स्याउ खेतीको क्षेत्र बढ्यो, उत्पादन घट्यो


जुम्ला । स्याउ जुम्लाको प्रमुख नगदेबाली मात्र नभई समृद्ध जुम्लाको आधार हो । जुम्लाका अधिकांश किसान स्याउखेतीमै निर्भर छन् । किसानले स्याउखेतीकै आम्दानीले छोराछोरी पढाउनेदेखि घरखर्च चलाउनेसम्म गरेका छन् । २०६४ सालमा जुम्ला नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भएपछि जुम्लाको अन्नबालीदेखि फलफूलको अत्यधिक माग छ । पछिल्लो समय जुम्ली उत्पादन अन्तराष्ट्रिय बजारसम्म पुग्न थालेपछि माग ह्वात्तै बढेको हो ।

विशेषगरी जुम्लाको स्याउ र मार्सी चामलको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा माग बढेपछि जुम्ली किसान स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । केही वर्षयता करोडौंका हिसाबले कृषि विकास कार्यालय र स्याउ सुपरजोन जुम्लाले स्याउखेतीका लागि अनुदानसमेत दिँदै आएको छ । स्याउखेतीमा किसानको आकर्षण बढेर स्याउखेतीको क्षेत्र विस्तार भए पनि उत्पादन भने वृद्धि हुन सकेको छैन ।

जलवायु परिवर्तन, परम्परागत खेती प्रणाली र समय, हावापानी अनुकूल स्याउखेतीको प्रविधिबारे किसानले थाहा नपाउँदा पनि उत्पादन बढ्न सकेको छैन । गत वर्षको तथ्यांकलाई मात्र हेर्ने हो भने जुम्लामा १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो भने जिल्लाभर चार हजार २५० हेक्टर क्षेत्रफल जमिनमा स्याउखेती भइरहेको थियो । तर कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार यस वर्ष स्याउखेतीको क्षेत्रफल बढे पनि उत्पादन बढेको छैन ।

४२ सय ५० हेक्टर जमिनमा स्याउखेती हुँदै आएको जुम्लामा यस वर्ष तीन सय हेक्टरले बढेर ४५ सय ५० हेक्टर जमिनमा स्याउखेती विस्तार भएको छ । पछिल्लो एकै वर्षमा तीन सय हेक्टर जमिनमा स्याउखेती विस्तार हुनु सुखद पक्ष भए पनि उत्पादन विगतको भन्दा घट्नु दुःखद भएको कृषि विकास कार्यालय सूचना अधिकारी शेरबहादुर भण्डारी बताउँछन् ।

उनी भन्छन्, ‘किसानको आकर्षण बढेसँगै स्याउखेतीको क्षेत्रफल बढेको देखिन्छ । एक वर्ष तीन सय हेक्टर जमिनमा स्याउखेती विस्तार हुँदा उत्पादन पनि बढ्नु पर्ने । त्यसैमाथि अधिकांश किसानको रोजाइ उच्च घनत्वका (फुजी) जातको बिरुवामा छ । जो पाँच महिनामै फल दिन्छ । तर पनि उत्पादन बढ्न सकेन ।’

गत वर्ष १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष ४० प्रतिशतभन्दा बढीले स्याउ उत्पादन घटेको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए । उनका अनुसार भदौ २५ गतेसम्मको तथ्यांकअनुसार जुम्लाबाट २१ हजार ११० क्विइन्टल मात्रै स्याउ निर्यात भएको छ ।
यस वर्ष जुम्लामा ४० देखि ५० प्रतिशतले स्याउ उत्पादन घट्ने अनुमान गरेका छौं । उनले भने, ‘यस वर्ष बढीमा १५ हजार मेट्रिकटनसम्म मात्रै स्याउ उत्पादन हुने अनुमान छ । निर्यातको एकीन विवरण भने आइसकेको छैन । भदौ २५ गतेसम्म २१ हजार ११० क्विइन्टल स्याउमात्रै आधिकारिक रसिद काटेर निर्यात भएको छ ।’

विगत पाँच वर्षयताकै तथ्यांक हेर्दा स्याउ उत्पादनमा यस वर्ष ह्वात्तै गिरावट आएको छ । उत्पादनमा कमी, पछि मूल्य नपाइने डरले नपाक्दै बिक्री हुनु र जिल्लामै कोल्डस्टोर नहुनुलगायतका कारणले जुम्ली स्याउको पहिचानै खतरामा पर्ने देखिएको छ । खेती विस्तार भएअनुसार उत्पादनमा वृद्धि गर्न, उपयुक्त मूल्य किसानलाई दिन जुम्लाका आठैपालिका मध्यम खालका कोल्डस्टोर निर्माणमा लगानी गर्न जरुरी रहेको व्यवसायी देउऋषि चौलागाईं बताउँछन् । उनले जुम्लामा १३ करोड लगानीमा १५ लाख मेट्रिकटन क्षमताको कोल्ड स्टोर निर्माण गरे पनि बत्ती नहुँदा प्रयोगविहीन बनेको छ ।

यसअघि अन्य मिडियामा उत्पादनभन्दा निर्यात बढी भएकाले २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको भन्ने तथ्यांक फरक पर्न गएको कृषि विकास कार्यालयका प्रमुख रोकायाको भनाइ छ । जिल्लाको उत्पादन र निर्यातको एकीन तथ्यांक आउन अझै तीन साता लाग्ने देखिन्छ ।

काराेबार दैनिक

तपाईको प्रतिक्रिया