जाजरकोट । भुकम्प प्रभावित घरपरिवारका लागि कारितास नेपालद्धारा खाद्यान्न सहयोग गरिएको छ । गत कार्तिक १७ गते राति गएको भुकम्प वाट अति प्रभावित १ हजार पाँच सय घर परिवारलाई खाद्यान्न प्याकेज सहयोग हस्तान्तरन गरिएको हो । जाजरकोको भेरी नगरपालिकामा ५ सय , नलगाड नगरपालिकामा ५ सय र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५ सय गरी १ हजार पाँच सय घर परिवारमा उक्त राहत वितरण गरिएको कारितास नेपालका प्रादेशिक व्यवस्थापक जनक शर्माले जानकारी दिए ।
पुर्णरुपमा घर ध्वस्त भएका, मृत्यू तथा घाइते भएका परिवारलाई प्राथमिकतामा राखेर वडा कार्यालयले उपलप्व्ध गराएका घर परिवारमा राहत सामाग्री वितरण गरिएको शर्माको भनाई छ । जिल्ला विपद व्यवस्थापन समितिको अनुमति र नगरपालिकाको समन्वयमा उक्त राहत वितरण सम्पन्न गरिएको हो ।
कारितास जर्मनी, कारितास नेपाल, कारितास अष्टेलिया, सीआरएस नेपाल, कारितास अष्ट्रिया, मीजेरीएस नेपालको आर्थिक सहयोग र युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटको सहकार्यमा उक्त वितरण कार्यक्रम गरिएको हो । भेरी नगरपालिकाको वडा नं १,३,४, नलगाड नगरपालिकाको १,३ र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको वडा नं १,३ र १४ मा गरी प्रति पालिकामा ५ सय घरधुरीलाई उनीहरुको गाउँ घरमै पुगेर सामाग्री उपलव्ध गराईएको छ ।
यसरी उपलव्ध गराएको सामाग्रीहरुमा २५ केजी चामल, ५ केजी मसुराको दाल, ३ केजी सोयबनि, १ लिटर तोरीको तेल, १ केजी नुन, १ पीस सावुन, १ थान जगर २० लीटरको ढकन सहितको बाल्टी उपलव्ध गराईएको यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिए । खाद्यान्न खरीद तथा ढुवानी समेत गरी संस्थाले कुल ५० लाख १८ हजार ४ सय वरावरको राहत सामाग्ी उपलव्ध गराएको बस्नेतले बताए ।
आठबीसकोट नगरपालिका १४ सवारीगाउँका स्थानीयहरुले आफुहरुलाई गाउँमै ल्याएर यसरी राहत उपलव्ध गराइदिनु भएकोमा निकै खुसी व्यक्त गरेका छन् । यसरी सवै प्रभावितहरुको लागि गाउँमै राहतको प्याकेज ल्याएर व्यवस्थित तरिकाले सवैको लागि उपलव्ध गराउने पहिलो संस्था पाएको उनीहरुको भनाई रहेको थियो ।
नलगाड नगरपालिका १ चीउरी गाउँका स्थानीय बीमल परियारले पीडितहरुको लागि यसरी गाउँमै ल्याएर खाद्यान्नको प्याकेज उपलव्ध गराउनु भएकोमा निकै खुसी व्यक्त गरे ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावतले आफ्नो पालिकाको प्रभावित ५ सय घर परिवारका लागि पालिका सँगको समन्वयमा खाद्यान्न उपलव्ध गराइदिएकोमा संस्था तथा सवै दाता निकायहरुमा आभार व्यक्त गर्नु भएको छ । दुःखको वेला सवै सरोकारवालाहरुले यसरी नै साथ दिनुपर्ने नगरप्रमुख रावतको भनाई छ ।
युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटका अध्यक्ष अमर सिंह राठौरले पहिलो चरणमा खाद्यान्नको राहत उपलव्ध गराइएको र आगामी दिनमा पुर्ननिर्माणका कार्यमा समेत संस्थाले कार्यक्रम अगाडि वढाउने जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । १७ मंसिर २०८०, आईतवार