वर्ष २०२३ समीक्षा : सत्ताको खेलदेखि महाविपत्तिको पीडासम्म

काठमाडौँ । अंग्रेजी वर्ष सन् २०२३ सकिन दुई दिनअघि राजधानी काठमाडौंमा २१ र २३ वर्षका दुई युवा प्रहरीबाट मारिए । न उनीहरु राज्यविरुद्ध विप्लवमा उत्रिएका थिए, न उनीहरु सरकार ढाल्न सडकमा आएका थिए, न उनीहरुको त्यस्तो ठूलो मागै थियो ।

उनीहरुले केवल दक्षिण कोरिया काम गर्न जान सजिलो बनाइदिन सरकारसँग माग गरेका थिए । उनीहरुको मागलाई सरकारले सुन्नुको सट्टा गोली र लाठी दियो । दुई जना युवाको विदेश गएर काम गर्ने सपना सडकमा ढल्यो । वैदेशिक रोजगारीमा जाने सपना दुई युवाको मात्र होइन, हजारौं युवाहरुको हो । किनकी मुलुकमा रोजगारीको अवसर भएको भए हजारौं युवाहरुका सपना सडकमा ढल्नु पर्ने थिएन । अछाम चौरपाटी गाउँपालिका १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका-६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भयो ।

राजधानीका मुख्यबजार ठमेल, झम्सिखेल, न्युरोड, पाटन क्षेत्रमा नयाँ वर्ष मनाउने भव्य तयारी भइरहेका बेला रोजगारीको सपना बोकेको युवा राजधानीमै मारिएपछि अंग्रेजी वर्ष २०२३ को दुःखद् बिदाइ भएको छ । वर्षभरि जेजस्ता घटना भए ती घटनालाई बिर्साउने गरी भएको यो घटनाले सबैलाई स्तब्ध बनायो । अंग्रेजी नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा भएको यो घटनाले युवा माझ झन् निराशा थपेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयको २०७८ को तथ्याङ्क अनुसार नेपालमा ८६ लाख व्यक्तिले आफ्नो योग्यता र सीपअनुरूप रोजगारी पाएका छैनन् । रोजगार नपाएका युवाहरु लाखौं खर्च गरेर मानव तस्करको माध्यमबाट अमेरिकालगायतका देशमा गइरहेका छन् । दैनिक दुईदेखि तीन हजार युवा वैध बाटोबाट विभिन्न गन्तव्यमा देशमा रोजगारीको खोजीका निस्केका छन् । हजारौं विद्यार्थीहरु मुलुकमा आशाका किरण मधुरो देखेपछि उच्च शिक्षा र आकर्षक रोजगारीको खोजीमा विदेशिइरहेका छन् ।

जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ मध्ये युवाको ४२.५ प्रतिशत अर्थात् एक करोड २३ लाख ९८ हजार १७ छ । तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहालले देशभित्रै रोजगारी सिर्जना गर्ने प्राथमिकतामा राखेको बताएका थिए । पहिलो (२०६५ साउन) र दोस्रो (२०७३ साउन) मा नौ-नौ महिना प्रधानमन्त्री भएका उनको तेस्रो कार्यकाल एक वर्ष पुरा भएको छ । कुनै पनि सरकारको एक वर्ष पुरा हुनु कुनै उपलब्धी होइन, देश समृद्धिको दिशामा गयो कि गएन ? मुलुकमा सुशासन कायम भयो कि भएन ? मुलुकमा शान्ति सुरक्षा र सामाजिक न्यायका क्षेत्रमा काम भयो कि भएन ? यो मुख्य कुरा हो ।

एक वर्ष पुगेको अवसरमा सरकारले गरेको प्रमुख कार्यहरु ८८ पेजमा छापेर सार्वजनिक गरेको छ । सरकारका प्रमुख कामहरुको सूचीले बेराजगार र गरिबीमा रहेका आम नेपालीलाई कति आशा जगायो मुख्य कुरा हो । प्रधानमन्त्री पुष्कमल दाहाल, प्रमुख गठबन्धन कांग्रेस सभापति शेरबरहादुर देउवा, प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव भुसको आगो झैं भित्रभित्रै निराशाको आगो बलिरहेकोबारे कति जानकार छन् ? ललितपुर बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उनी चढेको गाडीमाथि आक्रोश पोख्नु संकेत मात्र हो भनेर बुझ्दा हुन्छ । आक्रोशको ठूलो ज्वाला त दबिएर रहेको छ । सरकार र प्रमुख दलहरुले आशा जगाउन अग्रसर हुन सकेनन् भने त्यसले विष्फोटको रुप लिन सक्छ । खासगरी एक वर्ष पुरा गरेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले ढिला नगरी ‘क्रमभंग’ गर्न आवश्यक छ ।

२०२३ सुरु हुनुअघि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थनमा दाहाल प्रधानमन्त्री भए । चुनावमा गठबन्धन गरेको कांग्रेसले प्रधानमन्त्री नदिएपछि दाहाल एमाले समक्ष पुगे । दाहाल सरकारमा भर्खरै उदाएको रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए । नागरिकता पुनः प्राप्त गर्दा प्रक्रिया पुरा नगरेको भन्दै सर्वोच्चले एक महिनापछि २७ जनवरी, २०२३ मा संसद पद खारेज गरेपछि उनी मन्त्री र सांसदबाट पद मुक्त भए । उपप्रधान तथा गृहमन्त्री, सांसदको पद खारेज हुनु गत वर्षको महत्त्वपूर्ण घटना बन्यो । लामिछाने पदमुक्त भएपछि गठबन्धनमा उचारचढाव जारी रह्यो । एमाकेको झुलघाट चिवाभन्याङ, माओवादीको रुपान्तरण अभियान यो वर्ष भयो । ३ स्थानमा उपनिर्वाचन भए । रवि लामिछाने, स्वर्णिम वाग्ले र उपेन्द्र यादव निर्वाचित भए ।

राष्ट्रपति कसलाई बनाउने विषयमा कुरा नमिलेपछि दुई महिनामै २४ फेब्रुअरी २०२३ मा एमाले र माओवादीको गठबन्धन भत्कियो । सुरु भयो कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जसपा, नागरिक उन्म्क्तुि र जनमोर्चा नेपालको गठबन्धन बन्यो भने एमाले प्रमुख प्रतिपक्षको रुपमा सडकमा पुग्यो । डिसेम्बर २५, २०२२ मा बनेको दाहाल सरकार दुई महिनासम्म मन्त्री, सभामुख, उपसभामुख भागबण्डामा अल्झियो । एमाले, माओवादी, रास्वपा गठबन्धन भत्किएपछि राष्ट्रपति, उपराष्ट्रपति चयनमै प्रमुख दल व्यस्त रहे । जबकी तेस्रोपटक प्रधानमन्त्री भएका दाहालले अन्तिम अवसरलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आम निर्वाचनमा ३२ सिट आएपनि सरकार गठन गर्न माओवादी निर्णायक भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तेस्रोपटक प्रधानमन्त्री बन्ने योभन्दा अरु अवसर हुन सक्दैनथ्यो । कांग्रेस वा एमाले जोसँग मिल्दा पनि प्रधानमन्त्री पक्का भएपछि देउवाले अस्वीकार गर्दा ओली समक्ष पुगे । फेरि ओलीसँग राष्ट्रपतिमा कुरा नमिल्दा देउवातिर फर्के । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि उनी देउवासँग गठबन्धन गरे । एमालेका ८ मन्त्रीहरु ९ मार्च २०२३ मा सरकारबाट बाहिरिए । वामपन्थी गठबन्धन दुई महिनामै भत्किएपछि एमाले र माओवादी नेता तथा कार्यकर्तामा केही निराशा छायो । आ-आफ्नो पार्टीमा देउवा, ओली र दाहालको निर्णय नै अन्तिम हुने अवस्थामा अरु नेता तथा कार्यकर्ताको धारणाको अर्थ रहेन ।

नेपालको तेस्रो राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भए । ९ मार्चमा उनले एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् । उनी पूर्वसभामुख थिए । त्यस्तै १७ मार्चमा रामसहाय यादव उपराष्ट्रपतिमा विजयी भएका थिए ।

प्रधानमन्त्री दाहालले यो वर्ष भारत र चीनको औपचारिक भ्रमण गरी सन्तुलित सम्बन्ध विस्तार गर्ने प्रयास गरे । ३१ मेमा भारत र २२ सेम्टेम्बेरमा चीन भ्रमण गरेका थिए । अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गरी दाहाल उतैबाट चीन भ्रमणमा गएका थिए । दाहालले भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन सहमति गरे । त्यस्तै मध्यप्रदेशको उज्जैनमा उनले गेरुवस्त्र धारण गरी धार्मिक कूटनीतिक सम्बन्ध विस्तारको सन्देश दिए । उनको भारत भ्रमण मुख्यगरी प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीसँग सम्बन्ध विस्तारमा बढी केन्द्रित थियो । उनले यसअघि उठाउँदै आएको नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुराबारे भारतसँग औपचारिक वार्ता गरेनन् । खासगरी प्रतिपक्ष एमालेले राष्ट्रियताबारे प्रधानमन्त्री दाहालमाथि प्रश्न तेर्स्यायो ।

चीन भ्रमणका क्रममा दाहालले राष्ट्रपति चिनफिङ, प्रधानमन्त्री ली खछियाङसँग उच्च स्तरीय वार्ता गरे । चीनले ताइवानका विषयमा एक चीन नीतिलाई पुनः दृढ समर्थन गर्‍यो । कोरानाकालपछि बन्द भएका उत्तरी नाका खुलाउनेलगायत केही समझदारी गर्‍यो ।

प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्लाई पूर्णता दिन करिब आठ महिना लाग्यो । गठबन्धन दलहरुबीच पद बाँडफाँटका कारण दाहाललाई मन्त्रिपरिषद्लाई पूर्णता दिन १२ पटक मन्त्री थप्नु पर्‍यो । जसका कारण सरकारको काम कार्वाहीमा प्रभावकारी हुन नसक्दा सबैतिरबाट आलोचना भयो । दाहाल वर्षभरि औपचारिक कार्यक्रममा व्यस्त रहे ।

दाहाल सरकारले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा गठबन्धन र विपक्षी ‘हाइप्रोफाइल’ नेतालाई पक्राउ गरी प्रशंसा पाउने काम गर्‍यो ।

भुटानी शरणार्थी प्रकरणका १० मे २०२३ कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परे । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाण पक्राउ परेपछि गठबन्धनभित्र ठूलै तरङ्ग ल्यायो । त्यही प्रकरणमा मे १४ मा एमाले सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परे । यो प्रकरणमा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, सचिब टेकनारायण पाण्डे पक्राउ परे । त्यसको केही समयपछि भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परे । पाटन उच्च अदालतले १४ डिसेम्बर मा ३० लाख धरौटीमा खाणलाई रिहा गर्ने आदेश गर्‍यो ।

त्यस्तै सरकारले ललिता निवास जग्गा हिनामिना प्रकरणको फाइल पनि यही वर्ष खोल्यो । प्रकरणमा मुछिएका १८ जनालाई पक्राउ गरी अनुन्धान अघि बढायो । यो प्रकरणमा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत १८ जनालाई जिल्ला अदालत काठमाडौंले १० सेप्टेम्बरमा धरौटीमा छाड्न आदेश दियो । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि अनुसन्धान अघि नबढेको भन्दै नागरिक समाजका प्रतिनिधिले असन्तुष्टि जनाए ।

राजस्व अनुसन्धान विभागले ३ जुलाईमा भन्सारबाट बाहिरिएको हङकङबाट ल्याएको करिब ६० किलो सुन बरामद गर्‍यो । त्यस्तै ७ डिसेम्बरमा दुबईबाट तस्करी भएको १४ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्लमा बरामद भएको थियो । यो वर्ष सुन काण्ड पनि निकै चर्चित भयो ।

२०२३ मा सबैलाई झस्काउने गरी यति एयरलाइन्सको एटीआर विमान पोखरामा दुर्घटना भयो । नयाँ वर्ष सुरु भएकै महिना २३ जनवरीमा काठमाडौंबाट पोखरा उडेको विमान सेती खोंचमा दुर्घटना भयो । दुर्घटनामा चालक दलसहित सबै ७२ को मृत्यु भएको थियो । नेपालको उड्ययन क्षेत्रमा भएको यतिको दुर्घटना पछिल्लो समयको सबभन्दा ठूलो थियो । उक्त दुर्घटनामा पाइलटको असावधानीका कारण भएको रिपोर्ट वर्षको अन्त्यमा सार्वजनिक भयो ।

पूर्व सभामुख एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण १२ सेप्टेम्बर मा निधन भयो । संविधानसभा अध्यक्ष, पूर्व सभामुख नेम्वाङ लोकप्रिय नेताका रुपमा परिचित थिए ।

अक्टोबर महिना नेपालीका लागि दुःखद् रहृयो । इजरायलमा ‘अर्न एण्ड लर्न’ कार्यक्रममा कृषि पढ्न गएका १० विद्यार्थीको हमासद्वारा हत्या गरियो । सरकारले युद्धका कारण इजरायलमा जोखिममा रहेका नेपालीलाई जहाज पठाएर उद्धार गर्‍यो । नेपालीको सकुशल उद्धार गरेकोमा सरकारको प्रशंसा भयो भने त्यहाँ मारिएका १० विद्यार्थीको शव ल्याउन भने केही ढिलाइ भएपछि आलोचना खेप्नु पर्‍यो । रुस युक्रेन युद्धका क्रममा पनि नेपालीको ज्यान गयो । रुसी सेनामा भर्ती भएका करिब ६ नेपालीको मृत्यु भएको डिसेम्बरमा पुष्टि भयो ।

नेपालले यो वर्ष अर्को ठूलो विपत्ति भोग्नु पर्‍यो । ३ नोभेम्बरमा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पले रुकुम पश्चिम र जाजरकोमा ठूलो भौतिक र मानवीय क्षति पुर्‍यायो । भूकम्पमा परी दुई जिल्लामा गरी १५७ को मृत्यु र १९७ घाइते भए । भूकम्पले पाँच जिल्लामा गरी १६ हजार ८ सय घर पूर्ण र ४३ हजार नौ सय घरमा आंशिक क्षति पुर्‍यायो । सरकारले उद्धार र राहतको कामलाई तीब्र बनाए पनि अस्थायी टहरा निर्माण र पुनर्निर्माणको कामलाई ढिलासुस्ती गरेकोमा आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया