कर्णालीमा माओवादीको रूपान्तरण अभियान

blog
सुर्खेत । ‘जनतासँग विशेष रूपान्तरण अभियान’सँगै नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरू यतिबेला गाउँ-गाउँमा पुगेका छन् । ‘घर–घरमा माओवादी, जन-जनमा माओवादी’ भन्ने मूल नाराका साथ भदौ १६ देखि सञ्चालनमा आएको उक्त अभियानले कर्णालीमा माओवादीको वर्तमान अवस्थालाई रूपान्तरणसहितको माओवादी बनाउने लक्ष्य लिइएको जनाइएको छ ।

माओवादी केन्द्रका नेताहरूका अनुसार अहिले घरघरमा पुगेरै पार्टी सदस्यता नवीकरण, सदस्यता वितरण लगायतका काम भइरहेका छन् । सबैभन्दा पहिले पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेताहरू केन्द्रित भएको देखिन्छ । माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण, जनवर्गीय सङ्गठनलाई प्रशिक्षण र चलायमान गर्ने र टुटेका कडीहरूलाई सुधार गर्ने गतिविधि कर्णालीमा भइरहेको जिल्ला इन्चार्जहरूले बताउने गरेका छन् ।

माओवादीहरू गाउँ पसेसँगै विकास निर्माणका कार्यमा सहभागिता जनाउनेदेखि जनताका काममा सहयोग गर्नेसम्मका भूमिकामा क्रियाशील भएका छन् । श्रमदान गर्ने पार्टीको नीति अनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ताहरू धान गोड्ने, विकास निर्माणका काममा सहभागिता जनाउने गरिरहेका छन् ।

प्रदेश सरकारका कानुन मन्त्री एवम् माओवादीका कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण बहादुर जिसी जनतासँगै श्रम अभियानमा सक्रिय रहनुभएको छ । उहाँ सुर्खेतका विभिन्न क्षेत्रमा जनतासँगै श्रम अभियानमा जोडिनुभएको छ । मन्त्री जिसी हरेक नागरिक श्रममा नजोडिए विकास सम्भव नहुने बताउनुहुन्छ । “श्रममा नजोडिएर विकास सम्भव छैन”, उहाँले भन्नुभयो, “घर अगाडिको सानो खाल्डो पनि सरकार आएर वा अन्य कुनै जनप्रतिनिधि आएर पुरिदेओस् भन्ने मानसिकताले देशको विकास हुँदैन, सबैले आ–आफ्नो ठाउँबाट सार्वजनिक रूपमा श्रम गर्न आवश्यक छ ।” मन्त्री नै श्रम अभियानमा जोडिएपछि स्वाभाविक रूपमा अन्य नेता, कार्यकर्ताहरू पनि कतै धान गोडिरहेको अवस्थामा भेटिन्छन्, कतै विकास निर्माणका कार्यमा सक्रिय भएका देखिन्छन् ।

जुम्लामा त युवा नेता अम्मरजंग शाहीको नेतृत्वमा काठे पुल निर्माणको काम अघि बढेको छ । ‘श्रम, उत्पादन, विकास र आत्मनिर्भर युवा अभियान’ भन्ने मूल नाराका साथ माओवादी नेता, कार्यकर्ताहरूको सक्रियतामा हिमा गाउँपालिका–४, चिउडीसागुँमा काठे पुल निर्माण कार्य अघि बढेको हो । यस्तै कालिकोटको महावै गाउँपालिकामा माओवादी नेता, कार्यकर्ताहरू विद्यालयको चौर विस्तार तथा सफाइ गरिरहेका छन् ।

पार्टीकै व्यक्तिहरू श्रममा जोडिएपछि स्थानीयहरूले समेत सहयोग गर्ने गरिरहेका माओवादी केन्द्रका नेता, कार्यकर्ताहरूको भनाइ छ । अझ सल्यानमा त ‘श्रम शुक्रबार’ कार्यक्रम नै राखिएको छ। यस्तै जिल्ला अनुसार फरक–फरक कार्यक्रम सञ्चालन भइरहेका छन् । विशेषगरी सल्यानमा माओवादीले भिन्न तरिकाले अभियान चलाइरहेको छ ।

इन्चार्जका रूपमा रहनुभएका नरेश भण्डारीले अहिलेको युवा वर्गलाई समेट्ने गरी नयाँनयाँ कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । यहाँ राजनीतिक दलहरूसँग अन्तरक्रिया, जनसङ्गठन तथा मोर्चा प्रशिक्षण, वडादेखि पालिकासम्मका विस्तारित बैठक सम्पन्न भइसकेका छन् । “हामीले अहिले पार्टी सदस्यता, नवीकरण, वितरण, विवरणहरू सङ्कलन लगायतका कामहरू गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “असोज १२, कार्तिक १७ र मङ्सिर १५ गतेलाई माओवादीले श्रम शुक्रबारका रूपमा मनाउने छ । यस अन्तर्गत जिल्लाका विभिन्न स्थानमा श्रमदान गरिने छ ।”

सबैभन्दा कमजोर रहेको दैलेखमा पनि माओवादी फैलिँदै गइरहेको नेताहरूको भनाइ छ । गोपाल शर्माको कमाण्डमा यहाँ माओवादीले अभियानलाई सशक्त बनाइरहेको जनाइएको छ । हिमाली जिल्ला हुम्लामा पनि अभियान प्रभावकारी रूपमा चलिरहेको इन्चार्ज झकबहादुर मल्ल (सुदीप) बताउनुहुन्छ ।

माओवादीको आधार इलाका रुकुम पश्चिममा अहिले जिल्ला हुँदै टोल कमिटीका बैठकहरू चलिरहेका छन् । इन्चार्ज गगन खड्का भन्नुहुन्छ, “अभियानले जनता र कार्यकर्तामा एउटा तागत पैदा गरेको छ, उत्साह बढेको छ ।”

गाेरखापत्र

तपाईको प्रतिक्रिया