पक्की पुल बगाएदेखि नागरिकलाई सास्ती

blogकालीकोट । मुस्किलले निर्माण भएर अन्तिम चरणमा पुगेको तिलागुफा नगरपालिका वडा ९, १० र ११ जोड्ने भैसीगौडा पक्की पुल बाढीले बगाएपछि अहिले स्थानीयलाई आवत–जावतमा समस्या परेको छ । गत वर्ष असोजमा परेको अविरल वर्षापछि तिला नदीमा आएको बाढीले भैसीगौडा पक्की पुल बगाएको थियो । पुल बगाएको लामो समय भए पनि वैकल्पिक उपायका लागि स्थानीय जुटेका छन् । पुल बन्दै छ र अव गाडी चढ्न पाइन्छ भनेर पर्खाइमा रहेका साबिकको चिल्खाया गाउँबिसका समितिका नागरिक अहिले काठेपुल बनाएर भए पनि आवत–जावत सहज बनाउने प्रयासमा छन् । नगरको वडा ९, १० र ११ का नागरिक भेला भएर कसैले रुख काट्ने, कसैले ढुवानी गर्ने र कसैले तिला नदीमा पुल लगाउने काममा व्यस्त छन् ।

आइतबार मान्मबाट नगरपालिका जाँदैगर्दा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले पनि श्रमदानमा सहभागी हुनुभयो । सबै नागरिकहरू पुल बनाउन असिनपसिन भएका बेला नगर उपप्रमुख महेन्द्रबहादुर शाही पनि काठको लठ्ठा तान्न भाग लिनुभयो । उहाँले नगर सरकारको स्रोतले नभएकाले सङ्घ प्रदेश सरकारसँग समन्वय गरेर पक्की पुल बनाउने प्रक्रिया जारी रहेको यहाँका नागरिकलाई सुनाउनुभयो । बगाएको पुल पुनर्निर्माण सोही निर्माण कम्पनीले गर्ने वा पुनः ठेक्का गर्ने भन्ने यकिन नभएकाले पनि यहाँको पुल बनाउने प्रक्रिया अघि बढ्न नसकेको उपप्रमुख शाहीको भनाइ छ । पुल कहिले बन्ने यकिन नहुँदा चिल्खायाका नागरिक चिन्तित छन् । वडा १० रुडुका बिर्ख थापाले सरकारले कुरा सुन्न धेरै वर्ष लाग्ने भएकाले हिउँदको समयमा सहज होस् भनेर काठेपुल निर्माणमा जुटेको सुनाउनुभयो ।

भैसीगौडा पुल निर्माणको जिम्मा अम्मर कन्स्ट्रक्सन प्रालिले लिएको थियो । निर्माण व्यवसायी तारा शाहले पुल निर्माण सम्पन्न भएको र भुक्तानी दिनुपर्छ भनेर भौतिक पूर्वाधार विकास कार्यालयले बुझ्न नमानेकै बेला बाढीले बगाएको दाबी गर्दै आउनुभएको थियो ।

यता कार्यालयले काम सम्पन्न नभएका कारणले सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिरहेका बेला बाढीले पुल बगाएको भनिरहेको छ । तर पुल अम्मर कन्स्ट्रक्सन प्रालिले बनाउने वा पुनः ठेक्का गर्ने भन्ने बारेमा यकिन नभएको उहाँले बताउनुभयो । पुल सम्पन्न नभएकाले कर्णाली प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालयले बुझ्न नमानेको भन्दैआएको छ । तर राजनीति आस्था मिलेकै कारणले तिलागुफा नगरपालिकाले पुल नगरपालिकाले बुझेको पत्र बनाएको खुलेपछि भैसीगौडामा पक्की पुल बन्न कठिन हुने स्थानीयको भनाइ छ । तिलागुफा नगरपालिका वडा ९ का वडा अध्यक्ष नरेन्द्रबहादुर रोकायाले पुल बुझ्नु पर्ने भौतिक पूर्वाधार विकास कार्यालयले हो, नगरपालिकाले कसरी पुल बुझेको पत्र दियो रु यो विषय छानबिन हुनुपर्छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया