जाजरकोट । जिल्लाको भेरी नगरपालिका ०१ मा रहेको रिम्ना बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको अगुवाईमा संयूक्त बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । रिम्नामा रहेका पसलहरु बाट म्याद गुज्रिएका करिब ५२ हजार ५ सय ८० मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए ।
प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ । अधिकृत शर्माका अनुसार रिम्नामा खाद्यान्न, पियपदार्थ सहित अन्य पसलहरुमा छड्के अनुगमन गरिएको थियो । व्यापारी तथा उपभोक्ता सचेत हुनुपर्ने शर्माले बताए । ‘रिम्नाका अधिकांश पसलहरुमा म्याद गुज्रेका सामग्री पाईयो’ उनले भने, ‘त्यहाँका व्यापारी र उपभोक्ता सचेत हुनुपर्ने छ ।’
समान कहिले बन्यो, कुन मिति सम्म खाना मिल्छ भन्ने समेत व्यापारीलाई थाहा नभएको शर्माले बताए । अनुगमनका क्रममा दर्ता नै नगरी सञ्चालनमा आएको एउटा किराना पसललाई पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । एक हप्ता भित्र जिल्ला प्रशासन कार्यालयमा राजस्व जम्मा गर्न निर्देशन गरिएको छ ।
कागजातहरु पुरयाएर सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको अधिकृत शर्माले बताए । जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र इलाका प्रहरी कार्यालय रिम्ना सहितको टोलीले संयूक्त बजार अनुगमन गरेको थियो ।
हाम्रो पहुँच संवाददाता । २७ आश्विन २०८०, शनिबार