आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँ: मन्त्री बस्नेत

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१/८२ भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताएका हुन् ।

उनले मन्त्रालयसँग आगामी १२ वर्ष भित्रमा २८ हजार मेघावाटभन्दा बढी विद्युत उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको बताए । आगामी १२ वर्ष भित्रमा कुन वर्षमा कति मेघावाट विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडी बढेको बताए । त्यसको निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उनले बताए ।

उनले भने ‘विद्युतको उत्पादन र प्रशारणको कुरामा अर्को वर्षमा जाँदा हामी एक हजार मेघावाट थप्छौँ । अबको एक वर्षमा पुग्दाखेरी एक हजार मेघावाट उत्पादन थप गर्छौ । यो क्रम सँगसँगै हामीले १२ वर्षमा जाँदा २८ हजार भन्दा बढी मेघावाट विद्युत उत्पादन हुने मार्गचित्र तयार गरेका छौँ । त्यसलाई तथ्य, तथ्यांकले ब्याकअप गर्ने गरेर, स्रोत हामी कहाँबाट जुटाउँछौँ हामीले त्यो बोलेका छौँ ।

हामी कुन आयोजनाबाट २८ हजार मेघावाट उत्पादन गर्छौ त्यो कुरा बोलेका छौँ । लगानीको व्यवस्थापन कसरी गर्छौ त्यो कुरा हामीले बोलेका छौँ । २८ हजार त १२ वर्षमा एकै पटक आउने होइन नि कुन वर्षमा कति ल्याउँछौँ त्यो सबै कुराको तथ्य, तथ्यांकसहित नै हामीले गरिरहेका छौँ । उनले आगामी दुई वर्ष भित्र सत्प्रतिशत विद्युतिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताए ।

तपाईको प्रतिक्रिया