चिसोले भूकम्प पीडित समस्यामा, अस्पतालमा विरामीको घुइँचो


जाजरकोट । गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्याधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्यो ।

मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी थिइन् । “भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं”, कल्पनाका श्रीमान गोपे सुनारले भने, “सुत्केरी भएदेखि नै बिरामी थिइन, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो (औषधि) गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिइन् ।”

स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे । “सुविधा सम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ”, सुनारले भने । चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुम पश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी भएको स्वास्थ्यकर्मी बताउँछन् ।

चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताइन् । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताइन् ।

चिसोले निकै सताएको बारेकोट गाउँपालिका–५ की रमिता सिंहले बताइ । चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन् । त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनले बताइन् । नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायत गाउँमा चिसोले बिरामी बढेको नलगाडका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए ।

नगर अस्पताल दल्लीमा कार्यरत डा विशाल उप्रेती बिदामा बसेका र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालबाट डा अविनव टिङ्करीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताइन् । अरू ठाउँभन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब चार सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको डा.भारतीको भनाइ छ ।

तपाईको प्रतिक्रिया