जाजरकोट बहुप्राविधिक शिक्षालयमा तालाबन्दी, पठनपाठन ठप्प


जाजरकोट । जिल्लाको भेरी नगरपालिका–५ काफलचौरमा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालयमा तालाबन्दी गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले आफ्नो संगठन विस्तारमा रोक लगाएको भन्दै तालाबन्दी गरेको हो । आईतबार अनेरास्ववियूका विद्यार्थी नेताहरु आफ्नो संगठन विस्तारका लागि शिक्षालयमा पुगेका थिए ।

शिक्षालयका प्रमुख दानबहादुर ठकुरीले शिक्षालयमा पढाई विग्रने भन्दै संगठन विस्तारमा रोक लगाउने प्रयास गरेका थिए । शिक्षालयमा विद्यार्थीहरुलाई पढ्नका लागि समस्या हुने भएपछि संगठनको कमिटी निर्माणमा रोक लगाउने प्रयास गरेपछि तालाबन्दी गरिएको एक स्रोतले बताएको छ । अहिले शिक्षालयको पठनपाठन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाका अनुसार अहिले तालाबन्दी खोल्ने विषयमा छलफल भईरहेको छ । डिएसपी रोकाले हाम्रो पहुँच सँग कुराकानी गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । तालाबन्दी खोल्ने विषयमा छलफल भईएको समेत बताए । संगठन विस्तारमा राेक लगाएकाे  झोकमा तादाबन्दी गरिएको बुझिएको छ ।

यता, अनेरास्ववियू जाजरकोटका इन्चार्ज दिनेश गौतमले आफ्नो संगठनले तालाबन्दी नगरेको बताए । उनले भने, ‘हामीले तालाबन्दी गरेका हैनौ, त्यहाँकै विद्यार्थीले गरेका हुन् ।’

तपाईको प्रतिक्रिया