५० लाख मूल्य बराबरको मदिरा नियन्त्रणमा

blog
हुम्ला । नेपाल प्रहरीले विभिन्न मितिमा गरी ५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद गर्न सफल भएको छ । हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनियाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट लुकिछिपी ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले ५० लाख ४० हजार मूल्य बराबरको चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै नेपाल भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । यो मदिरा एक महिनाको अवधिमा प्रहरी नियन्त्रणमा लिन सफल भएको हो ।

कोरोना अवधिमा हिल्सा नाका बन्द हुँदा चिनियाँ मदिरा जिल्लामा भित्रिन बन्द भएको थियो । गत वैशाख १८ गते चीनले हिल्सा नाका दुईतर्फी सञ्चालनमा ल्याउँदा चिनियाँ मदिरा भित्रिन थालेको हो । उहाँले हिल्सा नाका र जिल्ला भित्रिएको मदिरा लुकिछिपी ल्याइरहेको अवस्थामा नियन्त्रणमा प्रहरीले लिएको बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको चिनियाँ मदिरा ३५० कार्टुन छ । एउटा कार्टुनमा बाह्र बोतल मदिरा रहने भएको कारण चार हजार दुईसय बोतल मदिरा थियो । जिल्लामा प्रतिबोतल एक हजार दुई रुपियाँ मूल्य पर्छ । उहाँले नियन्त्रणमा लिइएको मदिरा नष्ट गर्ने वा लिलामी गर्ने निर्णय पछि गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया