रुकुम (पूर्व) । रुकुम पूर्वको भूमे गाउँपालिकाका दुई स्वास्थ्य संस्थाले सुत्केरीहरुका लागि भान्सा घरको व्यवस्था गरेका छन् । यहाँको मोराबाङ र महत स्वास्थ्य स्वास्थ्य चौकीले सुत्केरी भान्सा घरको व्यवस्था गरेका हुन् ।
सुत्केरी भान्सा घरमा व्यथा लाग्नुअघि नै स्वास्थ्य चौकीमा जाँच गर्न जाँदा समस्या देखिए वा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने अवस्थाका गर्भवतीहरु बस्न सक्छन् भने सुत्केरी भइसकेर केही दिन स्वास्थ्य चौकीमै राख्नुपर्ने आमा तथा शिशु भएमा उनीहरु बस्न सक्छन् ।
वेथा लाग्नुभन्दा पहिले स्वास्थ्य चौकी गएर पछि सम्म बस्नु परे वा नियमित स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने सुत्केरी भएमा र उनीहरुलाई स्याहार गर्न सुत्केरी भान्सा घरले सहज भएको मोराबाङ स्वास्थ्य चौकीका चिकित्सक विवेक केसीले बताउनु भयो ।
स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार हुने भएकाले स्वास्थ्य संस्थाबाट टाढा भएका सेवाग्राहीलाई लक्षित गरी सुत्केरी भान्सा घरको व्यवस्था गरिएको केसीले बताउनु भयो ।
“पहाडी भूगोल र यातायातको सहज सुविधा नभएकाले स्वास्थ्य चौकीबाट टाढा भएका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी हुने वातावरण बनाउन भान्सा घरको व्यवस्था गरेका हौं,” चिकित्सक केसीले भन्नुभयो, “ग्रामीण क्षेत्रमा समयमै स्वास्थ्य संस्थामा आउन नसक्दा र जनचेतनाको कमीले अझैं पनि घरमै सुत्केरी हुने गर्दछन् । घरमै सुत्केरी हुने संख्या शून्यमा झार्ने लक्ष्यसहित हामीले सकिने जति सबै सुविधा र सचेतना दिने गरेका छौं।”
मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन र जटिल समस्या हुन नदिन समयमै स्वास्थ्य संस्थामा लैजान गर्भवती महिला र उनका परिवारका सदस्यहरुलाई वेलैमा सचेत बनाउने गरेको भूमे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले बताउनु भयो ।
रुकुम पूर्वको भूमे गाउँपालिकाका तिन स्वास्थ्य संस्थालाई गाउँपालिका, एचडिसि नेपाल र फेयरमेड फाउण्डेशनको ग्रामिण स्वास्थ्य सुधार परियोजना संगको सहकार्य र लागत साझेदारीमा संस्थागत सुत्ेकरी वढाउनको लागी सुत्केरी कुरुवा भान्सा घरको व्यवस्था गरेका छन । जस मध्य एचडिसि नेपालले मोरावाङ्गमा रु ३ लाख, महतमा रु २ लाख २० हजार र काँडामा रु २ लाख गरि जम्मा रु ७ लाख विस हजार रुपैया लगानि गरेको संस्थाका कार्यकारी निर्देशक लिलामणि गौतमले जानकारी दिए ।
उसो त अहिले पनि रुकुम (पूर्व)मा भौगोलिक विकटता, सहज र पर्याप्त उपचारको सुविधा नहुँदा गर्भवती तथा सुत्केरी महिलाहरुले सास्ती बेहोर्नु परिरहेको छ । स्वास्थ्य संस्थामा नपु–याउँदै बाटोमै सुत्केरी हुनु, घरमै सुत्केरी हुनु, सुत्केरी हुँदा आमा तथा नवजात शिशुको ज्यानै संकटमा पर्नु यहाँका बाध्यता रहेका छन् ।
पछिल्लो समय अनिवार्य रुपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउनु पर्ने सरकारी निर्देशन रहेको छ तर समयमै अस्पताल पु–याउन नसक्दा केही गर्भवती आमाहरु बाटोमै त कतिपय घरमै सुत्केरी गराउन बाध्य छन् ।
सबै गाउँ बस्तीसम्म सडक यातायात नहुनु र भएका सडक पनि बिग्रे भत्केकाले समस्या त छँदैछ, चाहिएको बेला सवारी साधन नहुनु पनि अर्को समस्या रहेको यहाँका बासिन्दा बताउँछन्। गाउँका बासिन्दाहरु गर्भवती र सुत्केरी हुने प्रक्रियालाई सामान्य रुपमा लिने र जटिल समस्या देखिएपछि मात्रै आत्तिने गरेकाले पनि समस्या पर्ने देखिएको छ। समस्या भइसकेपछि स्ट्रेचरमा २÷४ घन्टा बोकेर स्वास्थ्य संस्थासम्म पु–याउनु पर्ने बाध्यता छ।
भूमे गाउँपालिका ३ की बलकुमारी विक सडक यातायातको सहज नहुँदाको पीडा बुहारी सुत्केरी हुँदा भोगेको बताउनु हुन्छ, “स्वास्थ्य चौकीमा लिदा अवस्था सामान्य भएकाले घर ल्यायौं तर मध्यरातमा समस्या भयो। बाटो राम्रो नभएकाले स्ट्रेचरबाट अस्पताल पु–याउन निकै समस्या भयो। बाटो राम्रो र सवारी साधनको सुविधा भएको भए त्यस्तो दुःख व्यहोर्नु पर्दैनथ्यो।”
दुर्गम क्षेत्रका गर्भवती आमाहरुका लागि नियमित चेकअप गर्न सबै स्वास्थ्य संस्थाहरुमा भिडियो एक्स–रे, बर्थिङ सेन्टर, सुत्केरी भान्सा घर र विशेषज्ञ सेवाका लागि स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने देखिन्छ। साथै दुर्गम गाउँका जनतालाई गर्भवती तथा सुत्केरी हुने प्रक्रियालाई सामान्य रुपमा नलिई नियमित चेकअप गराउन र अस्पताल वा स्वास्थ्य संस्थामै सुत्केरी गराउन जनचेतना फैलाउनु पर्ने देखिन्छ ।
बालाराम शेर्पाली । २२ आश्विन २०८०, सोमबार