जाजरकोट । जिल्लाको कुशे गाउँपालिका– ०१ की मायादेवी शाही जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छटपटाईरहेकी थिईन् । डाक्टरले उनका श्रीमान पदम सिंहलाई रगत अभाव छ रगतको खोजी गर्नुहोला भने ।
पदम रगतको खोजीमा जुटे । तर कतै भेटाएनन् । पछि त्रिभुवन माद्यामिक विद्यालय खलंगाकी शिक्षिका पार्वती थापाले रगत दिएपछि मायादेवीको ज्यान बच्यो । गत बर्ष नलगाड नगरपालिका —०६ की विमला विकलाई पनि सुत्केरी व्यथा लाग्यो । उनलाई जसोतसो आफन्तले जिल्ला अस्पताल पुगाए । उनको पेटमै बच्चा मरेपछि शल्यक्रिया गनुपर्ने भयो । उनलाई रगत अभाव देखियो । रगत चढाउन हारगुहार गर्नुप¥यो । बी पोजेटिभ रगतका लागि उनका आफन्तले धेरै व्यक्तिसँत सम्पर्क गरे । खोजेको झन्डै १२ घन्टापछि मात्र उनलाई जिल्ला प्रहरी कार्यालयका एक प्रहरी जवानले रगत दिए ।
त्यसपछि उनको ज्यान बच्यो । कतिपय विरामीलाई अस्पतालमा कार्यरत कर्मचारीले समेत रगत दिएर बचाउनुपर्ने अवस्था छ । अस्पतालमा कार्यरत कर्मचारी प्रेम वलीले धेरैलाई रगत दिएर बचाईरहेका छन् । वलीले भने, ‘हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव छैन,’ उनले भने, ‘कहिलेकाहीँ शल्यक्रिया गर्दागर्दै आफैंले पनि रगत दिनुपर्ने बाध्यता छ ।’ जिल्लामा ‘ब्लड बैंक’ नहुँदा बिरामी र उनीहरूका आफन्तले लामो समयदेखि सास्ती भोग्नुपरेको छ । हरेक दिनजसो जिल्ला अस्पतालमा ब्लड खोज्नेहरूको दौडधुप भइरहन्छ । जिल्लामा ‘ब्लड बैंक’ स्थापनाको लागि प्रयास पटकपटक गरिए पनि सफल भएको छैन ।
जिल्ला अस्पतालमा सेना, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र अरू व्यक्तिबाट रगतको पूर्ति भइरहेको छ । बिरामीले रक्तदान गर्ने मानिससमेत फेसबुकमार्फत खोज्नुपर्ने बाध्यता भएको अभियन्ता प्रेम विश्वकर्माले बताए । ‘उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने अर्को तनाव व्यहोर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यसको अन्त्यका लागि ब्लड बैंक स्थापनाको विकल्प छैन ।’ केही महिनाघि उनले पनि आफन्तको लागि रगत खोज्न ठूलो दुःख व्यहोर्नुपरेको थियो ।
विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ । अहिले जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थाले समूह मिल्ने व्यक्तिको खोजी गरेरै रगतको आपूर्ति गरेका छन् । ‘रगत खोज्नुपर्ने बाध्यता कहिल्यै हटेन,’ स्थानीय रमेश शाहीले भने, ‘यसको सुनुवाइका लागि कोही अघि सरेको देखिएन ।’ गर्भवती अवस्थामा पोषिलो खानपान अभाव, अधिक कामको चाप र बच्चा धेरै जन्माएका कारण अहिले सुत्केरी हुँदा रक्तश्राव भएको चिकित्सकको भनाइ छ ।
बर्सेनि अधिक रक्तश्राव, रगत अभाव र समयमै उपचार नपाउँदा यहाँका कैयौं सुत्केरीले ज्यान गुमाउनुपरेको छ । सबैभन्दा धेरै मातृ मृत्युदर जिल्ला भित्र जाजरकोट पर्दछ । यहाँ बर्सेनि धेरै महिलाले रगत अभावकै कारण सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
जाजरकोटमा आवश्यक रगत संकलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैंक छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको अवस्था छैन । रगतका लागि सबै अस्पतालमा समस्या उस्तै छ । ५० शैयाको जिल्ला अस्पताल रहेको खलंगामा रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प देखिएको छ । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गनुपर्ने बाध्यता छ ।
कतिपय ठाउँमा सडकको सहज पहुँचका नभएका कारण समयमै अस्पताल पु¥याउन नसक्दा सुत्केरीको ज्यान जाने गरेको छ । केही अस्पताल पुगे पनि आवश्यक रगत नपाउँदा ज्यान जाने गरेको स्थानीय बताउँछन् । रगत आवश्यकता परे दाता खोज्नुपर्ने स्थिति रहँदा बिरामीको ज्यान जोखिममा रहेको छ ।
५० शैयाको अस्पताल सञ्चालनमा आइसके पनि अस्पतालमा ब्लड बैंक स्थापना गर्ने कुनै पहल भएको छैन । ब्लड बैंक स्थापनाका लागि पहिले नै पहलकदमी गरिएपनि अस्पतालमा ब्लड बैंक स्थापना गर्न सकिएको छैन् । अहिले सम्म जिल्लाका रगत संकलनमा हजारौ दाताहरुले रगत दिई सकेका छन् । अधिकांश स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनुपरेको छ ।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले पटकपटक रगत दान गरिरहेका छन् । अस्पतालकै कर्मचारी प्रेम वलीले १६ पटक सम्म रगत दान गरिसकेका छन् । रातिका बेला रगत चाहिएमा अस्पतालका स्वास्थ्यकर्मीले नै दिनुपर्ने बाध्यता छ ।
अहिले संकलन केन्द्र नहुँदा बिरामी उपचार कक्षमा छाडेर रगत खोजीमा हारगुहार माग्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । सदरमुकामको अवस्था दयनीय हुँदा दुर्गम गाउँका बिरामीलाई झनै सास्ती छ । आर्थिक रूपमा सक्षम समुदायले हेलिकोप्टर चार्टर्ड गरेर सहरका सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्छन् । तर पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको स्थानीय बताउँछन् ।
जिल्लामा ब्लड बैंक स्थापना गर्ने अधिकार नेपाल रेडक्रसलाई हुने भएपनि कुनै पहल हुन नसकेको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले बताए । ‘ब्लड बैंक स्थापनाका लागि पहिले नै पहल भएको तर, अहिले सम्म स्थापना भएको छैन, उनले भने, ‘यसमा रेडक्रसको प्रमुख भूमिका रहन्छ, आवश्यक छ भनेर पहिले नै जानकारी दिएको स्थापना हुन सकेको छैन् ।’
नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हरीबहादुर बस्नेतलाई सामाजिक सञ्जाल फेसब्ुकको म्यासेन्जरमा सोध्दा कुनै जवाफ यो समाचार तयार पार्दा सम्म आएको छैन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश गम्भीर प्रकृतिका बिरामीले सुरक्षित रूपमा उपचार पाउन सकेका छैनन् ।
हाम्रो पहुँच संवाददाता । ९ चैत्र २०८०, शुक्रबार