खाद्य व्यवस्था कार्यालयद्वारा कुहिएको चामल बिक्री

blog
हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले नाम्खा गाउँपालिका –५ मुचु गाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो ।

नाम्खा गाउँपालिका–५ का पेमा आङ्मु तामाङले आफूले खरिद गरेर लिमिटेडको ढुवानी अनुदान चामल कुहिएको भेटिएको बताउनुभयो । एक घरधुरीलाई चार बोराको दरले बिक्री गरिएको थियो । उहाँले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताउनुभयो । उहाँले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवार कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताउनुभयो ।

२५ किलोको बोरा चामलको मूल्य दुई हजार ३७५ रुपियाँमा किनेको र घरमा चामल बोरा खोल्दा कुहिएको पाइएको जङ्ग लामाले बताउनुभयो । पैसा तिरीसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ उहाँको गुनासो छ ।

५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकोमा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयवासीको गुनासो रहेको छ । मुचु गाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्नेखालको रहेको उहाँले बताउनुभयो ।

लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले हिल्सा नाका चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्नेक्रममा पानी पर्दा भिजेको कारण कुहिएको बताउनुभयो । काठमाडौँ–केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सानाका चार हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो । त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो ।

त्यसमध्ये १७० क्विन्टल खाद्यान्न लिमीमा पठाइएको छ । जसमा ३ हजार क्विन्टल खाद्यान्न सिमकोट शाखामा आएको उहाँले बताउनुभयो । उहाँले कुहिएको खाद्यान्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताउनुभयो । खाद्यान्न कुहिएको भए पैसा फिर्ता दिने पनि उहाँले बताउनुभयो । सो कुहिएको खाद्यान्न भने राम्रोसँग राख्न उहाँले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया