File Photo
जाजरकाेट । पहिले मादलको तालमा तीजमा नाच्ने चलन थियो । तर, अहिले डिजे आयो । भाका लोप भयो । अनि संस्कृति पनि । बारेकोट गाउँपालिका २ की आईती रोकायलाई अहिले पनि विगतको तीजको सम्झना आउँछ । उनी भन्छिन्, ‘पहिले तीजमा बाँसुरी र मादलको तालमा निकै नाचिन्थ्यो, अहिले त त्यस्तो छैन, नयाँ बाजा आए मोवाइल र टिभीले संस्कृति लोप गरायो ।’
‘मादल, बाँसुरीको ताल कता गयो, अहिले मोर्डन तीज भएको छ । पहिलेका तीज गीतमा छोरी चेलीमा वेदना समेटिएका हुन्थ्ये, अहिले डिजेको तालमा नाच्ने गीतहरु मात्र आउँछन्, हाम्रो संस्कृति कता गयो’ जुनीचाँदे गाउँपालिका ४ की विर्मी खड्काले भनिन् ।
‘बाटोघाटोमा मैतालुहरूको राताम्मे लस्कर, गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घरघरमा पाक्ने खीर, तामा–टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाचगान गर्दै खाइने दर, त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा, यही हो हाम्रो तीजको मौलिकता, भेरी नगरपालिका ३ की कालिका शाहले भनिन् ।’
नेपाली महिलाको सर्वाधिक आस्थाको यो पर्व अहिले केही नवधनाढ्य मध्यमवर्गीय महिलाले आर्थिक हैसियत प्रदर्शन गर्न र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा आलोच्य बनिरहेको उनीहरु बताउँछन् । मौलिक संस्कृतिलाई विकृृत बनाउने कथित आधुनिकता, तीजसम्बन्धी धार्मिक मान्यताको अपव्याख्या अनि सांस्कृतिक विविधता नष्ट पार्दै एकल संस्कृति स्थापनार्थ लागिपरेको विश्वव्यापी अदृश्य शक्तिका कारण हाम्रा सांस्कृतिक पर्वहरू वितृष्णाको विषय बन्दै जानु चिन्ताको विषय भएको भेरी नगरपालिका १० कि शान्ता विकले बताईन् ।
जबसम्म संस्कृति जीवित रहन्छ तबसम्म राष्ट्रको पहिचान पनि रहिरहन्छ । तीज सामाजिक तथा सांस्कृतिक दुवै दृष्टिले महत्वपुर्ण पर्व हो । पारिवारिक सद्भाव र प्रेमको यो पर्वले चेली र माइतीबीचको अगाध मायाको प्रस्तुति त गर्छ नै, साथमा पति पत्नी बीचको प्रेम, त्याग र समर्पणको प्रतिविम्बन पनि गरेको हुन्छ । केही सम्पन्न वर्ग र सहरी क्षेत्रलाई छाड्ने हो भने हाम्रो बाँकी भौगोलिक, सामाजिक र आर्थिक परिवेशका महिला अझै पनि मीठो खान र राम्रो लाउन अनि आराम र मनोरञ्जनका लागि चाडपर्व नै कुर्नुपर्ने बाध्यताबाट मुक्त हुन सकेको देखिँदैन ।
तीजमा आफ्नो गच्छेअनुसार सिँगारिएर माइत जानु, दिदीबहिनी–साथीसंगीहरूसँग बसेर दुःखसुखका कुरा गर्नु, केही दिन भए पनि घरको बुहार्तनबाट मुक्त भएर स्वतन्त्रताको अनुभूति गर्नु, माइतीले पकाएर दिएको दर खाएर रमाइलो गरी रात बिताएपछि मनोविकारबाट मुक्त हुँदै व्रत बस्नु, देवालयको परिक्रमा अनि आफ्नो परिवारको कल्याणको कामनाका साथ भगवान् शिवको पूजा–अर्चना गर्नु उनीहरूका लागि वर्ष दिनदेखिको पर्खाइको विषय हुन्छ ।
नारीहरुको पर्व तीज
तीजले नारीको मुख्य पर्वका रुपमा मान्यता पाएको छ । नेपाली महिलाका निम्ति व्रत, उपवास र शिवजीको उपाशनाको पर्व पनि हो । शिव पुराणमा शिवजीको महिमा वर्णन गरिएको छ । हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउँ भनी कठोर तपस्या गरी महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ ।
कुमार संभव महाकाव्यमा कालिदासले पार्वतीको कठोर तपस्यालाई चर्चा गरेका छन् । पार्वतीले व्रत बसेर उनको मनोकामना पूर्ण भएकोले अरु महिलाहरु पनि आ–आफ्ना मनोकामना सहित (अविवाहित नारीले असल पति पाउँ भनी तथा विवाहित नारीले पतिको दिघायौं लागि) व्रत बस्न थालेको जनश्रृति पनि पाइन्छ ।
व्रत वा उपाशना आफैमा नराम्रो पक्ष होइन । विज्ञानले समेत महिनामा एकदिन खाली पेटलाई राम्रै मान्दछ । श्री श्री आनन्दमुर्तीद्वारा निर्देशित आनन्दमार्गमा समेत उपवासको बारेमा चर्चा गरिएको छ र यस प्रकारको उपवास प्रत्येक एकादशीमा गर्नु उत्तम हुने तथा यसको आरम्भ र अन्त्य (उपवासको सुरु कसरी गर्ने र उपवास कसरी अन्त्य गर्ने) का बारेमा चर्चा गरिएको पाइन्छ ।
यस अर्थमा तीजमा हाम्रा महिलाले बस्ने व्रतलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर उपवासका नाममा गरिने चेलीबेटीको व्रतको एकोहोरोपना, व्रत बस्ने दिनभन्दा अघिल्लो दिनको मध्यरातमा दरका रुपमा खाने अपाच्य खानामा अलि सुधार गर्नुपर्ने देखिन्छ ।
मौलिकता हराएको तीज
हिजोका दिनमा जसरी तीजको सुरुवात भयो, आज यसले विगतको विरासत धान्न सकेको छैन । हुनेले मिठो मसिनो, नहुनेले पिठो मसिनो खाने पर्व थियो तीज । सात डाँडापारि विवाह गरी पठाएका चेलीबेटीलाई बाबा–आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठो मसिनो खाने खुवाउने दिन थियो तीज । असल भाइचाराको गाँठो कसिलो बनाउने पर्व थियो तीज । चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरु बेला नभए पनि यो बेला माइत पठाउनै पर्ने पर्व थियो तीज । सायद यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरुलाई ।
आज यो अवस्था रहेन । भाद्र शुक्ला द्वितियादेखि सुरु हुने तीज असारको हिलो फाल्दा नफाल्दै सुरु हुन्छ । सांगितिक तयारी हुनु स्वाभाविकै होला तर कम्तीमा पनि तिजे गीत गाउनलाई कृष्णाष्टमी कुर्नुपर्थ्यो, अनि मात्र यसको महत्व हुन्थ्यो । कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिष्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटारजस्ता कुराले तीज महिलाको महान चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ ।
हुने खानेहरुलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान्, जसले तिजै नआई तीज मनाउँछन् । तर हुँदा खाने नेपाली समाजका अन्य महिलाहरुलाई भने यो अनावश्यक तडक–भडक र देखासिकीले नकारात्मक असर पार्ने भयो । बुढी मरी भन्नुभन्दा पनि काल पल्केकोमा चिन्ता लिनु पर्ने भयो । आरम्भमा कुनै पनि चाडपर्वहरु भड्किला थिएनन् । यी चाडपर्वहरु एकआपसमा मिलेर, हुने र नहुनेबीचको अन्तर कम गर्दै व्यक्तिगत रुपमा मनाइन्थे । एउटाको चाडलाई अर्कोले हस्तक्षेप गर्दैन थिए । जनै पूर्णीमामा लोग्ने मान्छेहरु बढी हावी हुन्थे तीजमा महिलाहरु । तर आज के महिला के पुरुष दुवैले तीजमा नाचगान गरेको देखिन्छ ।
फेरि विगतका जस्ता सटीक सामाजिक चित्रण गरिएका, सुधारको अपेक्षासहित गाइएका पारिवारिक गीतहरु आज कहाँ सुन्न पाउनु? तीजे गीत सुन्दा लाग्छ यिनीहरु तीजमा छन् कि रत्यौलीमा । अर्थात् तीज, र रत्यौलीमा भेद छुट्टाउन नसकिने अवस्था आयो ।
किन मनाईन्छ तीज ?
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपुर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँमा पनि मनाइन्छ ।
भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँछने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
कालीबहादुर नेपाली । १ आश्विन २०८०, सोमबार