फेरिए तीजमा गाईने गीत,पेट दुःखेको नौ साल भयो, जान्छु मत अस्पताल अस्पतालै मरे भने जहान खुशी हुनेछन् ……..

‘तीजै आयो हे मेरी बहिनी आउनु है माइतीघर नरुनु कहिल्यै मुटुको टुक्रा हाँस है जुनीभर मेरी प्यारी बहिनी, मेरी प्यारी बहिनी ।’

जाजरकोट ।
‘लस्करीकोे फूल फुल्यो लम्मझम्म डालीमा ।
जाउन कान्छी टिपी लैयाउ सुनको थालीमा ।’
अहिले उमेरले ७६ वर्ष पुगिन् पनि बारेकोट गाउँपालिका २ रोकायगाउँकी धनसरा रोकाय आफू तन्नेरी छँदा गाएका गीत खुब गुनगुनाउ छिन् । हुन पनि पुराना गीत मन मष्तिस्कमै बसेका हुन्छन् ।

‘काक्रा चिरी राखे आमा आँगनीको डिलमा ।
बाँचे आमा भेट होला बर्ष दिनमा ।’

त्यसबेलाका यस्ता गीत गाइन्थे । अनि गीतले चेली र माईतीको सम्बन्ध बोल्थे । शब्द र भाकाहरूमा जीवनका दुखसुख भेटिन्थ्यो । मनको मैलो पोख्ने अवसर बन्थ्यो तीज ।
‘त्यतिबेला माईतीले लिन आएनन् भने छोरीचेलीलाई सबेभन्दा बढी दुःखबोध हुन्थ्यो । घरमा पनि लिन नगएसम्म पठाउने चलन थिएन ।’ पुराना दिन सम्झँदै रोकाय भन्छिन्, ‘मायाँ भए त माईती आउँथे होला नि भने जस्तो लाग्थ्यो । अनि रुँदै बसिन्थ्यो ।’

त्यसबेला माईती लिन नगएकै बेदनामा गीत बनाएर गाउने चलन थियो । माईत जान पाउनेहरू पनि घरमा भोगेका सुख दुःखका कुरा गीतमा उतार्थे र सुनाउँथे ।

‘पेट दुःखेको नौ साल भयो, जान्छु मत अस्पताल
अस्पतालै मरे भने जहान खुशी हुनेछन्
माईती खबर पुग्यो भने आमा रुने छन् ।’

बेदना मात्रै होईन, ख्यालठट्टा अनि प्रेमिल लोक भाकाले तीजमा उत्साह थप्ने गरे पनि अचेल तीजका गीतमा मौलिकता र परम्परागत शैली हराउँदै गएका छन् । स्थानीय गायिका शान्ति विक संस्कृती परिमार्जित हुने कुरालाई स्वीकार्नु त हुन्छ तर परम्परा संरक्षणमा जोड दिन माग गर्छिन् ।

‘हामी कुन धरातलमा उभिएका छौं, त्यो धरातल नबिर्सिकन पर्वहरू बनाउनुपर्छ ।’ उनी भन्छिन्, ‘गीत सङ्गीतमा मौलिकता हराउनु हुँदैन ।’ आगामी पुस्ताले तीज र यसको मौलिकताबारे थाहा पाउन सक्नेगरी अघी बढ्नुपर्ने उनको धारणा छ ।

‘प्रधानकी जेठी झ्यालमा बसेकी
खाना खाने वेलामा चिठी लेखेकी,
यो चिठी कसलाई हो गैरीखेत मामालाई
सन्चै छु भन्दिनु जेठा मामालाई ।’

सानो छँदा सँगै खाए–खेलेका चेलीहरु विवाहपछि टाढिन्छन् । यसअर्थमा तीज पुराना साथीसङ्गीलाई माइतीको आगनीमा भेला गराउने पर्व पनि हो । अहिले भने खानपिन र आधुनिक भाकाले तीजमा प्राथमिकता पाउन थालेको छ । बेदना बिर्साउने गरी न त अचेल भाका बन्छन्, न त जमघट नै हुन्छ ।

‘तीजै आयो हे मेरी बहिनी आउनु है माइतीघर
नरुनु कहिल्यै मुटुको टुक्रा हाँस है जुनीभर
मेरी प्यारी बहिनी, मेरी प्यारी बहिनी ।’

आमाहरूले मनाउँदै आएको तीज र भाकाहरु पछिल्लो पुस्ताले बिर्सिएकै हो ? स्थानीय गायिकाहरु भन्छन्, ‘पुरानो नराम्रो अहिलेको राम्रो पनि होईन, पुरानो राम्रो भएकाले त्यही शैली पछ्याएको अवस्था पनि छैन ।’ गीतसङ्गीत समय अनुसार केही परिवर्तन हुँदै आएका छन्, यसलाई स्वीकार गर्न सक्नुपर्छ । तीजको नाममा सुन्नै नसकिने गीत बनाएको भनेर कतिपय कलाकार हरेक वर्ष आलोचित पनि हुन्छन् ।

आलोचनाले पनि उच्छृङ्खलता रोकिएको छैन । अचेल तीजका भाकाहरु दोहोरी बनेका छन् । जुन पुराना पुस्ताको नजरमा चिन्ताको विषय भएको छ । ‘तीज महिलाको पर्व हो, दुःख भएपनि, सुख भएपनि गीतमा महिलाकै कथा सुनाएको राम्रो हुन्छ ।’

केही वर्ष यता तीज गीतका भिडियोमा भड्किलो पहिरन, पश्चिमी शैलीको नाच अनि चर्का वाद्य यन्त्रको प्रयोग बढ्दै गएको छ । अझ त्यसमा भिडियो चर्चित गराउने नाममा गीतका बीचमा दोहोरो अर्थ लाग्ने शब्दको प्रयोगले पनि तीजको मौलिकपन हराउँदै गएको छ । यो देखेर चिन्ता लाग्ने पाका पुस्ताहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया