सुर्खेत । कर्णालीलाई चिन्ने, चिनाउने बहस विमर्श र विचारको उत्सव ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण सुरु भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बुलेबुले उद्यानमा आजदेखि सुरु भएको कर्णाली उत्सवको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने उत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख परियारले कर्णाली उत्सवले आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणमा टेवा पुर्याउने बताउनुभयो । उहाँले नीति निर्माण, आर्थिक समृद्धि तथा कर्णाली चिन्न चिनाउन, यहाँका सम्भावना पहिचान लगानीमैत्री वातावरण सृजनाका निम्ति उत्सवले पुलको काम गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “समृद्ध कर्णाली निमार्णका लागि विगत चार वर्षदेखि छेडिएको यो बहसले कर्णालीको विकास र नीति निर्माण तहमा बसेकालाई जबाफदेही बनाउन मदत गरेको छ । कर्णालीमा गरिबी, अशिक्षा, बेरोजगारी मात्रै छैन । यहाँ कृषि, पर्यटन, जडीबुटी, भाषा, साहित्य र संस्कृतिको प्रचुर सम्भावना छन् । काठमाडौँ बसेर कल्पना गरिएको भन्दा कर्णाली फरक छ भन्ने देखाउन पनि यो बहसले विशेष महत्व राखेको छ।”
भौतिक विकासले मात्रै समाज रूपान्तरण सम्भव नरहेकोले सामाजिक रुपान्तरणका लागि तीनै तहका सरकारले नागरिकका गुनासा सुन्ने पद्धतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बहसबाट उठेका कुरालाई अभिलेखीकरण तथा सरकारले नीति कार्यक्रममा समेटेर समृद्धि कर्णाली निर्माणका निम्ति जुट्नुपर्नेमा जोड दिनुभयो ।
उत्सवको उद्घाटन सत्रमा राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठले बहसमा लगानी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले नीति बहसको महत्व, नेपाल सरकारका सचिव केवल भण्डारीले कर्णाली प्रेमबारे अनुभव राख्नुभयो । डा.सुधा शर्माले प्रसूति र पृत्रिसत्ता बारे विद्युत् प्रवचन दिनुभयो ।
कर्णालीको अधिकांश किशोरी महिलाहरू अझै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँचबाट टाढा रहेको डा.शर्माले उल्लेख गर्नुभयो । गर्भमै छोरी भए भ्रूण हत्या गर्ने, सानोमै विवाह गर्ने, महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने जस्ता पितृसत्तात्मक सोच कर्णालीमा विद्यमान रहेकोले कर्णाली उत्सवजस्ता बहसमा महिला र स्वाथ्यका विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठले कर्णाली उत्सवसँग जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । “बैंकले व्यापारिक प्रर्बद्धनका लागि मात्र लगानी गर्दैन” , उहाँले भन्नुभयो, दुर्गम क्षेत्रको विकास तथा सरकारलाई नीति निर्माणमा सघाउ पुराउने, दूर दराजका समस्याहरूको विषयमा विमर्श हुने कर्णाली उत्सव जस्ता विचारका कार्यक्रममा समेत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्दै आएको छ ।”
राष्ट्रिय वाणिज्य बैंकले आगामी दिनमा कर्णालीको विकासमा लगानी गर्दै जाने उल्लेख गर्नुभयो । वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले यस्ता विचार तथा विमर्शले सरकारका नीति निर्माण गर्न तथा जनमैत्री काम गर्नका लागि आवश्यक सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “झट्टा हेर्दा कुरा गरेर के हुन्छ भन्ने प्रश्न आउन सक्छ? कुरा नगरी घरदेखि सरकार कुनै काम अघि बढ्न सक्दैन । कर्णाली केन्द्रित राष्ट्रिय स्तरको बहसले कर्णालीको विकासमा केन्द्रलाई थप जिम्मेवार बनाउन मदत गर्छ । त्यसैले पनि यस्ता बहसको निरन्तरता जरुरी छ ।”
विगत चार वर्षदेखि हुँदै आएको कर्णाली उत्सवको अनुभव साट्दै कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले गरिबी, अशिक्षा, रोग भोगको उपनामले चिनिने कर्णालीको बिम्ब बदल्ने अनवरत यात्रा रहेको बताउनुभयो ।
कर्णालीमा बसेर पनि राष्ट्रिय मुद्दामा बहस गर्न सकिने तथ्य कर्णाली उत्सवले, स्थापित गरेको कर्णाली उत्सवका कार्यकारी निर्देशक उल्लेख गर्नुभयो ।
उहाँका अनुसार कर्णाली उत्सव कर्णाली समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ । ७० भन्दा बढी सत्र र २ सयभन्दा बढी वक्ताले उत्सवकै मञ्चबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा कर्णालीलाई चिनाउन विचार व्यक्त गर्नुभयो ।
सम्भावना भएको तर लगानी अभावले ओझेलमा कर्णाली पर्यटन तथा ऐतिहासिक खस भाषा र सभ्यताको संरक्षण र प्रर्बद्धनका निम्ति पनि बहस हुनुपर्नेमा जोड दिनुभयो। कर्णालीका दुःखका कुरा मात्रै हैनन् । यहाँको सुखका कुरा, सम्भावनाका कुरा, कर्णालीले राज्यलाई दिनसक्ने कुराहरू पनि बहसमा ल्याउनुपर्ने उहाँले बताउनुभयो।
पहिलो दिन तीन वटा शत्र सञ्चालन हुने छन् । पहिलो प्रकोप राहत उद्धार केन्द्रित ‘ईपिसेन्ट” सत्र सञ्चालन हुने छ । त्यसैगरी ‘संकट र सेवा, जोखिम, जुद्न्या जुक्ति, सत्र सञ्चालन हुने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताउनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म चल्ने उत्सवमा विभिन्न १३ वटा सत्र, प्रत्येक दिन एक जनाको प्रस्तुतिका साथै साँझपख साङ्गीतिक प्रस्तुति हुने छ ।
कर्णाली उत्सवको पाँचौँ संस्करण फागुन ७ गते समापन हुने छ ।
हाम्रो पहुँच संवाददाता । ५ फाल्गुन २०८०, शनिबार