जाजरकोटमा अस्थायी आवास निर्माण सुस्त, ३५ हजार लाभग्राहीमा ८ हजार ९७६ वटा बने !


जाजरकोट । भुकम्पको बेला खोज तथा उद्धारमा चुस्त देखिएको सरकार पुर्ननिर्माणमा भने सुस्त देखिएको छ । सरकारले सुरुमा एक महिना भित्र त्रिपालबाट अस्थायी आवासमा सार्ने घोषणा गरेको थियो । तर भुकम्प गएको दुई महिना वित्दा पनि भुकम्प पीडितहरु त्रिपालमै कष्टकर रुपमा बस्न बाध्य छन् । चिसोले धेरै भुकम्प पीडितहरु कठ्याङ्गिन थालेका छन् । त्रिपालको चिसोले धेरै विरामी परेका छन् । तीन बालबालिका, एक सुत्केरी र बृद्धबृद्धा सहित जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ गरी ३५ जनाको ज्यान गैसकेको छ ।

भुकम्पले बाँचेपनि चिसोले मरिन्छ कि भन्ने चिन्ताले पीडितहरुलाई सताईरहेको छ । सरकारले अहिले सम्म भुकम्प पीडित मध्य एक तिहाईलाई पनि अस्थायी आवासको पहिलो किस्ता दिन सकेको छैन । बैक खाता खोल्नु पर्ने, अन्य ठाँउमा पक्की घर नभएको स्वघोषणा, प्रहरी मुचुल्का, घर भत्काउनु पर्ने लगायतका प्रक्रियागत झन्झटका कारण भुकम्प पीडितहरुले अहिले सम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन् । अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको छ ।

धेरै भुकम्प पीडितहरु अहिले पनि खाता खोल्नकै लागि बैकमा भिड लाग्नु पर्ने बाध्यतामा छन् । सामाजिक सुरक्षा खातामा रकम हाल्न बैकले नमानेपछि र नगदै रकम दिन सरकार तयार नभएपछि पीडितहरु घण्टौ पैदल हिडेर बैकमा गएर लाईन लाग्न बाध्य छन् । कतिपय पालिकामा कर्मचारी नहुँदा रकम निकासामा ढिलाई भएको समाजसेवी राजेन्द्र विक्रम शाहले बताए । जुुनीचाँदे गाँउपालिकामा लेखापालले काम नगरिदिदा लाभग्राहीले रकम पाउन ढिलाई भैरहेको छ ।

लेखापाल मनोज शर्मा बल्लतल्ल एक महिना पछि पालिका पुगेका छन् । अहिले सम्म जुनीचाँदे लाभग्राहीको खातामा रकम निकासा गर्न सकेको छैन । त्यस्तै जिल्ला बाहिरै रहेका नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई केही दिन अघि फर्किएपछि बल्ल रकम निकासा सुरु भएको छ ।

बारेकोटका प्रमुख प्रशासकिय अधिकृत डिनायट घर्ती पनि विश्व खाद्य कार्यक्रमको एक गोष्ठीमा गएका कारण एक साता कामकाज ठप्प भयो । सोमवार देखि फेरी निकासाको काम अघि बढेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भूकम्प प्रभावितको अस्थायी आवासका लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट पालिकाहरुको खातामा निकासा भएको ८४ करोड ९५ लाख ७५ हजारमध्ये ३६ करोड ३० लाख ५० हजार रुपैयाँ लाभग्राहीको खातामा जम्मा गरिएको छ ।

चिसो बढिरहेको छ । भुकम्प पछि त्रिपालमा बसेका परिवारलाई मंसिर भित्र अस्थायी आवासमा सार्ने सरकारी योजना थियो तर अहिले सम्म २३ हजार ५ सय ८३ परिवारले अझै पहिलो किस्ता पाउन सकेका छैनन् । जाजरकोटमा मात्र ३५ हजार १ सय ४० भुकम्प पीडित लाभग्राही कायम भएका छन् । ८४ करोड ९५ लाख ७५ हजार विभिन्न पालिकाको खातामा अस्थायी आवासका लागि रकम गएपनि हाल सम्म १४ हजार ५ सय २२ लाभग्राहीको खातामा ३६ करोड ३० लाख ५० हजार मात्र गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

हाल सम्म जिल्लाभर ८ हजार ९ सय ७६ अस्थायी टहरा बनेका छन् । तर अधिकांश टहरामा अझै पीडित सर्न सकेका छैनन् । अस्थायी आवासका लागि आवश्यक मालसमान र मजदुरको समेत अभाव हुँदा निर्माण कार्यमा ढिलाई भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

May be an image of ticket stub and text

तपाईको प्रतिक्रिया