मास्टर डिग्री सकेर सिलाईकटाईमा जमेका भीम गर्छन् लाखौको कमाई

No description available.
जाजरकोट । देशमा केही सम्भावना छैन् भन्दै वैदेशिक रोजगारीमा जाने यूवाहरुका लागि प्रेरणाका स्रोत हुन् भीम । कुशे गाउँपालिका ५ घरंगाका भीमसागर परियारले सिलाईकटाई व्यवसाय गर्न थालेको १८ बर्ष जति भयो । २०४६ साल फागुन २९ गते वुवा लक्षे दमाई र आमा कल्दरी दमाईको कोख बाट माईलो सन्तानका रुपमा साविकको पैक गा.वि.स.मा उनको जन्मभयो । उनका वुवा पनि सिलाईकटाईमा पोख्त भएका कारण उनलाई सीप सिक्ने निकै सजिलो भयो ।

सिलाईकटाई व्यवसाय भन्दा विद्यालय पढ्न रुचाउने भीम घरको आर्थिक अभावका कारण विद्यालय पढ्न भने निकै समस्या भयो । उनले भने, ‘सानोमा विद्यालय जान समेत निकै समस्या भयो, विद्यालय भर्ना समेत गर्ने पैसा नहुँदा ठुलो उमेर सम्म विद्यालय जान पाईन ।’ घरको आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका परियार कक्षा तीन सम्म रहेको कालिका प्राथमिक विद्यालय जन्तालामा पढे ।

त्यहाँ पढ्ने सम्म उनी कहिल्यै दोस्रो भएनन् । गाउँमा भएको अन्धविश्वासका कारण उनका भाईको मृत्यु भएका कारण २०५४ सालमा उनीहरुले गाउँ नै छोडे । त्यसपछि उनले दीपेन्द्र माद्यामिक विद्यालय घरंगामा ५ कक्षा बाट पढाई सुरु गरे ।

त्यहाँ पनि प्रथम नै भए । त्यसपछि कक्षा ६ देखि पंैकमा पढ्नुपर्ने बाध्यता थपियो । पढाईमा जेहेन्दार, मिहिनेती र लगनशील उनलाई कापी कलम जुट्यान मुस्किल हुन्थ्यो । उनले भने, ‘त्यो अवस्थमा कोही मेरेको मान्छेको बाजा बजाएर बचेको पैसा अरु साथीहरु खाएर विताउथे, म पढाई खर्च गर्न जुट्याउँदै हुन्थे, त्यसपछि निकै समस्या भएपछि १२ बर्षको उमेर बाट सिलाईकटाई सुरु गरे ।’

तत्कालिन समय माओवादी जनयूद्धका कारण पनि उनले विद्यालयमा पढ्ने प्रेरणा मिलेको बताए । उनले सुनाएको अनुभवमा, ‘हरेक साँझ माओवादीहरुको हाम्रो घरमा गोष्ठी हुन्थ्यो, त्यहाँ छलफल गरिन्थ्यो, पढाई विना अरु केही गर्न सकिदैन, त्यसपछि झन् मलाई पढ्ने निकै प्रेरणा मिल्यो, त्यसपछि सिलाईकटाई व्यवसाय र पढाई संग संगै लिए, गाउँकै विद्यालय बाट बाह्र कक्षा सम्म अध्ययन पूरा गर्न सफल भए ।’

त्यहाँ बाट गाउँमा रहेको व्यवसायलाई २०६७ सालमा किनेर उनले आफै सञ्चालन गरे । पढाई संगै व्यापारमा जमेका उनलाई हरेक दिनहरु चूनौतीपूर्ण बनेर आए । तर उनले हरेस खाएनन् । अहिले उनले मास्टर डिग्री सम्मको पढाई भ्याए । भेरी ज्ञानोदय बहुमुखी क्याम्पस खलंगा बाट शैक्षिक व्यवस्थापन प्रणाली बाट मास्टर डिग्री भ्याएर आफ्नो पेशामा जमिरहेका छन् । कसरी पढ्ने होला भनेर सोचेको भीमसागरको पढाई डिग्री सम्म पुग्यो केही गर्ने सपना बोकेका यूवाको सोचलाई कसैले छेक्न सक्दैन भन्ने पुष्टी हुन्छ । पढाई संगै व्यवसाय पनि उसैगरी फस्टाउन सफल भए । अहिले उनी बार्षिक लाखौंको कमाई गर्ने बताउँछन् । उनको पसलमा केही जना भन्दा बढी कालिगढहरुले काम गरिहरेका छन् । मासिक लाखौं कमाई गर्ने उनले वेरोजगारी यूवाहरुलाई रोजगारी समेत दिएका छन् ।

३० जना भन्दा बढीलाई सीप सिकाए
भीमले हाल सम्म तीस जना भन्दा बढी बेरोजगारी यूवायूवतिहरुलाई सीप सिकाई सकेका छन् । आफ्नै खाना, बास, लगायत गरी उनीहरुलाई सेवा सुविधा दिई सीप सिकाउन लागि परेका छन् । बेरोजगारी यूवाहरुले भोकभोकै मर्न नपरोस् विदेशी भुमिमा गई काम गर्न नपरोस् भन्दै यूवाहरुलाई सीप सिकाईरहेको उनले बताए ।

उनले भने, ‘सीप सिक्न चाहानेहरुका लागि हामी तयार छौ, अहिले सम्म ३० जना भन्दा बढीलाई सीप दिएर हामी भन्दा राम्रो गर्ने भईसकेका छन् ।’ यहाँका स्थानीय सरकार, अन्य सरकारहरुले हाम्रो आवश्यकता बुझि काम गरिदिए अझै धेरै गर्न सकिने बताए । ‘नेपालमा काम छैन भन्दै वैदेशिक रोजगारीमा जाने यूवाहरुले नेपालमै केही गर्न सकिन्छ, सीप कुनै सानो ठुलो हुदैन् त्यसैले हामीले गर्न जुरुरी छ’ भीमसागरले भने ।

कुनै वेला दमाई जातीले मात्र गर्ने पेशा भन्दै अवहेलना गर्ने साथीहरुले अहिले लागेको समेत बताए । हामी त केही होइनौ, नेपालमा धेरै जनाले यस पेशा बाट जिन्दगी बदलेका छन् । वैदेशिक रोजदागारीमा भई दुःख पाउनुभन्दा आफ्नै देश भित्र कुनै व्यवसाय गर्दा जीन्दगी परिवर्तन मात्र होइ्न नाम, दाम र कामको चिन्ता समेत हुदैन् भन्ने पुष्टी गरेका छन् । जाजरकोट कपडा तथा सिलाई कटाई व्यवसायका सचिव समेत भीम रहेका छन् ।

लाखौंको कमाई
सिलाईकटाई व्यवसाय बाट महिनामै लाखौं कमाई भईरहेको भीम बताउँछन् । पछिल्लो समय भूकम्प पछि व्यापार घटेको उनको भनाई छ । ‘अहिले यति नै कमाई हुन्छ भन्ने अवस्था छैन्’ उनले भने, ‘भूकम्पपछि निकै व्यापार घटेको छ ।’ देश संघीयता गएपछि सदरमुकाम खलंगाको व्यापार घटेको थियो ।

भूकम्पले व्यापारमा निकै असर पारेको परियारको भनाई छ । ‘पहिलेको जस्तो कमाई छैन् उनले भने, ‘अहिले व्यापार घटिरहेको छ, एक दुई जनालाई व्यवस्थापन र आफुलाई खाना बस्न भईरहेको छ ।’ सिलाईकटाईमा राम्रो सम्भावना छ । व्यवसायमा लागेका व्यवसायीहरुलाई सरकारले अनुदानका कार्यक्रम दिनुपर्ने बताउँछन् । मेशिन खरिदमा अनुदान दिई व्यवसायलाई अझ थप प्रभावकारी बनाउन सहयोग गर्दा निकै राम्रो हुने विश्वास परियारको छ ।

तपाईको प्रतिक्रिया