काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन। त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुनेछ। न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
१६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो। सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो।
हाम्रो पहुँच संवाददाता । १४ पुष २०८०, शनिबार