जाजरकोट । जिल्ला स्तरीय सिलाई प्रतियोगितामा नलगाड नगरपालिका —०५ कालीमाटीका २३ बर्षिय यूवा नरेन्द्र परियार प्रथम भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले आयोजना गरेको जिल्ला स्तरीय सिलाई प्रतियोगितामा परियार सबैलाई उछिन्दै प्रथम भएका हुन् । कार्यालयले पुस १२ गते देखि १५ गते सम्म नेपाली पोशाक दौरा, सुरुवाल र कोट सिलाई प्रतियोगिता राखेको थियो ।
जसमा भेरी नगरपालिका —०३ का मिलन परियार दोस्रो बने भने भेरी नगरपालिका —०८ का कृष्ण दमाईले तृतिय स्थान प्राप्त गरे । प्रथम हुनेलाई ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको कार्यालय प्रमुख महेन्द्र कुमार भडेलले जानकारी दिए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले यस बर्ष अहिले सम्मकै उत्कृष्ट र नयाँ कामको थालनी गरेको जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दलबहादुर सिहंले बताए । उनले भने, ‘बर्षाै देखि जिल्लामा सिलाई कटाई व्यवसायीमा लागेका साथीहरुलाई यसले थप हौसला थपेको छ ।’
यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष हुनुपर्नेमा सिंहले जोड गरे । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सहित विभिन्न क्षेत्रका सहभागीको सहभागिता रहेको थियो । प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो ।
हाम्रो पहुँच संवाददाता । १५ पुष २०८०, आईतवार