बन्दुकको प्रयोग गरिरहेका छन् । लोपउन्मुख वन्यजन्तु कस्तुरी, मृग, रेडपाण्डा, भालु, बाघ, चिरकालिज, बदेल, रतुवा, झारल जस्ता वन्यजन्तुको चोरी सिकारी भईरहेको बारेकोट गाउँपालिका —०४ का मोहन सिंहले बताए । ‘बारेकोटमा विश्वमै लोपउन्मुख वन्यजन्तु पाइन्छ तर उनीहरुको चोरी शिकारी भईरहेको छ, उनले भने, ‘चोरी शिकारी रोक्नका लागि सरकारी पक्षको कुनै पहल भएको छैन् ।’

बारेकोटका सामुदायिक वनहरुमा वन्यजन्तुका लागि फलामे पासो, पासा, नाइनलको पासो, प्लाष्ट्रिक पासो अवैध रुपमा प्रयोग भईरहेको उनले बताए । चीरकालिज लगायतका लोपउन्मुख पंक्षीहरुको अवैध चोरी शिकारी भईरहेको छ । बारेकोट गाउँपालिका मात्र जिल्लाका सात वटै स्थानीय तहहरुमा चोरी शिकार भईरहेको छ । कुशे गाउँपालिकामा समेत अत्याधिक मात्रामा अवैध चोरी शिकारी भईरहेको स्थानीय रशेम पौडेलले बताए ।

‘यहाँ पनि अत्याधिक रुपमा वन्यजन्तुको चोरी शिकारी भईरहेको छ, उनले भने, ‘यस्तो अवस्था रोक्नका लागि कसैले पहल गर्न सकेको छैन्, विश्वमै लोपउन्मुख वन्यजन्तु यहाँ पाइन्छ चासो कसैले लिएको छैन् ।’ स्थानीय सरकार र डिभिजन वन कार्यालय मुखदर्शक जस्तै बनेका देखिन्छन् । उनीहरुले कुनै यस्तो जनचेतनामुलक कार्यक्रम र योजना बनाउन नसकेको पशुपंक्षी संरक्षक गोविन्द्रबहादुर सिंहले बताए ।

‘अवैध रुपमा यहाँका स्थानीय तहहरुमा चोरी शिकारी भईरहेको छ, तर सरकारी पक्षले कुनै पनि पहल गरेको छैन् उनले भने, ‘हामीलाई अहिले निकै चिन्ता लागिरहेको छ ।’ स्थानीय तहका जनप्रतिनिधीहरुले वन्यजन्तु संरक्षणमा ध्यान दिन नसकेको गुनासो गरे । अवैध रुपमा जंगलमा राखिएका छ सय भन्दा बढी पासोहरु संकलन गरी डिभिजन वन कार्यालयमा बुझाएको समेत सिंहले बताए । बच्चाबच्चीहरुले प्रयोग गर्दै आएका सयौंको संख्यामा गुलेली बरामद गरी नष्ट गरेको उनको भनाई छ । तर सरकारी पक्षले उनलाई अभियानमा साथ नदिएको गुनासो गरे ।

जिल्लामा भईरहेको चोरी शिकारी रोक्नका लागि सरकारी पक्षको पहल निकै कम रहेको उनले बताए । डिभिजन वन कार्यालयले समेत कुनै काम गर्न सकेको छैन् । यता, डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दासले वन्यजन्तुको चोरी शिकारी सम्बन्धी कुनै उजुरी, गुनासो नआएको बताए । ‘अहिले सम्म हामीलाई त्यस्तो गुनासो आएको छैन् उनले भने, ‘गुनासो आएपछि अथवा उजुरी आएपछि हामीले प्रक्रिया अघि बढ्छौं ।’ आगामी दिनमा वन्यजन्तुको चोरी शिकारी रोक्नका लागि सब डिभिजन देखि सामुदायिक वनहरुलाई परिचालन गर्ने प्रमुख दासले बताए । गस्तीको दर बढाउने र त्यस्तो भेटिएमा कानुनी दायरामा ल्याउने उनको भनाई छ । प्रहरी सँग साझेदारी गरेर अवैध चोरी शिकारी रोक्न पहल गर्ने प्रमुख दासले बताए ।

अलपत्र कस्तुरी प्रजनन् केन्द्र
बारेकोट गाउँपालिका —०९ सक्लामा स्थापना हुन लागेको कस्तुरी प्रजनन् केन्द्र अलपत्र जस्तै बनेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत बन्न लागेको प्रजनन् केन्द्र अहिले अलपत्र जस्तै बनेको हो । केही बर्ष अघि एक करोडकै हाराहारीमा बजेट बिनियोजन गरिएपनि अहिले सम्म प्रजनन् केन्द्र सञ्चालनमा आउन सकेको छैन् । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन वा डोल्पाबाट बीउ कस्तूरी ल्याएर प्रजनन केन्द्र स्थापना गर्ने योजना थियो । नेपालमा पनि वन्यजन्तु प्रजनन र व्यावसायिक पालनका लागि कानुन निर्माण भइसकेको छ ।

मासुको लागि चोरीसिकारी हुने जरायो, चित्तल, रतुवा, घोरल, बँदेललगायत वन्यजन्तु पाल्ने नियमावली पास भइसकेको छ । सक्लामा बन्न लागेको कस्तुरी प्रजनन् केन्द्र कहिले बन्ला भनेर स्थानीय चिन्तामा छ । जाजरकोटमा बन्न लागेको प्रजनन केन्द्र अलपत्र बनेको छ ।

स्थानीय सरकारको प्राथमिकता परेन् वन्यजन्तु संरक्षण
जिल्लाका सात वटै स्थानीय तहहरुले वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राख्न सकेका छैनन् । वन्यजन्तु सम्बन्धी ऐन, कानुन, निमावली, कार्यविधी समेत बनाउन सकेका छैनन् । विश्वमै लोपउन्मुख रेडपाण्डा, चिरकालिज जाजरकोटका जंगलमा भेटिन्छन् तर स्थानीय सरकारले संरक्षण सम्बन्धी कुनै नीति, निर्माण गर्न सकेका छैनन् । स्थानीय तहहरुले वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा नराखेको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया