भूकम्प पीडित क्षेत्रका महिला माथि हुन सक्ने हिंसा र दुव्र्यवहार प्रति सचेत हुन अनेम संघको प्रजिअलाई ध्यानाकर्षण

No description available.
जाजरकोट । अखिल नेपाल महिला संघले भूकम्प पीडत क्षेत्रमा महिलाहरु माथि हुन सक्ने हिंसा र दुर्व्यवहार प्रति सचेत हुन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । अनेमसंघकी केन्द्रीय अध्यक्ष टुका हमाल नेतृत्वको टोलिले आज विहान भूकम्प प्रभावित जिल्ला जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर हुनसक्ने महिला हिंसा, दुर्व्यवहार र उनीहरुको गोपनियताको विषयमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

भूकम्प पछि त्रिपाल तथा अस्थायी आवासपमा सामुहिक रुपमा बस्नुपर्ने बाध्यता रहेकोले यसले महिलाहरुमा असुरक्षा बढाएको भन्दै त्यसतर्फ विशेष ध्यान दिन अध्यक्ष हमालले प्रमुख जिल्ला अधिकारी सुनारलाई आग्रह गरिन् ।

नलगाड नगरपालिका १ मा त्रिपालमुनी बसिरहेकी महिला बलात्कृत भएको विषय गम्भिर भएको भन्दै दोषीलाई हदैसम्मको कार्वाही गर्न र त्यस्ता घटना दोहोरिन नदिन अध्यक्ष हमालको आग्रह छ । भूकम्पपछि बालबालिकाहरुको पढाई प्रभावित भएको भन्दै उनीहरुको नियमित पढाईका लागि आवश्यक वातावरण तयार गर्न समेत उनको माग छ ।

त्यस्तै त्रिपाल तथा अस्थायी आवासमा बसोबास गर्दा कतिपय ठाउँमा खुला दिसा पिसाव गर्ने गरिएकोले त्यस्ले हुन सक्ने जोखिममा समेत सचेत हुन जरुरी रहेको अध्यक्ष हमालको भनाई छ । सुत्केरी महिला सहित ३० जना भन्दा बढि भूकम्प पीडित नागरिकहरको चिसोका कारण ज्यान गएको भन्दै सरकारको त्यसतर्फ गम्भिर ध्यान जान जरुरी रहेको उनको भनाई छ । त्रिपाल र अस्थायी आवासले लामो समय थेग्न नसक्ने भएकोले तत्काल पुनर्निमाणको काम सुरु गर्नुपर्ने अध्यक्ष हमालको माग छ ।

जवाफमा प्रजिअ सुनारले नलगाड १ का बलात्कार आरोपितलाई कानूनी दायरामा ल्याइसकिएको भन्दै शान्ति सुरक्षाका विषयमा आफुहरु सचेत रहेको बताए । उद्धार, राहत र अस्थायी बसोबासकोका विषयमा कुनै कम्जोरी नरहेको भन्दै अव पुनर्निमाणको काम पनि तत्काल सुरु हुने बताए ।

सुत्केरी महिला र बालबालिकाका लागि राहत सहयोग

अनेमसंघले भूकम्प पीडित क्षेत्रका सुत्केरी महिला, बालबालिका र जेष्ठ नागरीकका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । केन्द्रीय अध्यक्ष टुका हमाल नेतृत्वमा जाजरकोट पुगेको अनेमसंघको टोलीले करीब १५ सय जनाको लागि न्यानो कपडा हस्तान्तरण गरेको हो ।

प्रभावितमा वतिरण गर्नेगरी अनेमसंघको जिल्ला कमिटीलाई सामग्री हस्तान्तरण गरिएको अनेमसंघका केन्द्रीय प्रचार विभाग प्रमुख कालिका पाठकले जानकारी दिइन । आफुहरुको सानो सहयोगले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्न सहयोग पुग्ने प्रमुख पाठकको भनाई छ ।

तपाईको प्रतिक्रिया