जाजरकोट । जाजरकोटमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मालिका सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र जाजरकोटको आयोजना र अन्य संस्थाहरुको सहकार्यमा जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक रक्तदान कार्यक्रम गरिएको हो ।
“रक्तदान जीवन दान,जीवन रक्षा हाम्रो अभियान” भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसर पारी जिल्लामा पहिलो पटक रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लामा रगत संकलन गर्न उचित ल्यावको व्यवस्था नभएका कारण यस अघि रक्तदान कार्यक्रमहरु भएका थिएनन् । जसले गर्दा आवश्यक परेको खण्डमा सहजै रगत पाइदैन् थियो । उक्त समस्यालाई समाधान गर्नको लागि जिल्लामा पहिलो पटक रक्तदान कार्यक्रम राखिएको हो ।
यस कार्यक्रमले अरुलाई पनि रक्तदान गर्न प्रेरित गर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।
जिल्लामा रगत संकलन केन्द्र नभएकाले संकलन भएको रगत मिसन अस्पताल चौरजहारीमा राखिने छ । आवश्यक परेको बेला जाजरकोट जिल्लामा पनि उक्त रगत उपलब्ध गराइने छ ।
हाम्रो पहुँच संवाददाता । २२ श्रावण २०८०, सोमबार