जाजरकाेट । ६ जनाको हत्या भएको सोती घटनाको मुद्दामा आइतबारदेखि सुनुवाइ सुरु भएको छ। जिल्ला न्यायाधीश डा. खड्क बहादुर केसीको इजलासमा आइतबारदेखि फैसला केन्द्रित सुनुवाइ सुरु भएको हो।
आइतबार पीडित (जाहेरवाला) को तर्फबाट सरकारी वकिल र पीडित पक्षका वकीलहरुले बहस गर्ने क्रम चलिरहेको रुकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालालो बताए। यो पटकको सुनुवाइका क्रममा पहिलो चरणमा आज बहस हुने उनले बताए।
पीडितको तर्फबाट बहस सकिएपछि अर्को चरणमा प्रतिवादीको तर्फबाट बहस सुरु हुनेछ। यो पटकको सुनुवाइ फैसला केन्द्रित भएकाले केही दिनमा घटनाको अदालती फैसला आउन सक्ने अपेक्षा गरिएको छ।
साढे तीन बर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतिका परिवारसहित सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो। घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालिन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानविन समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।
घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ। यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो।
हाम्रो पहुँच संवाददाता । १७ मंसिर २०८०, आईतवार