जाजरकोट । नेकपा एकीकृत समाजवादी जाजरकोटले जिल्ला प्रशासन कार्यालयलाई ६ बुद्दे ध्यानाकर्षण पत्र बुझाएको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालयमा पुगी पार्टीका जिल्ला अध्यक्ष कमानबहादुर खड्का र इन्चार्ज कृष्णबहादुर विसीले जनसाधारणका सवालहरु समेटी प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संवेदनशील विषयहरुमा देखिएका समस्याहरु तत्काल समाधानका लागि परिणाममुखी पहलकदमी लिन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटि ध्यानाकर्षण पत्र बुझाएको जिल्ला अध्यक्ष कमानबहादुर खड्काले जानकारी दिए । नेपालगञ्ज देखि छिन्चु हुदै जाजरकोट— डोल्पा सडकमा चल्ने यातायातका साधनहरुलाई दर्जन बढी स्थानमा सुरक्षा निकायहरुमा इन्ट्री, चेकचाँज गर्ने झन्झटिलो प्रक्रियाले यात्रा र यात्रुहरुले लामो समयदेखि कठिनाई व्यहोर्दै आईरहेका छन् ।
अतः अनिवार्य, आकस्मिक बाहेकका इन्ट्री÷चेकजाँच बन्द गरी आवतजावतलाई सुलभ र जनमैत्री बनाउनुपर्ने माग राखिएको छ । सोही सडकखण्डमा राती १० बजे देखि विहान ४ बजे सम्म जाजरकोट प्रवेशद्धार छेडाबजारमा रोक्ने कार्यले आम जनसमुदायलाई पर्ने गएको मर्कालाई ध्यानमा राखी नियमित यातायात चल्ने व्यवस्था गर्ने माग गरिएको अध्यक्ष खड्काले बताए ।
यातायातका साधनहरुले मनपरी भाडा लिईरहेको, बन्द भएका सडकहरुलाई नियमित सञ्चालन गर्नुपर्ने, चाडपर्व नजिकिए सँगै बजारमा हुने महंगी र कालोबजार रोक्न पहल गर्नुपर्ने, पश्चिम जाजरकोटमा इलाका प्रशासनको काम छिटो सकि सेवा प्रवाह गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाईएको छ । यता, प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफुले सक्दो पहल गर्ने बताए ।
हाम्रो पहुँच संवाददाता । १ आश्विन २०८०, सोमबार